देउवाले देश बनाउन्या हुन, हाम्ले गाउँ बनाउन्या
प्रधानमन्त्री शेरबहादुर देउवाको घरवारि मूल सडकमै एउटा चिया पसल । दाउरा बलिरहेको चुलोमा चिया पाक्दै थियो । चिया झुपडीको पुरानो बेन्चमा बसेर गन्यापधुरा गाउँपालिकाका माओवादी अध्यक्ष उम्मेद्वार ईश्वरीदत्त भण्डारी आफूले पाउन सक्ने मतको हिसाब निकाल्दै थिए ।
डलेल्धुरा जिल्लाको यही गाउँपालिका वडा नंं. १ मटेलामा हो प्रधानमन्त्री देउवाको गाउँ । यो गाउँपालिकामा माओवादीका अध्यक्ष पदका प्रत्याशी भण्डारीले देउवाको वडाको हिसाब–किताब गर्दै थिए । यो वडामा २ हजार ८ मतदाता छन् ।
साविकको आसखर्क गाविस अहिले गाउँपालिका भइसकेको छ । यही आसखर्क गाउँको खोलापारि मटेलामा देउवाको पुख्र्यौली घर छ । देउवाका आफन्त भने त्यहीँ बस्छन् ।
माओवादीका उम्मेदवार भण्डारीले मतदाताको हिसाब गर्दा आफंैले जित्ने आँकडा पाए । नजिकैका अर्का एकजनाले जवाफ फर्काए ‘लौ अब किन प्रचार गर्नुप¥यो र, तमिले जितिगयौ’, भण्डारी मुस्कुराए ।
त्यही बगलमा लठ्ठी टेक्दै एक वृद्ध मिसिन आईपुगे । उनी देउवाका आफन्ती भाइ, धर्मसिंह देउवा थिए । चियापसलमै गफिइरहेका एकजनाले जिस्क्याए ’च्या खान्या हो, माउवादीको….? ’ देउवाले जवाफ फर्काए ‘च्या पनि माओवादी र कांग्रेसको होला र ?, त्यो ता भोटका बेला मात्रै हो ।’
प्रधानमन्त्रीको घर कहाँनेर त ? प्रश्न खस्न नपाउँदै देउवाले भण्डारीतिर औंलो देखाएर भने ‘त्यहाँ थियो, माओवादीले जलाइदिए…’ भण्डारी मुस्काइरहेका थिए । नाताले भाइभाइका छोरा पर्ने धर्मसिंह देउवाले आफ्ना भाइ शेरबहादुर देउवालाई दुई महिनाअघि मात्रै काठमाडौंमै भेटेका थिए । त्यसपछि देउवा प्रधानमन्त्री भए ।
धर्मसिंह पनि ०२६ सालदेखि ०३६ सालसम्म लगातार दुईपटक गाउँका प्रधानपञ्च थिए । ०३६ सालमा भएको जनमतसंग्रहका बेला उनले राजीनामा थिए । त्यसपछि ०४८ सालमा भएको निर्वाचनमा कांग्रेसका तर्फबाट उनी सभामुख पनि भए । देउवाको गाउँमा अहिलेसम्म कांग्रेसले हारेको छैन । त्यसैले पनि चुनाव जित्नेमा ढुक्क छन् कांग्रेसी ।
यो वडाबाट कांग्रेसका प्रत्याशी अध्यक्ष चेतराज भट्ट भन्छन, ‘संगठन पहिलादेखि नै बलियो हो, हामीले जित्छौं हामीले हार्ने चान्सै छैन ।’ उनीसँग एमालेका रामचन्द्र जैशी र माओवादीका विक्रमबहादुर देउवा चुनावमा भिड्दै छन । विक्रम शेरबहादुरकै काकाका छोरा हुन् ।
बीस वर्ष अघिको चुनाव सम्झिँदै शेरबहादुरका भाइ धर्मराज भन्छन, ‘२० वर्षपछि यो बुढ्यौलीमा फेरि भोट हाल्न पाइने भो, त्यो चुनाव र यो चुनावमा हेर्दा जना धेरै बाठा भइसक्याछन् ।’
त्यहीबेला एक हुल महिला रोपाइँ सकेर फर्कंदै थिए । महिला मतदाता पनि कम देखिएनन् । उनीहरूलाई चुनावले त उत्साहित गराएको छ नै त्यसमा पनि प्रधानमन्त्रीको गाउँका महिला, अलि सचेत नै देखिए ।
एकजना महिला कमली सार्की भन्छिन, ‘अब ता पैलाजस्तो काँ हुन्छ र, भोट त रोजेर हाल्न्या हो, अरूले भन्ने हुन्न ।’ पहिलाजस्तो गाउँको वा घरको नेताले भनेर अब भोट नहाल्ने उनको भनाइ थियो । ‘टाइम त फेरियो नि, यी अब प्रधानमन्त्रीसँगै भोट हाल्न पाइने भो ।’
प्रधानमन्त्रीले गाउँकै आसखर्क उच्च माविको मतदान केन्द्रमा मतदान गर्नेछन । त्यसका लागि प्रधानमन्त्री देउवा पत्नी आरजुसहित शनिबार डडेल्धुरा आइपुग्ने कार्यक्रम छ । शनिबार दिउँसो जोगबुढाको परशुराम नगरपालिकामा चुनावी सभालाई सम्बोधन गरेपछि उनी सदरमुकाम अमरगढी बस्नेछन ।
केही दिन पार्टीका कार्यकर्ता भेटघाट लगायत अन्य कार्यक्रममा व्यस्त रहने देउवा १४ गते आफ्नै टोलको मतदान केन्द्रमा पुगेर मतदान गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री भोट हाल्न गाउँ आउने भएपछि सदरमुकामदेखि उनको गाउँसम्म जाने बाटोमा डोजर लगाउने तयारी भएको छ । हिउँदको बेलामा दिनको एक समय जिप मात्रै चल्नसक्ने प्रधानमन्त्रीको गाउँको बाटोमा वर्षायाममा गाडी चल्न सक्दैन । अहिले पनि बाटो केही बिग्रिसकेको छ ।
देउवाको पुख्र्यौली घरको खोलापारि जाने त झन् बाटो पनि छैन । एउटा सानो झोलुंगे पुल बनेपछि बल्ल त्यहाँ जान सजिलो भएको छ । चार/चार पटक प्रधानमन्त्री भइसकेका देउवाको आफ्नै गाउँको बाटो किन यस्तो त ?
दुईपटकसम्म प्रधानपञ्च भइसकेका उनका भाइ धर्मसिंह भन्छन, ‘ऊ त सानैबाट देशको अनि सारा देशका जनताको विकास हेर्ने भैगो, अब गाउँको विकास त हाम्ले गर्ने हो ।’
घरका महिलाजति सबै रोपाइँमा व्यस्त छन् । युवाहरू आफू समर्थक पार्टीको चुनावी प्रचारमा टाढाटाढा गाउँगाउँ पुगेका छन् । त्यसैले देउवाको टोल अहिले सुनसानजस्तै छ ।
वरिपरिका घरहरू ठडिएका छन् । तर, देउवा जन्मिएको घर भने युद्धकालमै माओवादीले ध्वस्त पारिदिएको थियो ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्