सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

गर्भपतनपछी प्रशान्त तामाङद्वारा प्रेमीकाको हत्या

सञ्चिता तामाङको हत्या अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मृतकका ‘प्रेमी’ प्रशान्त तामाङ छन् । रामेछाप रस्नालुकी २३ वर्षीया सञ्चिता बैशाख ८ गते गंगाहिटीस्थित आफ्नै कोठामा मृत अवस्थामा भेटिएकी थिइन् ।

अनुसन्धानका क्रममा महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले दोलखा पैतेश्वरका प्रशान्तलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार प्रशान्त र सञ्चिताको झण्डै दुई वर्ष पहिले चिनजान भएको र हाल प्रेमसम्वन्ध रहेको थियो ।

उनीहरुको नियमित भेटघाट हुनुका साथै विभिन्न ठाउँमा घुम्न जाने गरेका थिए । केही महिनाअघि मात्र प्रशान्तले कोठा खोजेर सञ्चितालाई राखेका थिए र भाडा आफैले तिर्थे । उनी पनि सञ्चिताको कोठामा बस्ने र बेलाबेला खर्च दिने गरेका थिए ।

उनीहरुबीच असारमा विवाह गर्ने सल्लाह भएको समेत प्रहरी अनुसन्धानबाट खुलेको छ । तर, सञ्चिता गर्भवती भइन् । प्रशान्तले बच्चालाई जन्म दिन चाहेका थिए । तर, सञ्चिताले आफूले बच्चा गर्भपतन गरेको बताएपछि उनीहरुबीच विवाद भयो ।

त्यही क्रममा प्रशान्तले घाँटी थिचेर हत्या गरेको खुलेको छ । हत्यापछि सञ्चिताको शव कोठामा छाडेर भागेका प्रशान्तलाई दोलखा प्रहरीको सहयोगमा पक्राउ गरिएको र आवश्यक कारबाहीका लागि गौशाला वृत्त पठाइएको अपराध महाशाखाले जनाएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्