जनताको सरकार उन्माद र दमनकारी हुँदैनः ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा वामपन्थीको पक्षमा आएको चुनावी परिणाम लोकतान्त्रिक आन्दोलनको पक्षमा आएको बताएका छन् । अध्यक्ष ओलीले भद्रपुरस्थित जिल्ला हुलाक कार्यालयमा रहेको क्षेत्र नम्बर–५ को निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचित भएको प्रमाणपत्र बुझ्दै यस्तो बताएका हुन् ।
झापा क्षेत्र नम्बर–५ मा दोब्बर मतान्तरले विजय हासिल गरेका एमाले अध्यक्ष ओलीले बहुमत ल्याउनु मात्र ठूलो कुरा नभएको तर्क राख्दै भने, ‘बहुमत आउने भन्दैमा देशमा स्थिरता र स्थायित्वता हुन्छ भन्ने छैन । कसको हातमा बहुमत छ, त्यो ठूलो कुरा हो ।’
उनले नेपाली जनताले त्यस कुरालाई बुझेर बिभिन्न समयमा भएको आन्दोलनको पक्षमा मत दिएको बताएका छन । पूर्व प्रधामन्त्रीसमेत रहेका ओलीले जनतामा अझै पनि एउटा भ्रम रहेको भन्दै यो विजयपश्चात अब बन्ने बहुमतको सरकार उन्माद र दमनकारी नहुने दाबी गरेका छन ।
उनले भने, ‘हामी आफैँ दमनमा परेका र भोगेका मान्छे हौँ, त्यसैले आमजनताले दिएको बहुमतको सरकारले जनता र लोकतन्त्रको पक्षमा काम गर्नेछ ।’ अध्यक्ष ओलीले प्रतिपक्षलाई साथ लिएर सम्मानपूर्ण व्यवहार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन । एमालेका जनप्रतिनिधिहरुलाई अबका चुनावमा ‘भोट नमागी, भोट दिऊँ–दिऊँ जस्तो लाग्ने’ गरी काम गर्न ओलीले अपिल गरेका छन ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्