सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

कुल देवता खोज्दै पुर्वयुवराज्ञी हिमानी गोरखामा

पूर्व राजपरिवारका सदस्यहरुले लामो समयपछी आफ्नो कुल घराना रहेको गोरखा दरबारमा पाइला टेकेका छन् । मंगलवार कुल पूजाका लागि पूर्व युवराज्ञी हिमानी शाह उनकी छोरीहरु कृतिका र पूर्णिमा र छोरा हृदयेन्द्रको साथमा गोरखा दरवार पुगेकी हुन् ।

गोरखा कालिका पूर्व राजपरिवारको कुलदेवता हुन । बिहान साढे दश बजे दरबार परिसर पुगेकी हिमानीले करिव ४५ मिनेट कुल देवता कालीकाको पुजा गरेकी थिईन ।

छोरा हृदयेन्द्रको ब्रतबन्ध गरेपछि कुल देवताको पूजा गर्न गोरखा दरवार आएको उनले बताएकी छिन । राजतन्त्र अन्त्य पछि पहिलो पटक कुल पुजाका लागी पूर्व राजपरिवारका सदस्यहरु गोरखा दरवार आएको दरवारका पुजारी प्रदीप योगीले बताएका छन ।

‘राजतन्त्रको अन्त्य हुनुअघि वार्षिक रुपमा राजपरिवारका सदस्यहरुले दरवारको भ्रमण गर्नुहुन्थ्यो,’ पुजारी योगीले भने ‘तर राजतन्त्र हटेपछि यो पहिलो पटक हो उहाँहरु पूजा गर्न आउनुभएको ।’

हिमानीको सोमवार नै गोरखा आउने कार्यक्रम रहेको थियो । तर एकादशी परेकाले उनी मंगलवार दरवार आएको पुजारी योगीले जानकारी दिएका छन ।

कुल पूजा सँगै पुर्वयुवराज्ञी हिमानीले गुरु गोरखनाथको पनि पुजा गरेकी थिइन् । पूजा सकिए लगतै उनले गोरखा दरवारबारे जानकारी लिएकी थिईन् ।

त्यस्तै उनले संग्रहालय पनि अवलोकन गरेकी थिईन । अवलोकनको क्रममा संग्रहालय प्रमुख करुणा राइले संग्रहालयको बारेमा जानकारी गराएकी थिइन् । मंगलबार संग्रहालय बन्द रहने भएपनि उनैका लागि खोलिएको थियो ।

त्यस्तै गोरखा नगरपालिकाले हिमानीलाइ एक कार्यक्रमकाबीच स्वागत गरेको थियो । कार्यक्रममा हिमानीलाई सम्बोधनका लागि आग्रह गरिएपनि उनी बोल्न चाहिनन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्