नेपालको आफ्नै स्याटेलाइटका लागी टेन्डर जारी
नेपाल सरकारले आफ्नै स्याटेलाइट राख्ने प्रक्रिया सुरु गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले बिहिबार स्याटेलाइट स्थापना गर्नको लागि अन्तर्राष्ट्रिय टेन्डर जारी गरेसँगै प्रक्रिया सुरु भएको हो ।
लामो समय देखि नेपालको आफ्नै स्याटेलाइट हुनुपर्ने आवाज उठ्दै आए पनि प्राथमिकतामा नपरेको यो आयोजनाले बल्ल औपचारिकता पाएको छ ।
प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालका अनुसार दुइ वटा ध्रुविय स्लटका स्याटेलाइट राख्नेगरी प्राधिकरणबाट योग्य र इच्छुक फर्महरुबाट अन्तर्राष्ट्रिय प्रस्ताव आब्हान गरिएको छ ।
अन्तर्राष्ट्रिय रेडियो नियमक संस्था अन्तर्राष्ट्रिय दूरसञ्चार यूनियन (आइटियु)ले निर्धारण गरेको पोजिसन अनुसार स्लट राख्ने गरी प्राधिकरणले योजना अगाडि बढाएको हो ।
सयुक्त राष्ट्र संघिय सुचना तथा सञ्चार संस्था आइटियुले नेपालको लागि स्याटेलाइटको पोजिसन पूर्वी देशान्तरमा दुइवटा पोजिसनका स्लट उपलब्ध गराएको छ । जसमा १२३.३ डिग्री देशान्तरमा स्याटेलाइट सेयररिङ ब्यान्ड अन्तर्गत ५ सय मेगाहर्जमा विभिन्न ब्यान्डहरु उपलब्ध हुनेछन ।
त्यस्तै अर्को ५० डिग्री देशान्तरमा १२ वटा च्यानलका ब्यान्डहरु उपलब्ध गराएको छ । मापदण्ड पुरा गरेका योग्य फर्महरुको प्रस्तावको आधारमा मूल्यांकन गरेर प्राधिकरणले छनौट गर्ने प्रवक्ता अर्यालले जानकारी दिनुभएको छ ।
नेपालको आफ्नै स्याटेलाइट भएपछि विभिन्न दूरसञ्चार सेवा बापत खपत हुने ब्यान्डवीथ सस्तो हुनेछ । आन्तरिक रुपमा खपथ हुने ब्यान्डवीथ किन्दा बाहिरिने रकमको बचत हुनेछ । त्यस्तै रेडियो, टिभी तथा ब्यान्डवीथ सिग्नलहरु किन्नुपर्ने बाध्यता पनि हट्छ ।
सुरक्षाका हिसाबले पनि यसको अपरिहार्यता रहेको भन्दै विगत लामो समयदेखि आफ्नै स्याटेलाईट हुनुपर्ने बहस चल्दै आएको थियो । अहिले दूरसञ्चारका स्थानिय सेवा प्रवाहको लागि पनि अन्तर्राष्ट्रिय ब्यान्डवीथ खरिद गर्नुपर्ने बाध्यता रहँदै आएको छ । आफ्नै स्याटेलाइट भएपछि अन्तर्राष्ट्रिय ट्राफिकमा बाहेक अन्यको खर्च नेपालभित्रकै इन्टरनेटले पुग्नेछ ।
बाहिरको स्याटेलाइटबाट जेनेरेट भएको इन्टरनेटको प्रयोग खासगरी राष्ट्रिय सुरक्षा संवेदनशिलताको हिसाबबाट खतरामुक्त नहुने बताइन्छ । प्राधिरणले प्रक्रिया अगाडि बढाईसकेकोले अब यसमा धेरै बिलम्ब नहुने प्रवक्ता अर्यालले बताउनुभएको छ ।
प्रस्ताव पेस गर्ने कम्पनीको समग्र मूल्यांकन पछिमात्र छनौट गरिने दुरसञ्चार प्राधीकरणले जनाएको छ । सन् १९५७ मा तत्कालिन सोभियत संघले विश्वमा पहिलोपटक स्याटेलाइट लन्च गरेको थियो । सन् २०१५ को अन्तिमसम्म विश्वभर ५८ वटा देश र २० वटा संस्थाहरुले आफ्नै स्वामित्वमा स्याटेलाइट लन्च गरेका छन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्