सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

जोखिम मोलेका प्रचण्डको जिल्ला बन्यो वाम किल्ला

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले चुनाव जितेको क्षेत्र नं. ३ उनका लागी त्यति सुरक्षित थिएन । यो कुरा उनलाई पनि थाहा थियो तर पनि प्रचण्डलाई पार्टी संगठन बलियो नभएको र अर्को पार्टीले दिने मतमा जित भरपर्ने गरी उठ्न मन लाग्यो । कारण उनी यहीँ नै हुर्किएका थिए । उनको बाल्यकाल र बालसखाहरु यहिँ भेटिन्थे ।

एमालेसँग भरतपुर महानगरपालिकाको निर्वाचनमा बढेको तिक्तता मेटाउँदै बढी भन्दा बढी जनतालाई आफ्नो पक्षमा पार्नु चानेचुने कुरा पक्कै थिएन । दश वर्षे जनयुद्धका क्रममा माओवादीले गराएको बम बिस्फोटमा परी धेरै सर्बसाधारण नागरिकले ज्यान गुमाएको ठाँउ बाँदरमुढेसमेत प्रचण्डकै क्षेत्रमा परेकाले पनि उनी दवावमा थिए ।

अर्कोतिर कांग्रेसकै बलियो प्रभाव क्षेत्रमा प्रभावशाली मानिएका राप्रपा प्रजातान्त्रिकका नेता विक्रम पाण्डे प्रचण्डका प्रतिस्पर्धी थिए । यस्ता धेरै आशंका र संसयकावीच पनि अन्नतः माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चितवन निर्वाचन क्षेत्र नः ३ बाट जित्न सफल भएका छन ।

निर्वाचनअघि प्रचण्डले चितवन क्षेत्र नं. ३ का जनतालाई दवाव पुग्ने गरी भनेका थिए, ‘यहाँका जनताले हराए पनि स्वीकार्छु ।’ एमालेसँगको तिक्तता मेटिएर सबै नेता कार्यकर्ता चुनावी माहौलमा खट्नु नै प्रचण्डको जीत हुनुको राज हो ।

दाहालले प्रतिस्पर्धी उम्मेदवार विक्रम पाण्डेलाई ९ हजार ३४१ मतको फरकले पराजित गरेका छन । प्रचण्डले ४८ हजार २७६ मत ल्याउँदा कांग्रेसको सर्मथनमा उठेका पाण्डेले ३८ हजार ९३५ मत पाएका छन ।

चितवनकै निर्वाचन क्षेत्र नः १ बाट एमालेका स्थायी कमिटी सदस्य एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे दोस्रोपटक निर्वाचित भएका छन । पाण्डेले प्रतिस्पर्धि राजेन्द्र बुर्लाकोटीलाई १४ हजार ४ सय ४२ मतको फराकिलो अन्तरले पराजित गरेका छन ।

सुरेन्द्र पाण्डेले ५० हजार ८ सय ९६ मत प्राप्त गर्दा बुर्लाकोटीले ३६ हजार ४ सय ५४ मत ल्याएका छन । पाण्डे र बुर्लाकोटी यसअघि २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा पनि प्रतिस्पर्धि थिए । त्यतिबेला पनि बुर्लाकोटी पाण्डेसँग पराजित बनेका थिए ।

त्यस्तै चितवन २ मा एमालेका चितवन जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेल विजयी भएका छन । उनले शिक्षा राज्यमन्त्रीसमेत रहेका कांग्रेसका नेता शेषनाथ अधिकारीलाई १७ हजार ३ सय ५६ मतको फराकिलो अन्तरले हराएका हुन ।

कृष्णभक्त पोखरेलले ४४ हजार ६ सय ७० मत ल्याउँदा अधिकारीले २७ हजार ३ सय १४ मत ल्याएका थिए । पोखरेलले यसअघि २०७० सालको संविधान सभा निर्वाचनमा चितवन क्षेत्र नः ३ बाट जितेका थिए भने शेषनाथ अधिकारी चितवन २ बाट विजयी भएका थिए ।

प्रदेशसभाका ६ ओटै सिट बामगठबन्धनको कब्जामा
प्रतिनिधीसभाको तीन ओटा निर्वाचन क्षेत्र रहेको चितवनको ६ वटा प्रदेशसभा क्षेत्रमा पनि वाम गठबन्धनका उम्मेदवारहरु नै विजयी भएका छन् । धेरैले अपेक्षा गरेभन्दा फरक नतिजा निकाल्दै वाम गठवन्धनका सवै उम्मेदवारहरु विजयी भएका हुन् ।

चितवन निर्वाचन क्षेत्र नः ३ को (क) र निर्वाचन क्षेत्र नः २ को (क) लाई कांग्रेस उम्मेदवारहरुले जित्न सक्ने लख काटिएको थियो । यद्यपी, यी क्षेत्रबाट समेत वाम गठवन्धनका उम्मेदवारहरु फराकिलो मतसहित विजयी भएका छन ।

निर्वाचन क्षेत्र नः १ को प्रदेश क्षेत्र (क) बाट एमाले प्रदेश नः ३ का सदस्य रहेका दावा दोर्जे लामा अत्याधिक मतका साथ विजयी भएका छन । उनी ७ हजार १ सय ९ मतको अन्तरले विजयी भएका हुन् । लामाले २३ हजार २३ मत प्राप्त गरेका छन भने उनका प्रतिद्धन्द्धी कांग्रेसका धनवहादुर गुरुङले १५ हजार ९ सय १४ मत प्राप्त ल्याएका छन ।

क्षेत्र नः १ को प्रदेश क्षेत्र (ख) मा एमालेका वैकल्पिक केन्द्रीय सदस्य रहेका कृष्ण खनाल विजयी भएका छन । उनी ८ हजार ७ सय २१ मतको अन्तरले विजयी भएका हुन् । खनालले २७ हजार २ सय ३२ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्धन्द्धी नेपाली कांग्रेसका उत्तम आचार्यले १८ हजार ५ सय ११ मत ल्याएका छन ।

निर्वाचन क्षेत्र नः २ को प्रदेश क्षेत्र (क) मा वामगठवन्धनका उम्मेदवार माओवादी नेता घनश्याम दाहाल विजयी भएका छन । दाहालले कांग्रेस चितवनका उपसभापति जितनारायण श्रेष्ठलाई ४ हजार ७ सय १८ मतले पराजित गरेका छन । दाहालले २० हजार ८ सय ३१ मत ल्याई जीत हात पार्दा पराजित जीतनारायणले १५ हजार ६ सय ६३ मत ल्याएका छन ।

क्षेत्र नं. २ (ख) मा बाम गठबन्धनका तर्फवाट उम्मेदवार बनेका एमाले नेता विजय सुवेदी अत्याधिक मतका साथ विजयी भएका छन । उनी ८ हजार ९ सय २ मतको अन्तरले विजयी हुन सफल भएका छन । सुवेदीले २१ हजार ५ सय ७२ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्धन्द्धी कांग्रेसका प्रकाश अधिकारीले १२ हजार ६ सय ७० मत ल्याएका छन ।

चितवन क्षेत्र नं. ३ (क) मा बाम गठबन्धनका तर्फवाट उम्मेद्वार बनेका कृष्ण भुर्तेल विजयी भएका छन् । भुर्तेल १७ सय ४० मतको अन्तरले विजयी भएका हुन् । उनले २४ हजार ७ सय ८५ मत ल्याएका छन भने कांग्रेसका दिनेश कोइरालाले २३ हजार ४५ मत ल्याएका छन ।

क्षेत्र नं. ३ (ख) मा वाम गठबन्धनका तर्फवाट उम्मेद्वार बनेका माओवादी केन्द्रका नेता रामलाल महतो विजयी भएका छन । उनी ९ हजार १ सय ६१ मतको फराकिलो अन्तरले विजयी भएका हुन् । रामलाल महतोले २५ हजार ६१ मत प्राप्त गर्दा पराजित उम्मेदवार नेपाली काँग्रेसका साजन महतोले १५ हजार ९ सय ४५ मत प्राप्त गरे । नाताले रामलाल र साजन मामा–भाञ्जा हुन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्