भुटानी शरणार्थी प्रकरणले तनावलाई देउवा
नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेको तीन दिन भयो । पार्टी पदाधिकारीहरुकै चर्को दबावका बीच सभापति शेरबहादुर देउवाले न खाँणलाई निलम्बन गरेका छन्, न यसबारे छलफल गर्न पार्टी बैठक बोलाएका छन् ।
बुधबार र बिहीबार बसेको पदाधिकारीहरुको बैठकमा खाँणलाई निलम्बन गर्नुपर्ने माग पदाधिकारीहरुले नै गरेका थिए । महामन्त्री गगनकुमार थापाले त पार्टीको बैठक बोलाउनुपर्ने, नभए देउवाले सार्वजनिक रुपमा बोल्नुपर्ने बताएका थिए ।
तर शुक्रबार साँझसम्म बैठक बोलाइएको छैन । एक पदाधिकारीका अनुसार तत्काल बैठक बोलाउने सम्भावना कम छ । किनकी बैठक बस्दा शेखर कोइराला–गगन थापा समूहका नेताहरुले निलम्बन गर्न माग गर्ने निश्चित छ । निलम्बन नगर्ने हो भने उनीहरुले फरक मत समेत राख्न सक्ने भन्दै एक नेता भन्छन्, ‘सभापतिले बैठक बोलाउने सम्भावना कम देखेको छु ।’

पुर्वगृहमन्त्री बालकृष्ण खाँणको अनपेक्षित पक्राउ
पूर्वगृहमन्त्री खाँणलाई प्रहरीले २७ वैशाखको विहान मैजुबहालस्थित घरबाटै पक्राउ गरेको थियो । तत्कालीन गृहसचिव टेकनारायण पाण्डे पक्राउ गरेपछि खाँणको नाम जोडिएको थियो । तर खाँण पक्राउ परिहाल्छन् भन्ने कांग्रेस नेतृत्व र नेताहरुले सोचेका थिएनन् ।
किनकी नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) बसन्त कुँवरलाई केही छ भनेर सोध्दा समेत ‘छैन भनेको’ स्रोतको दाबी छ ।तर २७ वैशाखको विहानै खाँण पक्राउ परे । यसले देउवालाई निकै झस्काएको छ । किनकी देउवा पत्नी आरजु र खाँणकी पत्नी मञ्जुलाई जोडेर अडियो आइसकेको थियो ।
यो ठगी गिरोहका नाइके मानिएका सन्देश शर्मा र उजुरी दिनेमध्ये एक गजेन्द्र बुढाथोकीबीच भएको अडियो सम्वादमा मञ्जुलाई ६ करोड रकम बुझाइएको भनिएको छ भने आरजु राणा देउवासम्म रकम पुगेको शर्माले दाबी गरेका छन् ।
यो अडियो प्रहरी कहाँ पहिल्यै पुगेको थियो । सामाजिक सञ्जालमा भाइरल हुँदा पनि आरजुले खण्डन गरेकी थिइनन् । तर खाँण पक्राउ परेपछि नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी दिइन् । आफ्नो कुनै सरोकार र जानकारी नै नभएको भुटानी शरणार्थी सम्बन्धमा आफ्नो नाम जोडिएको भन्दै उनले अत्याधुनिक प्रविधि प्रयोग गरेर जाँच गर्न र दोषीलाई कारबाही गर्न माग गरेकी छन् ।
त्यही दिन एमालेले शरणार्थी प्रकरणमा पक्राउ पूर्जी जारी गरिएका पार्टी सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गर्यो । नेताहरुका अनुसार देउवा पनि खाँणलाई निलम्बन गर्दा यो प्रकरणमा आफू सहज भइन्छ कि भन्नेमा देखिए ।
तर अहिले अवस्था फेरिएको छ । उनी खाँणलाई निलम्बन नगर्ने पक्षमा देखिएका छन् । खाँण निकट एक पदाधिकारीको दाबी छ, ‘शेरबहादुर दाइ उहाँ (खाँण)लाई जोगाउनुपर्छ भन्नेमा हुनुहुन्छ किनकी उहाँ निर्दोष हुनुहुन्छ ।’
नेताहरु भने सभापति देउवालाई खाँणभन्दा आफ्नै परिवारको बढी चिन्ता भएको मान्छन् । किनकी नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिलेसम्म आरजुको संलग्नताको ठोस प्रमाण भेटिएको छैन । तर अनुसन्धान चलिरहेकाले कहाँसम्म पुग्छ भन्ने निष्कर्ष निकाल्न हतार हुने अनुसन्धान अधिकृतहरु बताउँछन् । त्यसैले कुनै पनि बेला प्रतिकुल अवस्था आउन पनि सक्ने चिन्ता देउवा निकटवर्तीहरु बताउँछन् ।
अनुसन्धान गरिरहेको काठमाडौं प्रहरीले पनि हिरासतमा रहेका बालकृष्ण खाँणको मोबाइल जफत गरेर अध्ययन गरिरहेको छ । साथै, खाँण पत्नी मञ्जुविरुद्ध पनि अनुुसन्धान अधिकृतहरुले प्रमाण खोजी गरिरहेको छ । ‘बाहिर सार्वजनिक अडियो पहिल्यै प्रहरी कहाँ आएको थियो, त्यो मात्र प्रमाण हुँदैन’, जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्की भन्छन्, ‘त्यसैले अन्य आधारहरुबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।’
यदि थप परिस्थितिजन्य प्रमाण भेटिएर मञ्जु पक्राउ परे धुम्बाराही थप दबाबमा पर्नसक्छ । किनकि, नेताहरुका अनुसार पछिल्लो समय आरजु र मञ्जुको सम्बन्ध निकै विग्रिएको छ । कांग्रेसले आरजु र मञ्जु दुबैको नाम प्रतिनिधिसभाको समानुपातिकतर्फ राखेको थियो ।
पार्टीमा त्यसको चर्को आलोचना भएपछि दुबैको नाम केही पछाडि राखियो, तर त्यो बेला आरजुले आफ्नो नाम काट्न खोजेको भन्ने मञ्जुको बुझाइ छ । यदि अहिले खाँणलाई निलम्बन गर्ने हो भने मञ्जुले कुनै पनि बेला अप्ठ्यारो परिस्थिति सिर्जना गर्नसक्ने उनको चिन्ता छ ।
स्रोतका अनुसार खाँण पक्राउ परेकै दिन देउवाले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई पनि भेटेका थिए । त्यो दिन प्रधानमन्त्री प्रचण्डले देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीको बैठक राखेका थिए । छलफल सकिने बेलामा गृहमन्त्री श्रेष्ठ पनि प्रधानमन्त्री कार्यालय पुगे, जहाँ उनलाई देउवाले कुरिरहेका थिए ।
त्यो भेटमा देउवाले भुटानी शरणार्थी प्रकरणमा खाँणको संलग्नता देखिने प्रमाण छ त भनेर सोधेका थिए । उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले प्रमाण नभई प्रहरीले पक्राउ नगरेको बताएपछि उनले अनुसन्धानमा आफूहरुको सहयोग हुने प्रतिक्रिया जनाएका थिए । भोलिपल्ट देउवा फेरि बालुवाटार पुगेका थिए ।
दिउँसो पार्टी पदाधिकारीहरुको बैठक राखे, तर केन्द्रीय सदस्य खाँणलाई निलम्बन गर्ने नगर्ने केही बताएनन् । पार्टी सभापति देउवा निकै हतार, तर अलमलमा देखेको एक नेताले सुनाए । उनी छलफलहरुमा निकै कम बोल्ने गरेका छन् । ‘देउवा यो प्रकरण यहीँ (खाँण)मै टुंगियोस् भन्ने चाहन्छन्’, एक केन्द्रीय सदस्य भन्छन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्