सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

जसले जति क्याङक्याङ गरे पनि देश अघि बढ्छ

एमाले अध्यक्ष केपी शर्मा ओलीले अब संविधान बनिसकेको र चुनावसमेत भइसकेको अवस्थामा कसैले अलिअलि ‘क्याङक्याङ कुङकुङ’ गरे पनि देश अघि बढ्ने बताएका छन् ।

एमाले उपाध्यक्ष वामदेव गौतमद्वारा लिखित पुस्तक विमोचन कार्यक्रममा बोल्दै शनिबार ओलीले भने–‘जनताले लडेर ल्याएको संघीय गणतन्त्र आएको छ, संविधान बनेको छ, निर्वाचन सम्पन्न भएको छ । अलिअलि क्याङक्याङ कुङकुङ त हुन्छ, तर त्यसले केही गर्न सक्दैन । अब नेपाल अगाडि बढ्छ बढ्छ ।’

वाम गठबन्धनलाई बिथोल्न र अस्थिरता निम्त्याउन प्रयास भइरहेको भए पनि अब कसैको केही नलाग्ने र वाम गठबन्धनको सरकार बनेरै छाड्ने ओलीले बताएका छन । माओवादी र एमालेवीचको पार्टी एकतालाई कसैले बिथोल्न नसक्ने पनि ओलीले बताएका छन ।

ओलीले अब बन्ने वामपन्थी सरकारले अग्रगामी कार्यक्रम र आर्थिक नीति निर्माणमा लाग्ने बताएका छन । वामपन्थीहरुले बहुमत पाएकाले अब केन्द्र र स्थानीय तहमा समेत काम गर्ने वातावरण बनेको हुनाले देश विकासको बाटोमा अघि बढ्ने ओलीले बताए ।

एमाले अध्यक्ष ओलीले अगाडि भने–‘कमसेकम ६ वटा प्रदेशमा कसैले केही गर्न सक्दैन, स्थानीय तहमा अधिकांश हामीले जितेका छौं । अहिले काम गर्ने वातावरण छ ।’

पार्टी एकताका सन्दर्भमा माओवाद र जनताको बहुदलीय जनवादको अवस्था के हुने भन्नेबारे चलिरहेको बहसका सन्दर्भमा पनि ओलीले अप्रत्यक्ष रुपमा आफ्ना कुरा राखेका छन ।

‘इतिहासको मूल्यांकनका सन्दर्भमा फुर्सदमा छलफल गर्दै जाउँला’, उनले अगाडि भने, ‘मतभेदहरु होलान, छलफलका विषयहरु हुन सक्छन् । तर, पृष्ठभूमि र आजको अवस्था विगत र वर्तमानभन्दा पृथक हाम्रा नीतिहरु हुन्छन् । आजका आवश्यकताका आधारमा नीतिहरु बन्छन् ।’

राजनीतिक स्थिति फेर्नुपर्ने बेलामा उत्पादन सम्बन्धलाई फेर्नुपर्ने भएकाले त्यसबेला राजनीतिक बहस प्रधान हुने ओलीले तर्क गरेका छन । उनले भने, ‘त्यसबेला राजनीतिक विषयले प्रमुखता पाउँछ ।’

तर, अब राजनीतिक विषय टुंगिएकाले आर्थिक विकासले प्रमुखता पाउने उनले स्पष्ट पारेका छन । ओलीले भने–‘अब अस्थिरतातर्फ लान खोज्ने शक्तिहरु र तिनका प्रयासहरु असफल हुन्छन, म साथीहरुलाई ढुक्क हुन आग्रह गर्न चाहन्छु ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्