टिकापुर हत्याकाण्डका नाईके सांसद बन्न नपाउने
एसएसपिसहित ७ सुरक्षाकर्मी र एक नाबालकको ज्यान जानेगरी भएको टिकापुर हत्याकाण्डका मुख्य नाईके भनिएका रेशम चौधरीको सांसद बन्ने सपना धरासायी भएको छ । सर्वोच्च अदालतले रजिष्टारको आदेश कानुनसम्मत भएको फैसला सुनाएपछी हत्याकाण्डका मुख्य अभियुक्त चौधरीको सांसद बन्ने बाटो बन्द भएको हो ।
थरुहट आन्दोलनका क्रममा वि.स.२०७२ सालको भदौ २७ गते भएको टिकापुर हत्याकाण्डको मुख्य अभियुक्तका रुपमा फरार रहेकै अवस्थामा चौधरीले मधेषबादी दल राजपाको तर्फबाट प्रतिनिधिसभा सदस्यका रुपमा चुनाव जितेका थिए ।
फरार रहेकै अवस्थामा कैलाली क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यको चुनाव जितेका चौधरीले निर्वाचित भएको प्रमाणपत्र वारेसमार्फत पाउनु पर्ने माग गर्दै सर्वोच्चमा गएका थिए ।
सर्वोच्च प्रशासनले रिट दरपीठ गरेपछि परेको निवेदनमा न्यायाधीश टंकबहादुर मोक्तानको इजलासले रजिष्टारको आदेश कानुनसम्मत भएको फैसला सुनाएपछी चौधरीको सांसद बन्ने बाटो बन्द भएको छ ।
साथै आदेशमा कर्तव्य ज्यान मुद्धाको अभियोग लागेका चौधरीले अदालतबाट जारी भएको वारेन्ट तथा म्यादी पूर्जी अवज्ञा गरेको देखिएको समेत फैसलामा उल्लेख गरिएको छ । सर्वोच्चले आफ्नो फैसलामा फरार अभियुक्तलाई जुनसुकै बेला पक्राउ गरेर अदालतमा दाखिल गर्नुपर्ने प्रवधान समेत स्मरण गराएको छ ।
सर्वोच्चको फैसलामा भनिएको छ–‘अदालती प्रक्रियालाई छलेर कसैले पनि संविधान एवं प्रचलित कानुनले प्रदान गरेको सुविधा उपभोग गर्न पाउनुपर्छ भन्नु कदाचित मिल्दैन ।’
फैसलामै यो पनि भनिएको छ–‘अभियोग लागेका व्यक्तिले कानुन बमोजिम सफाइ लिनुपर्ने हुन्छ । जसका लागि अदालत प्रक्रिया अपनाउनु पर्ने हुन्छ, जुन निवेदकले गरेको पाइएन ।’
अभियोग लागेका व्यक्तिले जानीजानी अदालती प्रक्रियालाई अवज्ञा गरी राज्यद्धारा प्रदान गरिने सुुविधा वा हक उपभोग गर्न गैर बाटोको प्रयोग गर्ने हो भने देशमा दण्डहिनताको स्थिति सृजना हुनसक्ने सर्वोच्चले बताएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्