बमजनको यौन दुव्र्यवहारमा परेकी पुर्वआनीको बयान
तपस्वीको भेस धारण गरेका रामबहादुर बमजनले आफूमाथि पनि यौन दुव्र्यवहार गरेको उनको आश्रममा बसेकी एक पूर्वआनीले बताएकी छन् । मकवानपुरको छतिवनस्थित अजिङ्गरेकी असली लामा नामकी पूर्वआनीले आफू पनि बमजनको यौन दुर्व्यवहारको सिकारमा परेको बताएकी हुन ।
सेतोपाटीमा बमजन आश्रमभित्र बलात्कार, हिंसा र हत्याको दुष्चक्रबारे शृंखलाबद्ध रिपोर्टिङ पढेपछि उनका पति दीपक भुजेलले आफ्नी पत्नीले पनि दुव्र्यवहार खेप्नुपरेको भन्दै प्रतिक्रिया लेखेका थिए । त्यसको केही समयपछि सम्पर्कमा आएकी असलीले आफू बमजनको आश्रममा बस्ने पहिलो समूहकी आनी भएको बताइन् ।
‘रामबहादुर बमजनको हलखोरियास्थित आश्रममा सबभन्दा पहिले आनी बनेका हामी चार जना थियौं,’ उनले सेतोपाटीसँग भनेकी छिन्–‘हामी बस्न थालेको झन्डै ४ वर्षपछि उसले मलाई दुव्र्यवहार गर्यो ।’
बमजन २०६२ जेठबाट बारा जिल्लाको रतनपुरी जंगलमा तपस्या बस्न थालेका थिए । असली भने त्यो बेला एक जना गुरूसँग लामा पढिरहेकी थिइन् । तपस्या बसेका बमजन पनि आफ्ना चेला भएको गुरूले उनलाई बताए । उनकी बहिनी पनि सँगै पढ्थिन् ।
एक दिन गुरूले नै बमजनको दर्शन गर्न भनेर रतनपुरी जंगलमा लगे । दर्शन गर्न गएका उनीहरू त्यहीँ बस्न थाले । त्यहाँ गएपछि बल्ल असलीलाई थाहा भयो, बमजनकी आमा नातामा उनकी फूपु पर्दिरहिछन । टाढाको साइनो भए पनि उनी त्यही परिवारमा बस्न थालिन् । बमजनको घरमा धेरै काम हुन्थ्यो । पूजा पनि चलिरहन्थ्यो । असलीले फूपुको परिवारलाई काममा सघाउन थालिन् ।
हलखोरियामा बमजनले आश्रम निर्माण गरेपछि असली र उनकी बहिनी त्यहीँ गए । त्यसबाहेक विष्णु बल र मीना वाइवा पनि आनी बनेर त्यहाँ बस्न थाले । असलीका अनुसार त्यतिखेर बमजनको नियमित सम्पर्कमा उनको परिवार मात्र थियो । बमजनको संरक्षणका लागि बनेको समितिका मान्छेहरू त्यो भन्दा बाहिरी घेरामा थिए ।
‘बमजनका दाजु, दिदीहरू मनमाया र राजकुमारी भित्र जान पाउँथे । सुरूमा हामी बाहिर आश्रममा मात्र बस्थ्यौं । दर्शन पाइन्नथ्यो,’ असलीले भनिन् । धेरै समय बितेपछि एकदिन बमजनकी दिदी राजकुमारीले चार जनालाई राखेर सोधिन्, ‘तिमीहरू गुरूका लागि के के गर्न सक्छौ ?’
‘मैले सोचेँ । जंगलमा बसेको गुरूलाई कसैले केही गर्यो भने वा आश्रममा आक्रमण भयो भने के गर्छौ भनेको होला,’ असलीले भनिन्, ’त्यस्तो सोचेर ज्यान दिन तयार छौं भनेका थियौँ । कुरा त अर्कै रहेछ ।’ त्यो दिन राजकुमारीले उनीहरूलाई भनिन्–‘गुरूले खाना खान्छ ।’
उनीहरू झस्किए । त्यतिञ्जेल उनीहरू बमजन निराहार तपस्या बसेको विश्वासमा थिए । असलीले सोधिछन्–‘किन दुनियाँलाई गुरूले केही खाँदैन भनेको त ? तपस्या बसेको भनेर किन भनिरहेको त ?’
‘तपस्या गरेको त साँच्चै हो । सुरूमा खाँदैनथ्यो, पछि उसले खाना ल्याउनू भन्न थाल्यो,’ राजकुमारीको जवाफ सम्झिँदै उनले भनिन्–‘बाहिरकालाई भन्यो भने पत्याउँदैनन्, त्यसैले नभनेको ।’
त्यसपछि असलीलाई बमजन बस्ने गरेको पाताल गुम्बाभित्र जाने अनुमति मिल्न थाल्यो । बमजनका दिदीहरू मनकुमारी र राजकुमारीले बमजनका लागि खाना पकाएर लगिदिने काम उनलाई लगाउन थाले ।
‘बमजन तपस्या बसेको ठाउँमै एउटा ठूलो रूख थियो । त्यो रूखको मुनिपट्टि एउटा प्वाल थियो । त्यहाँ सेतो बाल्टिन राखेको हुन्थ्यो । मैले लगेर खाना त्यसमा राखिदिन्थेँ । बमजनले आफूलाई मन लागेको बेला खान्थ्यो । अरूलाई त्यहाँसम्म जाने अनुमति थिएन ।’ उनले सम्झिइन् ।
उनीहरू बमजनलाई कहिल्यै सिधा नजरले हेर्दैनथे । उनको अघि जाँदा टाउको निर्हुयाउँथे । उनीहरूको समुदायमा आफ्ना गुरूलाई सम्मान गर्ने तरिका त्यही हो । बमजनले विस्तारै असलीसँग कुरा गर्न सुरू गरे ।
‘तिम्रो घर कहाँ हो ? घरमा को को हुनुहुन्छ भनेर सोध्थ्यो, ‘मैले टाउको निर्हुयाएरै भन्थेँ–हजुरलाई त नभनी सबै कुरा थाहा हुन्छ हैन र ?’ त्यति बेला बमजनले तपस्याको बलमा सबै कुरा थाहा पाउँछन, अरूको मनको कुरा पनि थाहा पाउँछन् भन्ने उनीहरूको विश्वास थियो ।
‘मलाई सबै थाहा छ तर तिम्रो मुखबाटै सुन्न मन भएर,’ बमजनले जवाफ दिएका थिए । असलीले आफ्नो घरबारे सबै भनिन् । त्यसपछि बमजनले भने, ‘तिमीले धेरै दुःख पाएकी रहेछौ, म तिम्रो सहारा बन्छु ।’
उनलाई टाउको नझुकाउन बेलाबेला बमजनले निर्देशन दिन्थे । उनले भने गुरूलाई सिधै हेरे अपमान हुने भनेर टाउको झुकाउँथिन् । एकदिन मनकुमारी दिदी काठमाडौं गइन् । जानुअघि राति हैन, दिउँसो मात्र खाना पुर्याउन असलीलाई भनेकी थिइन् ।
उनी खाना लिएर गएको बेला बमजनले आफ्नो शास्त्र सिकाउने कुरा गरे । उनी अलमलिइन् । बमजनले हात समातेर ‘आफैं सिकाउँछु तिमीलाई’ भनेर गुम्बाभित्र अलि पर लगे ।
‘उसले एक्कासि मेरो दुवै कुममा हात राख्यो,’ उनले भनिन, ‘म खुब डराएँ । त्यसअघि कोही छोरामान्छेले मलाई त्यसरी छोएको थिएन ।’, ‘के गर्नुभएको ?’ उनले अनुहार झुकाएरै सोधिन् । ‘किन डराएकी ? यता मेरो अनुहारमा हेर त भन्दै उसले मेरो अनुहार उठायो र आफ्नो मुख मेरो मुखमा जोड्यो’
असलीले सम्झिइन, ‘मलाई बेस्सरी अँठ्यायो । म फुत्किन खोजेँ तर सकिन । हामीले आश्रममा लगाउने पहेँलो भेष्ट बाहुला नभएको हुन्छ । कुममुनिबाट उसले मेरो ज्यानमा हात हाल्यो । मेरो भेष्ट च्यातियो । मलाई त्यो बेला खुब डर र खुब लाज लागेको थियो । एक्कासि बमजनले मलाई छाड्यो । त्यतिखेर पछाडिबाट राजकुमारी दिदी आएकी रहिछन् ।’
राजकुमारीले आफ्ना भाइलाई किन त्यस्तो गरेको भनेर रूँदै सोधिन् । असलीलाई पनि यसबारे बाहिर गएर केही नभन्नू भनिन् । असलीले ‘किन आफूलाई त्यस्तो गरेको’ भन्दै सोधिन् । ‘तिमी अन्यथा नसोच । पहिलो जन्ममा तिमी मेरी बुढी थियौ,’ बमजनले भनेछन, ‘मेरो ६ वर्षे तपस्या पूरा भएपछि सबैको अगाडि तिमीलाई बुढी बनाउँछु ।’
‘यो त राम्रो काम हैन, म बाहिर गएर भन्छु भन्दा राजकुमारी दिदीले मलाई रोक्यो । त्यसपछि उनले नै मलाई आश्रमबाट घर पठाइन् । मलाई कडा निगरानीमा राख्न थालियो,’ उनले भनिन्, ‘बमजनका दाजुले पनि थाहा पाए । बाहिर गएर मुख खोलिस् भने मारी नै दिन्छु भनेर थर्काउँथे ।’
मनकुमारी काठमाडौंबाट आएपछि फेरि असलीलाई आश्रममै फर्काइन् । यो घटना हुनुअघि नै सर्लाहीकी रिता वोट हलखोरिया आश्रम आइसकेकी थिइन् । असलीले पछि बमजन र रिताको सम्बन्ध रहेको थाहा पाइन् । रितालाई पनि पूर्वजन्मकै श्रीमती भन्दा रहेछन् भन्ने थाहा पाएपछि उनी फेरि झगडा गर्न थालिन् ।
‘एकदिन त बमजन आफैंले रिता नभएकाले तिमीलाई त्यस्तो गरको भन्यो । उसले रिता आफ्नो पहिलो प्रेम भन्थ्यो,’ उनले भनिन् । त्यसपछि भने उनले बमजनलाई मुखै छाडेर भनिन, ‘तँ साले कुकुर होस् ।’
‘मलाई आश्रमभित्र पनि कडा निगरानीमा राखियो । उल्टै मलाई सबैको अगाडि उभ्याएर मैले गुरूलाई आफ्नै बनाउने चाहना भएर गलत आरोप लगाएकी हुँ भन्न परिवारले दबाब दिए । मैले त्यही भनेँ, ‘असलीले भनिन्, ‘त्यसपछि मैले दबाई खाएर ज्यान दिने निर्णय गरेँ ।’ उनले आत्महत्या गर्ने कोशिश गरेको बमजनले थाहा पाए ।
‘आधा विष खाँदाखाँदै उसैले खोसिदियो । म उसैलाई गाली गर्दा गर्दै बेहोस भएँ,’ उनले सम्झिन्, ‘उसैले मलाई बचायो । खै कति समय म बेहोस भएँ थाहा छैन । ब्युझिँदा म रूखमुनि थिएँ । बमजन मेरो छेउमै थियो । म उठ्न पनि नसक्ने भएकी थिएँ ।’ केही समय आराम गरेपछि सञ्चो भएको असलीले बताइन् ।
‘मलाई सञ्चो भएपछि एकदिन झिसमिसेमै उसले मलाई राजमार्गको पुलमा ल्याएर छाडिदियो,’ उनले भनिन्, ‘बाटोभरी मलाई छुट्टै घर बनाएर राख्ने लोभ देखाएको थियो । तर, मैले पत्याइनँ । गाडी चढेर घर आएँ । केही समयपछि म साउदी अरब गएँ ।’
यो समाचार हामीले सेतोपाटी अनलाईनबाट लिएका हौँ । सेतोपाटीमा यसलाई प्रधानसम्पादक अमित ढकाल र शोभा शर्माले लेखेका छन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्