कुख्यात अपराधी चाल्र्स शोभराजको होस आयो
कुख्यात अपराधी चाल्र्स शोभराजको मुटुको भल्भको अप्रेसन सफल भएको छ । बाँसबारीस्थित गंगालाल अस्पतालमा सोमबार बिहान उनको मुटुको भल्भ फेरिएको हो ।
अप्रेसनका लागि शोभराज शुक्रबार गंगालाल अस्पतालमा भर्ना भएका थिए । डा.रामेश कोइराला नेतृत्वको टिमले उनको अप्रेसन गरेको हो । शोभराजको अप्रेसन सफल भएको र उनको स्वास्थ्यमा सुधार भइरहेको बताए ।
बेलुका अबेरसम्म शोभराजको होस आएको थियो । उनलाई आईसियूमा राखिएको छ । अपराधकै कारण बिश्वमा कुख्यात शोभराज विगत १४ वर्षदेखि नेपालको जेलमा छन् । सोमबार शोभराजकी ‘श्रीमती’ निहिता बिश्वास र निहिताकी आमा शकुन्तला थापा बिहानै अस्पताल पुगेका थिए ।
अप्रेसनका लागि आबश्यक रगत निहिताले शोभराजलाई दिएकी हुन् । दुवैको रक्तसमूह ओ पोजेटिभ हो । थप रगत संकलनका लागि निहिताले नै पहल गरेकी थिइन् । तर, रगत दिने बताएका केही व्यक्तिहरुले ८० हजार रुपैयाँ मागेपछि निहिता रोएकी थिइन् ।
थप रगत अस्पतालले नै व्यवस्थापन गरेको थियो । कैदीको सबै उपचार सरकारकै जिम्मेवारी हुन्छ । त्यसकारण शोभराजको उपचारको खर्च सरकारकै हुन्छ । मुटुको भल्भको उपचारमा २ लाखदेखि १० लाख रुपैयाँसम्म खर्च हुन्छ ।
अस्पतालमा शोभराजलाई कडा सुरक्षा घेरामा राखिएको छ । अप्रेसन सफल भएपनि यस्तो अप्रेसनको सफलता २/३ महिनापछि मात्र प्रष्ट हुने चिकित्सकहरु बताउँछन् । ‘भल्भलाई शरिरले एक्सेप्ट गरे नगरेको २/३ महिनापछि मात्र थाहा हुन्छ,’ गंगालालका एक चिकित्सकले भने ।
२ बिदेशीको हत्या तथा युनुस अन्सारीको हत्या प्रयासको घटनाका दोषी ठहर भएका शोभराजलाई केन्द्रीय कारागारको गोलघारमा राखिँदै आइएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्