माओवादी–एमाले मतभेद चुलिँदै, धरापमा एकता
गत सोमबार वाईसिएलको प्रशिक्षण कार्यक्रममा पार्टी एकताको बिषयमा कार्यकर्ताले राखेको जिज्ञासाको जवाफ दिँदै प्रचण्डले ‘परिवर्तनका एजेन्डाहरुमा एमाले नेताहरु सच्चिनुपर्ने’ भन्ने आशयको भनाई राखेको समाचार बाहिरियो ।
सोही दिन प्रधानमन्त्री केपी ओलीले ‘सत्ता समिकरणको बानी परेकाहरु’ भन्दै ट्विट गरे । पार्टी एकिकरणको बिषयमा गहण छलफल चलिरहेकोबेला दुई पार्टीको हाई कमाण्डबाट गम्भीर मतभेद झल्कने आशयका अभिब्यक्ति बाहिरिएपछी दुई पार्टीका कार्यकर्ता र आम जनता एकता प्रक्रियामा सशंकित बनेका छन ।
एकतासम्मको तयारीसहित गठबन्धन बनाई निर्वाचन लडेर बहुमत ल्याएका सत्तारुढ एमाले र माओवादी केन्द्रबीच बजेट निर्माणसम्म आईपुग्दा आपसी मतभेद प्रस्ट रुपमा देखिन थालेका छन ।
सामान्यतया सरकारले ल्याउने बजेट र निती तथा कार्यक्रम चुनावी घोषणा पत्रको कार्यान्वयको पाटो हो । तर, संयुक्त सरकारको पहिलो बजेट निर्माण प्रक्रियामा भने केपी ओलीले प्रचण्डलाई पूर्णरुपमा ‘बाइपास’ गरेको माओवादी नेताहरुको बुझाई रहेको छ ।
बजेटमा ओलीले एकलौटी गरेको भन्दै माओवादी नेताहरु असन्तुष्ट देखिएका छन् । यो असन्तुष्टि मंगलबार सिंहदरबारमा बसेको माओवादी संसदीय दलको बैठकबाट छताछुल्ल भएको हो ।
करिब एक महिना अगाडिको भेटमा प्रधानमन्त्री केपी शर्मा ओलीले ५ सदस्यीय राष्ट्रिय योजना आयोग बनाउन लागेको भन्दै पाँचै जनाको नाम प्रस्तुत गरेका थिए । जवाफमा प्रचण्डले पाँच सदस्यीय बनाउनोस् या सात सदस्यीय बनाउनोस् तर, माओवादीका तर्फबाट दुईजना विज्ञलाई राख्नैपर्छ भनेका थिए ।
योजना आयोगमा माओवादीले दुईजना सदस्यहरु दाबी गरेपछि प्रधानमन्त्रीले करिब १ महिनासम्म योजना आयोग नबनाई बसेका थिए । र, यसवीचमा अर्थमन्त्री डा. युवराज खतिवडाको पहलमा गोप्य रुपमा एमाले नेताहरुले बजेटको तयारी गर्न थालेको र देशैभरि आफ्ना कार्यकर्ताको इन्ट्रेस्ट अनुसार काम गरेको माओवादी नेताहरुको गुनासो छ ।
एकजना माओवादी सांसद भन्छन–‘सरकारमा सहभागी रहेको र पार्टी एकता हुने तयारीमा रहेको माओवादीलाई पूरै ‘बाइपास’ गरेर ओली र खतिवडाले एकलौटी बजेट बनाएका छन, हामीमात्रै होइन, माधव नेपाल पक्षलाई पनि किनारा लगाइएको छ ।’
यसरी एक महिनाको बीचमा देशैभरिको बजेटिङ गरिसकेपछि बल्ल माओवादी कोटाका दुईजनासहित राष्ट्रिय योजना आयोग बनाइएको माओवादी नेताहरुको गुनासो छ ।
बजेटसम्बन्धी एमालेको कार्यशैलीमाथि टिप्पणी गर्दै एक माओवादी नेता भन्छन, ‘हामीले साझा घोषणापत्र बनाएका छौं । समृद्धिका लागि नयाँ योजनाहरुमा बजेट विनियोजन गर्नुपर्ने छ । निर्वाचन क्षेत्र विकास कोष आदिबारे बहस भइरहेको छ, यस्तो बेलामा ओलीले प्रचण्डलाई समेत किनारा लगाउनु निकै गम्भीर विषय हो ।’
खासगरी राष्ट्रिय योजना आयोग गठन गर्दा पार्टीभित्रसमेत कुनै छलफल नगरिएको भन्दै एमाले नेता माधव नेपालसमेत आक्रोशित भएको पार्टी स्रोतले बताएको छ । पार्टी एकताका बिषयमा गम्भिर छलफल भईरहेका बेला देखिएका यस्ता तिक्तताले पार्टी एकता प्रक्रियामा प्रभाव पार्ने माओवादीको बुझाई छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्