सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

एमाले कांग्रेसका झण्डा, उपेन्द्र यादवको पुत्ला जल्यो

राष्ट्रिय जनता पार्टीले चुनाव बिथोल्ने निर्णय गरेलगत्तै दुई नम्बर प्रदेशका केही जिल्लाहरुमा आइतबार अराजक गतिविधिहरु सुरु भएका छन् ।

राजपाका कार्यकर्ताले सप्तरीमा नेकपा एमालेको बैठक भईरहेका ठाउँमा प्रवेश गरेर झण्डा, टी–शर्ट लगायतका चुनावी सामाग्रीहरु नियन्त्रणमा लिएर जलाइदिएका छन् ।

आइतबार नै जनकपुरमा नेपाली कांग्रेसको झण्डा पनि राजपाका कार्यकर्ताले जलाएका छन् । उता सर्लाहीमा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले सम्वोधन गर्ने सभामा राजापाका कार्यकर्ताले अवरोध र्पुयाउन खोज्दा प्रहरीसँग केहीबेर झडप भएको छ ।

त्यहाँ राजपा कार्यकर्ताले उपेन्द्र यादवको पुत्लासमेत दहन गरेका छन् । आइतबार नै सप्तरी पुगेका प्रमुख निर्वाचन आयुक्तले समेत कालो झण्डाको सामना गर्नुपरेको छ ।

प्रमुख निर्वाचन आयुक्त यादवलाई कालो झण्डा

राजपा कार्यकर्ताले एमालेको बैठकमै पसेर सामाग्रीहरु नियन्त्रणमा लिएपछि राजविराज नगरपालिकाका एमाले मेयर उम्मेद्वार सुखराम यादवले मुख्य निर्वाचन आयुक्त अयोधीप्रसाद यादवलाई थर्काएका छन् ।

राजविराजमै प्रमुख जिल्ला अधिकारीको निवासमा भईरहेको स्थानीय तह निर्वाचन सम्बन्धमा सरोकारवालाहरुसँगको अन्तरक्रियामा पुगेर एमाले उम्मदेवारले प्रमुख आयुक्तमाथि आक्रोश पोखेका हुन् ।

त्यहाँ पुगेर यादवसहितका एमाले कार्यकर्ताले घटनाबारे आयोग र जिल्ला प्रशासनको ध्यानाकर्षण गराए । ध्यानाकर्षण गराउन गएका यादवले प्रमुख आयुक्तलाई भने–‘हामी तपाईंको भाषण सुन्दैनौं, हामीलाई सुरक्षा किन दिइएन ?’

लगत्तै प्रमुख आयुक्त यादवले नजिकै बसिरहेका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कट्वालसँग स्पष्टीकरण मागे । प्रजिअ कट्वालले भने–‘एमालेले कार्यक्रम गरिरहेको छ भन्ने जानकारी हामीलाई थिएन । हामीलाई जानकारी गराएको भए पहिला नै सुरक्षाकर्मी पठाउँथ्यौं ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्