सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

शुक्लाफाँटा निकुञ्ज बाहिर देखिन थाले बाह्रसिंगा

मान्छे देख्दा निकै टाढाबाटै सतर्क हुने बाह्रसिंगालाई नजिकमा हेर्न–छुन सकिँदैन । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रमुख आकर्षण हो मृग प्रजातिको यो जनावर । ५४ वर्गकिमिमा फैलिएको शुक्लाफाँटामा फराकिलो घाँसे मैदानमा सयौंको झुन्डमा भेटिन्छन् बाह्रसिंगा ।

संख्या बढेको मात्र छैन बाह्रसिंगाले बासस्थान समेत विस्तार गरेका छन् । निकुञ्जबाहिरको पूर्वी क्षेत्रमा समेत देखिन थालेका छन् । चौधर नदीपूर्व र लालपानी क्षेत्रमा बाह्रसिंगाका झुन्ड भेटिन्छन् । हाँगा फाटेका सिङ १२ वटा चुच्चा हुने भएकाले मृग प्रजातिको जनावरलाई बाह्रसिंगा भन्ने गरिएको हो । दक्षिण एसिया, त्यसमा पनि नेपाल, भारत र पाकिस्तानमा यो वन्यजन्तु पाइन्छ । नेपालमा शुक्लाफाँटा प्रमुख बासस्थान हो । ‘बाह्रसिंगाको बासस्थान विस्तार भएको छ,’ निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत रोशनसिंह ठगुन्नाले भने, ‘पूर्वी क्षेत्रमा पनि देखिन थालेका छन् ।’

लालपानी, अन्डैया र पटैयालगायतका स–साना फाँटहरूमा बाह्रसिंगा देखिन थालेको उनले बताए । निकुञ्जले आउदो साता गर्ने बाह्रसिंगा गणना तथा अनुगमनमा उक्त क्षेत्रहरू पनि समावेश गर्ने भएको छ । गत वर्षदेखि विशाल घाँसे मैदानबाहेकका ती क्षेत्रमा गणना सुरु गरेको हो । वन्यजन्तु सप्ताहका अवसरमा हरेक वर्ष बाह्रसिंगाको गणना तथा अनुगमन गरिँदै आएको छ । ‘सोमबारदेखि तीन दिन बाह्रसिंगा गणना तथा अनुगमन गरिनेछ,’ ठगुन्नाले भने । वन्यजन्तु सप्ताहको पहिलो दिन शुक्रबार विभिन्न पोस्टहरूमा सरसफाइ गरिएको छ । शनिबार चरा अवलोकन गरिएको छ ।

गत वर्ष गरिएको गणनामा निकुञ्जमा २ हजार ३ सय १३ बाह्रसिंगा रहेको पाइएको थियो । पछिल्लो चार/पाँच वर्षदेखि यो संख्या स्थिर छ । बाह्रसिंगा गणनाका लागि टाउको गणना विधि अपनाइन्छ । प्राविधिकहरू विभिन्न समूहमा विभाजित भएर बाह्रसिंगा पाइने स्थानमा दिनभरि अवलोकन गर्छन् । प्रायः बिहान र साँझको समयमा घाँसे मैदानमा बाह्रसिंगा चर्न आउने भएकाले सोही समयमा गणना गरिन्छ ।

टेलिस्कोप, वाइनाकुलर र क्यामराको सहायताले अग्लो ठाउँ वा मचानमा गएर प्रत्यक्ष रूपमा हेरेर संख्या गणना गरिन्छ । गणनामा प्राविधिकसँगै हात्तीको समेत प्रयोग हुन्छ । एउटै झुन्डमा सयौंको संख्यामा बाह्रसिंगा चरिरहेका हुन्छन् । बाह्रसिंगाका बथानको दृश्य मोहक देखिन्छ । वर्खायाममा शुक्लाफाँटा घाँसे मैदानमा पानी भरिन्छ । हिलो हुने भएकाले बाह्रसिंगा चर्न र खेल्नका लागि अग्लो ठाउँमा जान्छन् । त्यही क्रममा निकुञ्जको बर्निखेडा, भतपुरी र सुन्दरीफाँटालगायतका क्षेत्रमा बाह्रसिंगा सरेको हुन सक्ने निकुञ्जका सहायक संरक्षण अधिकृत मनोज ऐर बताउँछन् ।

मौसमअनुसार बाह्रसिंगा फरक ठाउँमा जाने भएकाले पनि अन्य क्षेत्रमा बासस्थान विस्तार भइरहेको ऐरको भनाइ छ । उनका अनुसार कतिपय बेला भाले र पोथीका समूह छुट्टिन्छन् । त्यस्तो अवस्थामा फरक–फरक ठाउँमा जाने गर्छन् । ऐरका अनुसार गत वर्षको गणनामा बर्निखेडा, भतपुरी, लालपानी र सुन्दरीफाँटा क्षेत्रमा डेढ सयको हाराहारीमा बाह्रसिंगा देखिएका थिए । ‘बासस्थान विस्तार हुन थालेको छ, त्यहीअनुसार घाँसे मैदान व्यवस्थापनको काम पनि गर्नॅपर्ने हुन्छ,’ उनले ऐरले भने, ‘शुक्लाफाँटाबाहेकका क्षेत्रमा पनि बाह्रसिंगाको बासस्थान व्यवस्थित गर्नॅपर्छ ।’

दुर्लभ वन्यजन्तु बाह्रसिंगा शुक्लाफाँटासँगै बर्दिया निकुञ्जमा पनि रहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले जनाएको छ । सन् २०१९ को गणनामा मुलुकमा बाह्रसिंगाको संख्या २ हजार ३ सय २५ थियो । यसको वयस्क भाले १७० देखि २०० सय किलो र पोथी १४० देखि १४५ किलोसम्म तौलका हुन्छन् । सामान्यतः ८ देखि ९ महिनामा ब्याउने बाह्रसिंगाका पाठापाठी हुर्कन सिकारी जनावरका कारण निकै गाह्रो हुन्छ । जोखिम हुने भएकाले बाह्रसिंगा समूहमा हिँड्छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्