सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

शरणार्थी काण्डमा चट्टानझैँ अडिग गृहमन्त्री श्रेष्ठ

नेपालीलाई भुटानी शरणार्थी बनाउने नाममा भएको ठगीधन्दामा मुछिएर कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछि कांग्रेस, एमाले र माओवादीका शीर्षनेता थप दबाबमा परेका छन् । एमाले सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि नै पटक–पटक भेटवार्ता गरेका प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्माले बुधबार खाँण पक्राउ परेपछि पनि बैठक गरेका छन् ।

उच्च तहको प्रशासनिक र राजनीतिक व्यक्तिको आडमा भएको ठगीधन्दामा दर्जनौं व्यक्तिको संलग्नता खुल्नुका साथै सडक र सदनबाट खबरदारी हुन थालेकाले यस प्रकरणलाई सामसुम पार्न नसकिने टुंगोमा शीर्षनेताहरू पुगेको स्रोतले जनाएको छ । तर आफूनिकट नेताहरू अनुसन्धानमा तानिँदा पार्टीको छविमा असर पर्न सक्ने चिन्ता कांग्रेस र एमाले नेतृत्वमा देखिएको छ । ‘तर देउवा र ओली दुवै प्रहरीलाई स्वतन्त्र ढंगले अनुसन्धान गर्न दिनेमा सहमत हुनुहुन्छ,’ प्रधानमन्त्री दाहालनिकट एक नेताले भने ।

संवैधानिक परिषद्सम्बन्धी विधेयक र संसदीय समिति गठनका विषयमा छलफल गर्न बुधबार दिउँसो सिंहदरबारमा दाहाल, देउवा र ओलीबीच भएको बैठकमा शरणार्थी प्रकरणबारे पनि छलफल गरिएको थियो । बैठकमा सहभागी हुन कांग्रेस सभापति देउवा ओलीभन्दा छिटो सिंहदबार पुगेका थिए ।

स्रोतका अनुसार उनले प्रधानमन्त्री दाहालसँग ‘बालकृष्णको संलग्नता के देखियो ? अब को–को पक्राउ पर्दै छन् ?’ भनेर जिज्ञासा राखेका थिए । प्रधानमन्त्री दाहालले ‘प्रहरीले सरकारको निर्देशनअनुसार स्वतन्त्र ढंगले अनुसन्धान गरिरहेको छ, अनुसन्धानबाट अरू पनि तानिन सक्छन्’ भन्ने जवाफ दिएका थिए । बैठकमा आउनुअघि पनि देउवाले प्रधानमन्त्री दाहाल र गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग विभिन्न माध्यमबाट सम्पर्क गरेर खाँण पक्राउबारे जानकारी लिएको स्रोतले जनाएको छ ।

एमाले अध्यक्ष ओली पुगेपछि पनि शरणार्थी प्रकरणबारे छलफल भएको थियो । अनुसन्धानमा तानिएका पार्टी सचिव रायमाझीलाई निलम्बन गर्ने निर्णय गरेर ओली शीर्षनेताको बैठकमा पुगेका थिए । बैठकमा प्रधानमन्त्री दाहालले सदन, सडक र नागरिक तहबाट दबाब परिरहेको उल्लेख गर्दै संलग्न सबै कानुनी दायरामा आउनुपर्ने टुंगोमा आफू पुगेको जानकारी दिएका थिए । ‘दोषी कोही नछुटून्, निर्दोष कोही नपरून्, प्रहरीले ठीक ढंगले गरोस् भनेर प्रहरीलाई निर्देशन दिएका छौं । प्रहरीले आफ्नो काम गरेको छ,’ दाहालको भनाइ छ । यस प्रकरणमा राजनीतिक हस्तक्षेप नहुने दाहालको भनाइ रहेको स्रोतले जनाएको छ ।

शीर्षनेताको बैठक सकिएलगत्तै प्रधानमन्त्री दाहालले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बोलाएर थप जानकारी लिएका थिए । त्यतिबेला देउवा पनि सँगै थिए । गृहमन्त्री श्रेष्ठले शरणार्थी प्रकरणमा कारबाही प्रक्रिया नरोकिने बताएपछि देउवाले ‘अनुसन्धानबाट जे देखिएको छ, त्यहीअनुसार अघि बढ्नुस्’ भनेको श्रेष्ठनिकट स्रोतले जनाएको छ । ‘सिंहदरबारमा श्रेष्ठ र ओलीबीच भने कुराकानी भएन,’ स्रोतले भन्यो ।

खाँण पक्राउ परिसकेपछि देउवा झस्किएको उनीनिकट स्रोतले जनाएको छ । ठगी प्रकरणमा संलग्न गिरोहले देउवा–पत्नी आरजु राणालाई पनि पैसा दिएको भन्ने अडियो सार्वजनिक भएको छ । यसमा प्रहरीले अनुसन्धान गरिरहेको छ । तर अनुसन्धान प्रभावित पार्न देउवाले गृहमन्त्री श्रेष्ठलाई दबाब नदिएको उनीनिकट नेताको भनाइ छ । प्रधानमन्त्री दाहालको सहमति लिएरै अघि बढेका गृहमन्त्री श्रेष्ठले सोमबार बेलुका एमाले अध्यक्ष ओलीसँग भेटेर अनुसन्धानमा तानिएका रायमाझीलाई संरक्षण नगर्न, बरु अनुसन्धानमा सघाउन आग्रह गरेका थिए ।

गृहमन्त्री श्रेष्ठ ‘जोसुकै मुछिए पनि नछाड्ने’ दृढ अडानमा रहेको उनीनिकटस्थको भनाइ छ । यस प्रकरणका विषयमा प्रधानमन्त्री दाहालले आफूनिकट माओवादी नेताहरूको धारणा पनि बुझेका थिए । माओवादीका नेताहरूले दाहाललाई खुट्टा नकमाउन सुझाव दिएका छन् । ‘यो प्रकरणलाई कुनै पनि सर्त र दबाबबिनै सही निष्कर्षमा पुर्‍याउनुपर्छ,’ माओवादी सचिव लीलामणि पोखरेलले भने, ‘कोही नेता मुछियो भने सरकारलाई अप्ठ्यारो पर्ला भनेर पछि हट्नु हुँदैन । यसमा सम्झौता भयो भने पार्टी र हाम्रो भविष्य धरापमा पर्छ । त्यही कारण पछि नहट्न सुझाव दिएका छौं ।’

प्रधानमन्त्री दाहालले पनि पार्टीनिकट नेताहरूसँग यस प्रकरणको अनुसन्धान र कारबाहीमा सरकार पछि नहट्ने विश्वास दिलाएका छन् । ‘म यस पटक केही राम्रो काम गर्छु भनेर प्रधानमन्त्री भएको हो । भ्रष्टाचारविरुद्ध कदम चालेर मुलुकमा सुशासन ल्याउन खोज्दा सरकार अप्ठ्यारोमा पर्छ भने परोस्, सरकार खुट्टा कमाउँदैन,’ दाहालको भनाइ उद्धृत गर्दै माओवादीका एक नेताले भने । प्रधानमन्त्री दाहालले स्वतन्त्रतापूर्वक अनुसन्धान अघि बढाउन गृह मन्त्रालयलाई निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

‘कारबाही गर्दा अप्ठ्यारो आए सामना गर्छु’

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले देशको अपमान हुने गरी नागरिकलाई अनागरिक बनाउने धन्दामा संलग्नलाई कारबाही गर्दा अप्ठ्यारो आइपरे सामना गर्न तयार रहेको बताएका छन् । उनले यस प्रकरणमा संलग्न जोसुकै भए पनि कारबाही पर्ने दाबी गरे । ‘सरकार भ्रष्टाचार अन्त्य गर्न र दोषीलाई कारबाही गर्न दृढतापूर्वक अघि बढेको छ । यसमा सत्ता गठबन्धनको समर्थन छ,’ उनले भने ।

Narayankaji

मन्त्री श्रेष्ठले शरणार्थी प्रकरणमा निष्पक्ष अनुसन्धान हुने बताए । ‘निर्दोष फस्दैनन् । कुनै पक्षपातका आधारमा काम गरिँदैन । कसैको सार्वजनिक छविमाथि अनावश्यक रूपमा क्षति पुर्‍याइँदैन । दोषी जोसुकै हुन् छाडिँदैन । त्यहीअनुसार प्रहरीलाई निर्देशन दिइएको छ,’ उनले कान्तिपुरसित भने, ‘यसमा निर्दोष फस्दैनन् ।’ यस प्रकरणमा फरार रहेका सांसद टोपबहादुर रायमाझी पनि छिट्टै कानुनी दायरामा आउने बताए ।

गोविन्दराज पोखरेल, गुरुराज घिमिरे, मधु आचार्य, रन्जित कर्ण, भूपेन्द्रजंग शाही, नरेश यादवलगायत कांग्रेस नेताहरूले गृह मन्त्रालय पुगेरै बुधबार गृहमन्त्री श्रेष्ठलाई शरणार्थी प्रकरणमा चालेको कदमलाई हौसला दिएका थिए । गृहमन्त्रीको सचिवालयका अनुसार कांग्रेस नेताहरूले भ्रष्टाचारविरुद्ध सरकारको कदमको प्रशंसा गरेका थिए । सम्पूर्ण जरोकिलो खोतलेर यसलाई तार्किक निष्कर्षमा पुर्‍याउन उनीहरूले अनुरोध गरेका थिए । ‘भ्रष्टाचारविरुद्धको यो कदममा सबै क्षेत्रको साथ र सहयोग छ,’ मन्त्री श्रेष्ठले भने, ‘कांग्रेसका नेताहरूले समेत भेटेरै भ्रष्टारविरुद्ध कारबाही अघि बढाएकामा बधाई दिनुभएको छ ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्