पशुपति आर्यघाटमा लाशमाथी कमिसनको खेल
पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार सामग्री खरिदमा कमिसनका लागि आलोपोलो प्रणाली लगाइएको छ । दाहसंस्कार गर्दा आवश्यक पर्ने बाँस, फूलमाला, दाउरा, कात्रो, पीताम्बर लगायत सामग्री खरिद मृतकका आफन्तको चाहनानुसार नभएर पालोअनुसार तोकिएका पसलमा खरिद गर्नुपर्ने बाध्यता छ ।
शोकमा परेका आफन्तलाई पशुपति क्षेत्र विकास कोषका कर्मचारीले दाहसंस्कार सामग्री ‘फलानो पसलबाट किन्नुस’ भन्दै पसल तोकिदिने गरेका छन् । शोकमा परेका बेला कसैले केही नबोल्ने हुँदा त्यसको फाइदा लिन कर्मचारीको मिलेमतोमा आलोपालो प्रणाली लगाइएको खुलेको छ ।
माघ १९ गते कुपण्डोलका विष्णु खड्कालाई दाहसंस्कारका लागि आर्यघाट पुर्याइयो । दाहसंस्कारका लागि सुरुमा कोषको कार्यालयमा वातावरणीय शुल्क तथा जलाउनेको ज्यालासहित २८ सय रुपैयाँ तिरेर नाम दर्ता गरे आफन्तले । दर्तापछि कोषका कर्मचारी शम्भु पौडेलले भने, ‘यो चिट लिएर सामान किन्न पारीको पसलमा जानुस् ।’
मृतक खड्काका आफन्त सामग्री किन्न चिट बोकेर ब्रह्मनाल पारीको घाटसेवा पसलमा पुगे । सोही दिन मृत्यु भएकी मैया कुँवरका आफन्तले पनि शव घाटमा पु¥याएपछि कोषको कार्यालयमा गएर २८ सय बुझाई नाम दर्ता गराए ।
त्यसपछि मृतक कुँवरका आफन्तलाई कोषका कर्मचारीले पसल देखाउँदै भने, ‘यो चिट लिएर त्यहाँ जानुस् ।’ आफन्त चिट बोकेर किरियापुत्री घरसँगै रहेको पशुपति सेवा उपभोक्ता सहकारी संस्था लिमिटेडमा दाहसंस्कार सामग्री किन्न गए ।
कोषका कर्मचारीले मृतक खड्का र कुँवरका आफन्तलाई मात्रै होइन, आर्यघाटमा ल्याइने सबै मृतकका आफन्तलाई यसैगरी पसल तोकेर दाहसंस्कार सामग्री खरिद गर्न पठाउँछन् ।
कोषबाट दिएको चिट बोकेर मृतकका आफन्त कोषका कर्मचारीले तोकेको पसलमा पुगेर चिट छोडेपछि कोषबाट शव जलाउन खटिएका व्यक्तिले दाहसंस्कार सामग्री लिएर आउँछन् । स्रोतका अनुसार शव जलाउने र पसलेले मिलेर बिलमा थप सामग्रीसमेत जोड्छन् ।
शोकमा परेका मृतकका आफन्तले कति र कुन सामग्री लाग्छ भनेर ध्यान नदिने हुनाले अनावश्यक सामग्री पनि आवश्यक छ भनेर बिलमा चढाउने गरेको स्रोतको भनाइ छ । दाहसंस्कारपछि मृतकका आफन्त पसलमा गएर बिलअनुसार सामग्रीको भुक्तानी गर्छन् ।
भुक्तानी बिल हेर्दा दुईतिरै फरक मूल्य देखिन्छ । सहकारी पसलमा प्रतिमाको मूल्य २५ रुपैयाँ छ भने त्यसैलाई निजी पसलले दुई सय रुपैयाँमा बेच्दै आएको बिलबाट देखिन्छ । सबै सामाग्रीमा यो फरक मुल्य लागु हुन्छ । आर्यघाटमा दाहसंस्कार सामग्री बेच्ने सहकारी र निजी गरी दुइटा पसल छन् ।
यसरी बिलमै फरक मूल्य राखेर निजी पसलले मृतकका आफन्तलाई महँगो मूल्य तिराउँदा पनि कोष चुपचाप छ । कोषले उल्टै निजी पसलको बिक्री नहोला भनेर पालो प्रणाली कायम गर्दै ग्राहक बाँडिदिने काम गरिरहेको छ । दाहसंस्कारमा आर्थिक अवस्थाअनुसार न्यूनतम पाँच हजार रुपैयाँको सामान लाग्छ ।
आर्यघाटमा दैनिक दर्जनौं शव लगिन्छ । यसरी हेर्दा दाहसंस्कारका लागि दैनिक लाख रुपैयाँभन्दा बढीको सामग्री बिक्री हुने देखिन्छ । निजी पसलबाट कोषका कर्मचारीले कमिसन पाउने हुँदा पालो बाँडेर ग्राहक पठाउने गरेको दाबी स्रोतको छ ।
स्रोतका अनुसार तलदेखि माथिसम्मै कमिसन सेटिङले गर्दा कोष चुपचाप बसेको हो । कोषका सदस्यसचिव प्रदीप ढकाल पालो प्रणाली थाहा नभएको बताउँछन् । उनले पालो प्रणालीबारे केही जानकारी नभएको र पालो प्रणाली लगाउनु ठीक नरहेको बताए ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्