१२ बर्षमै बिहे, २१ पुग्दा श्रीमानले अर्कै ल्याएपछी
रुपन्देहीको कम्हरियाकी पुजा चाईको बिहे भएको ९ वर्ष पुग्यो । बिहे हुँदा १२ वर्षीया बालिका अहिले २१ वर्षे जवान भइन् । सुरुमा दूलाहाको पढाइ र दुलहीको बालापन पूरा गर्न माइत छोडिएकी पूजाको घर जाने दिन भने जुरेन ।
घरपक्ष गौना लिन (शुभ साइत छोपेर लिन) आउने दिनको प्रतिक्षामा बसेकी उनी पतिले अर्को बिहे गरेपछि अलपत्र छिन् । ‘काली र नपढेकी’ भन्दै पतिले गौना गर्न नमान्दा पूजा अलपत्र परेकी हुन् ।
होची भएको भन्दै पतिले गौना गर्न नमानेपछि घर जाने प्रतिक्षामा दिन कटाएकी रोहिणी गाउँपालिका छोटी रामनगरकी आशा पासीको पनि घरजम बस्न सकेको छैन । न त, बिहेपछि पति र घरपरिवारसँग भेटघाट भयो ।
पोखरामा प्राविधिकको जागिर खाँदै गरेका परासीका सरोजले आफ्नो उमेर र पेशा मिल्नेसँग प्रेम विवाह गरेपछि सुनिताको घर जाने बाटो छेकिएको छ । सरोज अहिलेको विवाह तोड्न र अवोध बाल्यकालमा सुनितासँग गरिएको विवाह स्वीकार्न तयार छैनन् ।
‘बिहे गरेकी जवान छोरी माइतै अलपत्र परिन् । न्यायका लागि पटक पटक गाउँका अगुवा बसियो केही भएन ।’ आशाकी आमा रमावतीले गुनासो गरिन् । ‘अड्डा अदालत जाउँ बाल विवाहको उजुरी लाग्दैन रे,’ उनले थपिन् ।
पछिल्लो समयमा पूजा र आशा जस्तै बालविवाहको चपेटामा परेका रुपन्देहीका धेरै किशोरी अलपत्र परेका छन । एकदिन पति आउने र लैजाने प्रतिक्षामा सिउँदो रंगाएर बसेका उनीहरुका पति भने अर्को घरजम गरेर बसेका छन् । विवाहपछि दुलाहले पहिलोपटक दुलही घर लिएर जाने परम्परालाई मधेसी समूदायमा गवना अर्थात गौना भनिन्छ ।
सानैमा बिहे हुने भएपनि मधेसका छोरी परीपक्कताका लागि माइतमै छोडिन्छ । किशोर उमेरमा दिन जुराएर पुन केटापक्षले दाइजोसहित दुलही वा गौना लैजाने गर्छन ।
सानैमा अभिभावकले बिहे गरिदिए पनि पछि केटाले पढाइ, दाइजो, सुन्दरता लगायतमा दोष लगाएर नस्वीकार्दा धेरै किशोरीको घरवार खोसिएको छ । भुक्तभोगीहरुका अनुसार बिहेपछि प्रायः अभिभावकहरु बालिकालाई पढ्न छुटाउँछन् । बालक भने पढन् जान्छन् । पढ्दै र बढ्दै जाँदा उनीहरुको स्तर मिल्दैन ।
भेट नै नहुने भएकाले मायाप्रेम पनि बस्दैन । यसैले पढेलेखेका केटाले आफूसरहकी केटी हेर्न थाल्छन् र बिहे गर्छन । यो गर्दा बिहे गरेकी जेठी पत्नी अलपत्र परेका हुन् । बाल विवाह बढी हुने गुप्ता, ठहरे, कुर्मी, लोध, हरिजन, बाजिया, कलवार, पासी, पासवान, मौर्य, थारु लगायतका जातिमा गौना तोडिने समस्या बढ्दै गएको छ ।
बालविवाहलाई कानुनले अवैध मानेको छ । २० वर्षअघिको विवाहलाई विवाह नै नमान्ने भएकाले सानैमा विवाह भएका किशोरीका पक्षमा कानुनले सहयोग गर्दैन । पतिले अर्को बिहे गरेर अन्याय गरेपनि जेठी पत्नीलाई न्याय दिलाउन नसक्दा समस्या झन् बढेको छ ।
पोखरभिण्डीकी रीता हरिजन यही मारमा परेकी छिन् । सरकारी जागिरे पतिले आफूमिल्दो पढाइको युवतीसँग घरबार गरेपछि प्रहरीमा उजुरी दिएकी उनको बाल विवाह भएकाले बहुविवाह मुद्धा दर्ता भएन ।
सट्टामा पति वा न्याय होइन जीवनयापनका लागि दिएको केही रकममै चित्त बुझाउनु र्पयो । ‘म १२ र उहाँ १४ वर्षको हुँदा बिहे भएको थियो,’ २२ वर्षे रीताले गुनासो गरिन, ‘म त्यही विवाहलाई सकारेर बसें । उहाँले नकारेर बिहे गर्नुभयो ।’
समस्या बढेपछि अवैध विवाह नै भएपनि गौना नलगेका र केटाले अर्को विवाह गरेर अलपत्र परेका घटना महिलासम्बद्ध संघसस्था तथा प्रहरीकहाँ आउन थालेका छन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा गत वर्ष ७० वटा खोजतलास भन्दै गौना नलगेका र बालविवाहपछि केटाले अर्को बिहे गरेका मौखीक उजुरी आएका थिए । चालु आवमा पनि १५ वटा त्यस्ता उजुरी परेका छन् ।
महिला तथा बालबालिका सेवा केन्द्रका प्रमुख लक्ष्मण बिकले कानुनी कारबाही गर्न नसकेपनि यस्ता धेरै उजुरी छलफलबाट समाधानको कोशिस गरिने बताएका छन ।








फेसबुकबाट कमेन्ट गर्नुहोस्