सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

प्रदेश २ मा मधेसवादीको बहुमत, को बन्ला मुख्यमन्त्री

मधेशवादी दलहरु संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीको गठबन्धनले प्रदेश २ मा प्रत्यक्षतर्फ बहुमत सिट जितेको छ । प्रदेश नंं. २ का प्रत्यक्षतर्फका ६४ सिटमध्ये गठबन्धनले ३४ सिट जितेर बहुमत पुर्याएको हो ।

प्रदेश नं. २ मा वाम गठबन्धनले १९ (एमाले १२ र माओवादी केन्द्र ७) सिट जितेको छ भने कांग्रेसले ८ सिट जितेको छ । एक सिटमा भने स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । प्रदेश २ मा ७३ समानुपातिक सिट छ । १०७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ५४ सांसद चाहिन्छ ।

समानुपातिकमा कुन दलले कति सिट जित्यो, त्यो थाहा पाउन अँझै केही दिन कुर्नु पर्ने हुन्छ । तर, फोरम र राजपा गठबन्धनले सरकार गठनका लागि आवश्यक बहुमत पुर्याउने पक्का जस्तै देखिएको छ ।

प्रदेश नं. २ मा मधेशबादी दलको बहुमत आउने पक्का भएसँगै मुख्यमन्त्री को बन्ला भन्ने कुरा पनि चर्चाको बिषय बन्न थालेको छ । फोरम र राजपाले चुनावका क्रममा कुनै नेतालाई पनि मुख्यमन्त्रीको उम्मेदवारका रुपमा अघि सारेको छैन ।

तर, पार्टीमा केही नेतालाई सम्भावित उम्मेद्वारका रुपमा हेरिएको छ । उनीहरु मध्ये एक हुन् लालबाबु राउत । उनी पर्सा १ को ‘ख’बाट प्रदेशसभा सदस्य चुनिएका छन् ।

दोस्रो संविधानसभामा सभासद रहेका उनी पार्टीका उपाध्यक्ष हुन् । नेताहरुका अनुसार उनले पार्टीले जिम्मेवारी दिए आफू तयार रहेको बताउने गरेका छन् तर, मुख्यमन्त्री को हुने भन्ने पार्टी र गठबन्धनले निर्णय गर्ने भएकाले औपचारिक रुपमा केही बोलेका छैनन् ।

प्रत्यक्षतर्फ धेरै सिट जितेकाले स्वभाविक रुपमा मुख्यमन्त्रीमा दाबी रहेको फोरमका नेताहरु बताउँछन् । यस्तै राजपाबाट सम्भावित उम्मेदवार हुन् जितेन्द्र सोनल । उनी बारा ४ ख बाट प्रदेशसभा सदस्य चुनिएका छन् । पूर्व सभासद रहेका उनी मुख्यमन्त्री बन्ने सम्भावना देखेर नै प्रदेशमा गएका हुन् र पार्टी नेतृत्व पनि यसमा सकारात्मक रहेको बताइन्छ ।

यस्तै राजपाका महामन्त्री मनिष सुमन पनि सप्तरी–२ को ख बाट प्रदेशसभा सदस्यमा चुनिएका छन् । समानुपातिकतर्फ पनि पार्टीका प्रभावशाली नेताहरु रहेका छन, जो प्रदेशसभा सदस्यसँगै मुख्यमन्त्रीको दाबेदार रहनसक्छन् । तर, पार्टीको माथिल्लो तहमा रहेर काम गरेका लालबाबु र जितेन्द्रलाई मुख्य दावेदारका रुपमा हेरिएको छ ।

स्मरण रहोस, मधेशबादी दलहरु स्वतन्त्र मधेशको माग सहित आन्दोलन गर्दै आएका छन । प्रदेश नं. २ मा आएको मधेशवादी दलको बहुमतले स्वतन्त्र मधेश मागधारीहरुलाई झन सहज बनाउला या यो मुद्दा अब सेलाउला त्यो भने अबका दिनमा देखिने नै छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्