सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

किन बढ्दैछ अमेरीकामा नेपालीबीच डिभोर्स

सुन्दर भविष्यको सपना बोक्दै अमेरिका प्रवेश गरेका कैयन् दम्पती यहाँ आएको केही समयपछि एक्लाएक्लै बस्ने गरेका छन् । नवदम्पती देखि बच्चा भइसकेकाहरू सम्मको सम्बन्ध विच्छेद भएका घटना यहाँ देख्न सकिन्छ ।

सम्बन्ध विच्छेदपछि बच्चाको रेखदेख कसले गर्ने भन्ने विषयमा समेत मुद्दा पर्ने गर्छ । त्यसको वारेसनामा लिन नेपाली दूतावास धाउनेहरूको संख्या पछिल्लो समय बढेको छ । केही वर्षयता सम्बन्ध विच्छेदको घटना हवात्तै बढेको दूतावास अधिकारीहरू बताउँछन् ।

केही वर्षअघिसम्म महिनाको एक–दुई जोडी देखिएकामा अहिले महिनाको १० दम्पतीसम्मले वारेसनामा लिने गरेका छन् । दूतावासका अनुसार सन् २०१६ मा ५३ दम्पतीले वारेसनामा लिएका थिए । २०१७ को आरम्भमै ११ दम्पतीले त्यस्तो वारेसनामा लिइसकेको अधिकारीहरूले बताए ।

नेपाल गएको समयमा सम्बन्ध विच्छेद गरेर फर्कनेहरूको तथ्यांक भने दूतावाससँग हुँदैन । ‘हामीले वारेसनामाका लागि प्रमाणित गर्ने हो । वारेसनामा राजदूतबाहेक अन्यले दिन पाउँदैन’ दूतावास प्रवक्ता जीवनप्रकाश श्रेष्ठले भने–‘पछिल्लो समय औसतमा महिनाको ५ वटा वारेसनामा दिइरहेका छौं ।’ अवैतानिक दूतले त्यस्तो वारेसनामा दिन पाउँदैनन् ।

अमेरिका आएपछि काममा व्यस्त हुने र नेपालको जस्तो पारिवारिक माहोल कम हुने हुनाले पनि परिवार टुट्ने अवस्था निम्तिएको हुन सक्ने दूतावास अधिकारीहरू बताउँछन् । उनीहरूका अनुसार चाहना र प्राथमिकता नै फेरिने गर्दा पनि समस्या परेको हुन सक्छ ।

खासगरी बच्चासहित अमेरिका बस्ने नेपालीमा दिउँसो श्रीमती काममा जाने र श्रीमानले बच्चा हेर्ने, राति श्रीमान् काममा जाने र श्रीमती बच्चाको साथमा रहने अवस्था धेरैको छ । बिदाको प्रकृति पनि फरक हुने भएकाले पारिवारिक माहोल कम हुने गरेको छ ।

धेरै कम नेपालीले ‘ह्वाइट कलर’ जागिर खान्छन् । यसरी हवाइट कलर अर्थात् माथिल्लो स्तरका जागिरेहरूको बिदा शनिबार र आइतबार नै भएकाले पर्याप्त समय हुने र घुमफिर, मनोरञ्जन सबै हुने भएकाले त्यस्तो समस्या कम आउने गरेको छ ।

दूतावासका अधिकारी अनुसार कतिपयले नक्कली दम्पती तर सक्कली विवाह गरेर समेत आउने हुनाले सम्बन्ध विच्छेदका लागि वारेसनामा लिने गरेका हुन सक्छन् । तर, त्यो प्रमाणित हुँदैन ।

श्रीमान् अमेरिका र श्रीमती नेपालमा वा श्रीमती अमेरिका, श्रीमान् नेपालमा हुनेहरूको पनि सम्बन्ध विच्छेदको वारेस आएको तथ्यांकमा उल्लेख छ । अहिले अमेरिकामा करिब तीन लाख नेपाली रहेको अनुमान छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्