सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

दोस्रो चरणको मतगणना कतै राति देखि कतै भोली

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको दोस्रो चरणअन्तर्गत बिहीबार भएको चुनावमा ६७ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ । बिहीबार साँझ निर्वाचन आयोगको केन्द्रीय कार्यालय जमल कान्तिपथमा पत्रकार सम्मेलन गरी प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले प्रारम्भिक तथ्यांकअनुसार ६७ प्रतिशत मतदान भएको जानकारी गराएका हुन् ।

प्रमुख निर्वाचन आयुक्त यादवले यो प्रतिशत बढ्न सक्ने पनि बताएका छन । प्रमुख आयुक्त यादवका अनुसार बिहीबारको निर्वाचनमा सबैभन्दा बढी गुल्मीमा ७१ प्रतिशत मतदान भएको छ । पहिलो चरणमा मंसिर १० गते भएको निर्वाचनमा ६५ प्रतिशत मत खसेको थियो ।

दोस्रो चरणको निर्वाचनमा व्यापक जनसहभागिता भएको र शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको उनले बताएका छन । प्रमुख निर्वाचन आयुक्तका अनुसार अहिले मतदान सम्पन्न भएपछि सुरक्षित तवरबाट जिल्ला सदरमुकाममा मतपेटिका संकलन गर्ने काम भइरहेको छ ।

प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणमा मंसिर १० गते भएको निर्वाचनको मतगणना सुरु भइसकेको भन्दै दोस्रो चरणको पनि केही जिल्लामा आजै राति र भोलि बिहानसम्ममा मतगणना हुने विश्वास व्यक्त उनले व्यक्त गरेका छन ।

दोस्रो चरणको निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि १ सय २८ निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यका लागि २ सय ५६ निर्वाचन क्षेत्रका गरी ७ हजार ७ सय ५२ मतदान स्थलका १५ हजार ३ सय ४४ मतदान केन्द्रमा मतदान भएका छन् ।

बिहीबार बिहान ७ देखि बेलुका ५ बजेभित्र मतदान केन्द्रहरुमा प्रवेश गरिसकेका मतदाताहरुले मतदान गर्न पाउने व्यवस्था गरिएको थियो । पहाडी तथा तराई–मधेसका गरी ४५ जिल्लामा भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको दोस्रो चरणको निर्वाचनमा कूल १ करोड २२ लाख ३५ हजार ९९३ मतदाता थिए ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्