सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

पूर्वराजा ज्ञानेन्द्र परिवारसहित भारत भ्रमणमा

पूर्वराजा ज्ञानेन्द्र शाह आफ्नो परिवारसहित भारत भ्रमणमा छन् । उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथको निमन्त्रणामा पूर्वराजपरिवार भारत गएको बुझिएको छ ।

स्रोतका अनुसार आदित्यनाथले ‘श्री ५ महाराजाधिराज’ कै हैसियतमा ‘राजकीय भ्रमण’ का लागि शाह र उनको परिवारलाई निम्तो गरेका थिए । त्यसै अनुरूप पूर्वराजा ज्ञानेन्द्र, पूर्वरानी कोमल, पूर्वयुवराज्ञी हिमानी, पूर्वमुमाबडामहारानी रत्न राज्यलक्ष्मी शाह र पूर्वअधिराजकुमारी प्रेरणा गत २२ गते भारत गएका हुन् । पूर्वयुवराज पारस भने भ्रमण टोलीमा छैनन् ।

पूर्वराजाका स्वकीय सचिव फणिराज पाठकले उत्तरप्रदेशका मुख्यमन्त्री आदित्यनाथले पूर्वराजपरिवारसँग हिजो अपरान्ह दर्शनभेट गरेको जानकारी दिए । उत्तर प्रदेशको लखनउमा सौहार्दपूर्ण वातावरणमा भेटवार्ता भएको उनले बताएका छन् । कुराकानीको विषयवस्तुबारे भने पाठकले अनभिज्ञता प्रकट गरे ।

पूर्वराजसंस्थानिकट स्रोतले भने यो भ्रमण राजनीतिक भएको बताएको छ । नेपालमा राजसंस्था पुन:स्थापनाका निम्ति राजावादी शक्तिहरू जुर्मुराउन खोजिरहँदा पूर्वराजा स्वयम् पनि अन्तर्राष्ट्रिय समर्थन जुटाउने कसरतमा छन् । दुई महिनामा पूर्वराजाको यो दोस्रो भारत भ्रमण हो । यसअघि उनी गत फागुनमा पत्नी कोमलसहित भारत भ्रमणमा गएका थिए ।

पूर्वराजपरिवारको भ्रमण कति दिनको हो भन्ने जानकारी दिइएको छैन । आगामी जेठ ६ गते धनगढीमा हुने नागरिक अभिनन्दनमा पूर्वराजा उपस्थित हुनेछन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्