सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

नेपाल पनि जिका भाइरसको उच्च जोखिममा

अफ्रिकी मुलुक युगान्डामा ६८ वर्ष पहिले देखिएको जिका भाइरसले सन् २०१६ मा आएर विश्वलाई नै चुनौती दिन सुरु गरेको छ । एडिस एजिप्टी नामक प्रजातिको लामखुट्टेको टोकाइबाट सर्ने जिका भाइरसको प्रकोप विश्वभर तीव्र रूपमा बढ्न थालेपछि विश्व स्वास्थ्य संगठनलाई समेत चुनौती थपिएको छ । नियन्त्रणका लागि विश्वव्यापी संकटकाल घोषणा गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।

हालसम्म जिका भाइरस क्यारेबियन, उत्तर अमेरिका र दक्षिण अमेरिकाका विभिन्न २१ देशमा देखापरिसकेको छ । गत अक्टोबरपछि ब्राजिलमा मात्रै सानो मस्तिष्क (माइक्रोसेफाली) भनिने समस्या देखिएका चार हजार शिशु जन्मिएपछि विश्वको ध्यान यो संक्रमणतर्फ मोडिएको हो ।

क्यारेबियन र अमेरिकी महादेशमा तीव्र रूपमा जिका भाइरसको संक्रमण फैलिएसँगै चुनौती थप भइरहेको विज्ञहरू बताउँछन् । सो चुनौतीबाट नेपाल पनि अछुतो नरहेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूको भनाइ छ । जिका भाइरस फैलाउन मद्दत गर्ने एडिस लामखुट्टे नेपालमा प्रशस्तै मात्रामा पाइने स्वास्थ्य सेवा विभाग महामारी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.बाबुराम मरासिनी बताउँछन् ।

यसले नेपाल पनि जिकाको उच्च जोखिममा रहेको उनको भनाइ छ । ‘नेपालका सबै सहरी क्षेत्रमा एडिस एजिप्टी जातको लामखुट्टे पाइन्छ,’ उनले भने, ‘यो लामखुट्टे भएका सबै देश जिकाको उच्च जोखिममा छन् ।’

यी प्रजातिका लामखुट्टेले सफा पानीमा फुल पार्ने गर्दछन् । तर, जाडो समय भएका कारण तत्काल नेपालमा यसको प्रकोपको सम्भावना नरहेको महाशाखाको भनाइ छ । लामखुट्टेलाई वयस्क हुनका लागि कम्तीमा पनि २४ घन्टा १५ डिग्री तापक्रमको आवश्यकता पर्छ । अहिले त्यस्तो वातावरण नरहेको हुँदा तत्काल यसको सम्भावना नरहेको डा. मरासिनी बताउँछन् । तर, त्यसपछि भने उच्च जोखिम रहेको उनको भनाइ छ ।

‘अहिलेका दुई महिना त्यति चुनौती छैन, तर त्यसपछि भने हामी धेरै जोखिममा छौँ,’ उनले भने, ‘त्यसका लागि अहिलेदेखि नै हामीले तयारी अवस्थामा रहनुपर्ने हुन्छ ।’ पूर्वी मन्सुनी वर्षा सुरु भएसँगै नेपालमा लामखुट्टे देखिने हुँदा कम्तीमा चैतबाट मात्र जिका संक्रमणको जोखिम नेपालमा बढ्न सक्छ । सरकारले सो मौसम सुरु हुनुपूर्व नै जिका भाइरसको संक्रमण पत्ता लगाउन प्रयोग गरिने किट नेपालमा ल्याइसक्नुपर्छ ।

बच्ने तरिका
१. जिका भाईरसको संक्रमणविरुद्ध हालसम्म कुनै पनि खोप तथा औषधि पत्ता लागेको छैन ।
२. लामखुट्टेबाट बच्नु नै यसको रोकथाम हो । त्यसका लागि खाल्डाखुल्डीमा पानी जम्न दिनुहुँदैन ।
३.घर तथा अफिसमा प्रयोग गरेको एसीमा पनि दैनिक पानी परिवर्तन गर्ने ।
४.राति सुत्दा झुल लगाएर सुत्ने र हिँडडुल गर्दा हातखुट्टा छोप्ने कपडा लगाउने ।
५.गर्भवती महिलाले बढी सावधानी अपनाउने ।
६. वयस्कहरूमा भने सामान्य असर देखिए तापनि यसको संक्रमण भएको एक हप्तादेखि १० दिनमा आफैँ ठीक हुँदै गएको पाइएको छ ।

कसरी सर्छ जिका भाइरस ?
जिका भाईरस संक्रमित व्यक्तिलाई टोकेको एडिस लामखुट्टेले स्वस्थ मानिसलाई पुन टोकेमा सर्नसक्छ । त्यसका साथै कुुनै पनि माध्यमबाट संक्रमित व्यक्तिको रगत अन्य व्यक्तिमा सञ्चार हुनपुगे पनि जिकाको संक्रमण फैलने विज्ञहरूको भनाइ छ । तर, अन्य कारणले पनि जिका भाईरस सर्ने दाबी केही वैज्ञानिकहरूले गरेका छन् । पछिल्लो समय यौनसम्पर्कबाट पनि यसको संक्रमण बढेको भन्ने भनाइ बाहिर आए पनि पुष्टि भइनसकेको वरिष्ठ सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनले बताएका छन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्