अमेरिका पुर्याईएका ४ मुर्ति फिर्ता ल्याईयो
विभिन्न समयमा नेपालबाट अमेरिका पुर्याइएका धातुका चार मूर्ति नेपाल फर्काइएका छन । अमेरिकी नागरिक लिरोइ एलिन एअरइनरिकको व्यक्तिगत संग्रहमा रहँदै आएका ती मूर्ति उनकै इच्छापत्र बमोजिम उनका वकिल जोन म्यागले नेपाल सरकारलाई फिर्ता गरेका हुन् ।
नेपाल फर्काइएका मूर्तिहरूमा १५औँ शताब्दीका मारविजयको बुद्ध, स्थानक अमोघपास लोकेश्वरको मूर्ति, १६औँ शताब्दीका स्थानक अमोघपास लोकेश्वर र १७ औँ शताब्दीका मञ्जुश्रीका मूर्तिहरू रहेको पुरातत्व विभागले जानकारी दिएको छ ।
ती मूर्तिहरू ढलौट, काँस र तामाको मिश्रणबाट बनेका र सुनका जलप लगाइएका छन् । ती मूर्ति कहाँ थिए र कसरी अमेरिका पुगे भन्ने विषयमा भने हाल कुनै जानकारी नभएको पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले जानकारी दिए ।
ती मूर्ति कहिले कहाँबाट हराएका हुन् र हराएको विषयमा कुनै निवदेन परे नपरेको सम्बन्धमा अनुसन्धान अगाडि बढाइने पनि उनले बताए । त्यस्तै मूर्ति सङ्ग्रह गरेर राख्ने व्यक्तिका बारेमा पनि थप जानकारी विभागसँग छैन ।
ती मूर्तिका सम्बन्धमा जोन म्याग २२५, वेस्ट ८६औँ स्ट्रिट काउन्सिलर एट ल न्युयोर्कबाट विभागमा गत मे ३० मा पत्र प्राप्त भएपछि फिर्ता ल्याउने प्रयास थालिएको थियो ।
कार्गो कम्पनी डीएचएल इनभ्वाइसले ती वस्तुको मूल्य १० हजार अमेरिकी डलर राखेकोमा अर्थ मन्त्रालयले उक्त मूल्य छुट गराएर मूर्ति फिर्ता ल्याइएको महानिर्देशक दाहालले बताए ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्