सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

वडाध्यक्षदेखी मतदातासम्म भारतीय, प्रमाणसहित

सुनसरीको कोशी गाउँपालिका वडा नं. ६ का वडाध्यक्षका उम्मेद्वार भारतीय नागरीक रहेको खुल्न आएको छ । उनी भारतीय भएको कुरा भारतको मतदाता नामावलीमा भेटिएपछि खुलेको हो ।

वडाध्यक्षको उम्मेद्वार बनेका महेन्द्र मर्वेता सत्तारुढ नेपाली कांग्रेसको तर्फबाट अध्यक्ष पदका प्रत्यासी हुन् । उनको नाम भारतीय मतदाता नामावलीमा भेटिएपछि उम्मेद्वारी बदरको माग गर्दै निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ ।

मर्वेताको नेपालको मतदाता नामावलीमा क्रम संख्या १७४७ र मतदाता नम्बर १४८२५०१ नम्बरमा बाबु बेचु मर्वेता रहेको उल्लेख छ भने भारतको बिहार विरपुर नगरपालिकाको आम निर्वाचन नामावली २०१७ मा विरपुर २ मा क्रम संख्या २०३–४५११८१२०८, ००२९४७० नम्बरमा पिता बेचु मर्वेता नामबाटै मतदाता नामावली रहेको छ ।

उजुरीकर्ताले उनी श्री प्रावि श्रीपुर १ को हालसम्मको ब्यवस्थापन समितिको अध्यक्ष रहेको र उम्मेदवारी दर्ता गराउने समयसम्म उनले सो लाभको पद धारण गरिरहेको हुँदा उनको उम्मेदवारी बदर हुनुपर्ने माग गरेका छन् ।

उजुरीकर्ताले भारतीय मतदाता नामावली, नेपाली मतदाता नामावली, विद्यालय ब्यवस्थापन समितिको अध्यक्ष कायम रहेको शिक्षा कार्यालयको पत्र समेत पेश गरेका छन् ।

कोशी गाउँपालिकाका निर्वाचन अधिकृत लोकबहादुर भण्डारीले भने भारतीय मतदाता नामावलीमा नाम रहेपनि उनले सो त्याग गरेको प्रमाण बुझाएको र विद्यालय ब्यवस्थापन समितिको अध्यक्ष पद लाभको पद नठहरिने स्पष्ट पारेका छन ।

स्रोतका अनुसार भारतीय मतदाता नामावली अनुसार साविकको श्रीपुर १ मा मात्रै १ सय १२ जना भारतीय नागरिक मतदाता रहेका छन् । कोशी गाउँपालिका भरीमा करिब ४ हजार मतदाता भारतीय नागरिक छन् ।

भारतको बनेलीपट्टी बसमतीय, विरपुर, फारविसगंज, बरियाकमाल लगायतका स्थानको मतदाताहरु रहेका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्