सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

केयु काण्ड–प्रश्न बनाउने बाबु टप्ने छोरा

काठमाण्डौ विश्व विद्यालयले चिकित्साशास्त्रको प्रवेश परीक्षाको प्रश्नपत्र तयार गर्न विज्ञहरुको एउटा टोली बनायो । विज्ञ टोलीमा अख्तियारको टोली र अन्य विज्ञहरु सहभागी थिए । त्यही विज्ञ टोलीले नै प्रश्न पत्र तयार पारेको थियो ।

प्रश्नपत्र निर्माण टोलीमा केयुका एशोसिएट डीन डा. भागवत प्रसाद नेपाल पनि सहभागी थिए । उनले बारम्बार प्रश्नपत्रको समूह (क्वेसन बैंक) भित्रबाटै पर्ने गरी प्रश्नपत्र बनाउन प्रश्नपत्र निर्माण टोलीलाई जोड दिएका थिए । उनले माइन्यूट नै गरेर ल्याएपछि विज्ञ टोली प्रश्नपत्रको समूहबाट नै प्रश्नपत्र बनाउन बाध्य भयो ।

जेठ १५ मा भएको प्रवेश परीक्षामा ८१ अंक ल्याएर सहित नेपाल नामका विद्यार्थी टपर बने । सहित नेपाल उनै भागवत प्रसाद नेपालका छोरा हुन, जसले प्रश्नपत्रको समुहबाटै प्रश्नपत्र तयार पार्न विज्ञ टोलीलाई वाध्य बनाएका थिए । यो रहस्य चाहीँ संसदीय उपसमितिको छानविनका क्रममा मात्र उजागर भयो ।

entrance-examination-result-of-ku

 

संसदीय उपसमितिको छानविन पुर्व काठमाडौं विश्वविद्यालयको परीक्षा प्रकरण अख्तियारमा समेत तानियो । अख्तियारले काठमाडौं विश्वविद्यालयमा हस्तक्षेप गरेको भन्दै डा. गोविन्द केसीले अख्तियारका पदाधिकारीलाई कारवाही गर्न माग गरे ।

त्यसलगत्तै व्यवस्थापिका संसदको सुशासन समिति अन्तरगत एउटा छानविन उपसमिति गठन भयो । पदमनारायण चौधरी संयोजक रहेको संसदीय समितिका सदस्यमा उदय नेपाली, जनकराज जोशी, नरसिंह चौधरी र मिलनकुमारी राजबंशी सदस्य थिए ।

संसदीय समितिको छानविनका क्रममा सहित नेपाल आफ्नै बाबुले बनाएको प्रश्नमा टपर बनेको रहस्य खुल्यो । एशोसिएट डीन नेपाल प्रश्नपत्र निर्माणदेखि नतिजा प्रकाशन सम्म नै संलग्न भएको छानविनका क्रममा भेटियो । काठमाडौं विश्वविद्यालयले लिएको चिकित्साशास्त्र तर्फको स्नातकोत्तर कार्यक्रमको प्रवेश परीक्षामा मिलेमतो भएको समितिको प्रतिवेदनमा स्पष्ट उल्लेख गरिएको छ ।

यसबारे संसदीय उपसमितिले विश्वविद्यालयका रजिष्टार, डीन र चिकित्साशास्त्रका एशोसिएट डीन नेपालसँग छलफल ग¥यो । छलफलका क्रममा रजिष्टार र डीनले प्रश्नपत्र बनाउने एसोसियट डिन डा.नेपालका छोरा परीक्षामा संलग्न भएको आफूहरुलाई थाहै नभएको वयान दिए ।

रजिष्टार र डिनले संसदीय समितिलाई दिएको वयानमा भनेका छन–‘नतिजा आएपछि टपर त नेपाल नै रहेछ, चिन्नुहुन्छ ? भन्दा मेरो छोरा हो भन्नु भएपछि मात्र हामीले थाहा पायौं ।’

छोरालाई प्रश्नपत्र चुहाएको खुलासा भए पनि डा. नेपाललाई काठमाडौं विश्वविद्यालयले अहिलेसम्म कुनै कारवाही गरेको छैन । तर, सुशासन तथा अनुगमन समिति अन्र्तगतको उपसमितिले एशोसिएट डीन डा. भागवत नेपालको संलग्नता संयोग मात्र नभएको भन्दै विभागीय कारवाहीको सिफारिस गरेको छ ।

संसदीय उपसमितिले केयूले लिएको एमडी र एमएसको प्रवेश परीक्षामा डा. गोविन्द केसीले भनेजस्तो अख्तियारको हस्तक्षेपलाई भने मानेको छैन । आपसी समझदारीमा भएको देखिएको भन्दै संसदीय उपसमितिले अख्तियार र विश्वविद्यालयलाई आफ्नो दायरा र सीमाभित्र रहन सचेत मात्रै गराएको छ ।

डा. गोविन्द केसीले यही प्रकरणलाई लिएर अख्तियारका पदाधिकारीमाथि महाअभियोग लगाउनुपर्ने माग गर्दै आएका थिए । अख्तियारका आयुक्त राजनारायण पाठककी छोरीसमेत परीक्षामा फेल भएको प्रसंग संसदीय उपसमितिको प्रतिवेदनमा चर्चा गरिएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्