सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

कामचलाउ सरकारका निर्णय नयाँ सरकारले नमान्ने

वर्तमान कामचलाउ सरकारले बिभिन्न निकायमा धमाधम नियुक्ति गर्न थालेपछी एमालेले त्यसको प्रतिवाद गरेको छ । एमालेले भनेको छ, ‘कामचलाउ सरकारले गरेका नियुक्ति र निर्णयहरु नेकपा एमालेलाई कुनै पनि हालतमा मान्ने हुने छैन ।’

नयाँ निर्वाचनबाट देशको पहिलो दल बनेर सरकारको नेतृत्व गर्न लागेको नेकपा एमालेले कामचलाउ सरकारले बिभिन्न संस्थानमा राजनीतिक नियुक्ति गर्न थालेको भन्दै आपत्ति जनाएको हो ।

एमाले महासचिव ईश्वर पोखरेलले सोमवार विज्ञप्ति जारी गरि काम चलाउ हैसियतमा सीमित हुन पुगेको सरकारले विभिन्न निकायमा राजनीतिक नियुक्तिहरू गरेको र गर्न लागेको विषयप्रति पार्टीको ध्यानाकर्षण भएको जनाएका छन् ।

प्रदेश प्रमुख र त्यससँग सम्बन्धित विभिन्न निर्णयहरु गर्न लागेको सूचना पाएपछी एमालेले ध्यानाकर्षण भएको जनाएको हो । एमालेले विज्ञप्तीमार्फत कामचलाऊ सरकारलाई मनपरी निर्णय गर्नबाट रोक्न कर्मचारी नेतृत्वलाई समेत सचेत गराएको छ ।

महासचिव पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ–‘गोरखापत्र संस्थान, दुग्ध विकास संस्थान, चलचित्र विकास बोर्ड र राष्ट्रिय आमसञ्चार प्रतिष्ठान लगायतमा नियुक्ति गरी मौका छोप्न खोज्नु सरकारको दुराशय र जनादेशविपरीत कदम हो । यस्ता गलत निर्णयहरू गर्न स्थायी सरकार मानिने निजामती कर्मचारीका सम्बन्धित जिम्मेवार पदाधिकारीलाई समेत संलग्न नहुन हामी सचेत गराउन चाहन्छौं ।’

नेपाली जनताले वाम गठबन्धनलाई दुई तिहाई बहुमतको समर्थन प्रदान गरी निर्वाचित गरेको भन्दै एमालेले यो सरकारले गरेका कुनै पनि निर्णयको निरन्तरता नयाँ सरकारले कुनै पनि हालतमा नदिने प्रष्ट पारेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्