आइजिपी हटाउनेबारे नेकपा भित्र गोप्य छलफल
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई हटाउन प्रमुख सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेताहरुले गोप्य छलफल अघि बढाएको खबर बाहिरिएको छ । पार्टी स्वार्थ अनुसार काम नगरेको, सत्तारुढ दलका नेताहरुले भनेको अटेर गरेको भन्दै आइजिपी खनालको विकल्पका बिषयमा गोप्य छलफल भएको बताईएको छ ।
नेकपाका उच्च तहका नेताहरु नै प्रहरी महानिरीक्षक खनाललाई आन्तरिक प्रशासन चुस्त राख्न नसकेको, निर्मला पन्त बलात्कार–हत्या, एसिड प्रहार लगायत अपराधमा संलग्नलाई कारबाही गर्न नसकेको, जनतालाई जीउधनको सुरक्षा प्रत्याभूति दिन नसकेको, कालोबजारी नियन्त्रणमा प्रहरी प्रशासन असफल रहेको लगायत आरोप लगाउँदै बर्खास्त गर्ने सोचमा पुगेको बताईएको छ ।
बर्खास्त गर्न तत्काल सम्भव नभए आइजीपी खनाललाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाएर जिम्मेवारीबाट हटाउन सक्ने विषयमा पनि नेकपाभित्र छलफल चलिरहेको उच्च स्रोतले बताएको छ । नेकपाका एक उच्च नेताले भनेका छन–“अपराधसँग सम्बन्धित पछिल्ला केही घटना हेर्ने हो भने आईजीपी खनालको कार्यक्षमतामाथि प्रशस्तै प्रश्न उठेको छ ।”
ति नेताले अगाडी भने–“बलात्कारमा संलग्न अभियुक्त पत्ता लगाउनुको सट्टा उल्टै प्रमाण नष्ट गर्नेलाई नै संरक्षण दिनुले यो नेतृत्वबाट प्रहरी प्रशासन सुधार सम्भव छैन ।” उच्च तहका नेताहरुको योजनामै बिहीबार नेकपा निकट अनेरास्ववियू र अनेरास्ववियू क्रान्तिकारीका अध्यक्षले आईजीपी खनाललाई बर्खास्त गर्नुपर्ने मागसहित गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र बुझाएको ती नेताले प्रतिक्रिया दिएका छन ।
नेकपाकी सांसद तथा अनेरास्ववियूकी अध्यक्ष नविना लामा र अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले संयुक्त रुपमा आइजीपी खनाललाई बर्खास्त गर्न माग गर्दै गृहमन्त्री थापासमक्ष ज्ञापनपत्र बुझाएका हुन् । एमाले र माओवादी केन्द्रबीच एकता भएपछि दुवै पार्टी निकट विद्यार्थी संगठन पनि एकताको चरणमा छन ।
अनेरास्ववियूकी अध्यक्ष तथा सांसद लामा र अनेरास्ववियू क्रान्तिकारीका अध्यक्ष तामाङले गृहमन्त्री थापा समक्ष बुझाएको ७ बँुदे ज्ञापनपत्रको पहिलो मागमै भनिएको छ–“जनताको जीउधनको सुरक्षामा सिंगो संरचनालाई प्रभावकारी बनाउन असक्षम प्रहरी प्रमुखलाई बर्खास्त गरियोस ।”
आफू मातहतकै निकाय नेपाल प्रहरीका आईजीपी बर्खास्त गर्नुपर्ने मागसहित ज्ञापनपत्र बुझाउन आएका आफ्नै पार्टी निकट विद्यार्थी नेताहरुलाई गृहमन्त्री थापाले यस विषयमा गम्भीर कुरा गरेर निष्कर्षमा पुग्ने प्रतिक्रिया दिएका छन ।
आईजीपी हटाउने खेल यसअघिको नजिरले पनि त्यति सहज बनाएको भने छैन । तत्कालिन प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दका पालामा गृहमन्त्री रहेका वामदेव गौतमले ध्रुवबहादुर प्रधानलाई आईजीपी बनाएर अच्युतकृष्ण खरेललाई प्रधानमन्त्री कार्यालय तानेका थिए । पछि अदालतले सरकारको उक्त निर्णय उल्टाएपछि खरेल पुनः आईजीपी बनेका थिए ।
प्रहरी महानिरीक्षक खनाललाई बर्खास्त गर्नुपर्ने पार्टी निकट विद्यार्थीको मागबारे नेकपाका प्रवक्ता तथा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ खुल्न चाहेनन । पार्टीको आधिकारिक नीति अनुसार नै ज्ञापनपत्र बुझाएको हो त भन्ने प्रश्नमा प्रवक्ता श्रेष्ठले भने–“हामीले मुख्यमुख्य विषयमा मात्रै वर्गीय संगठनहरुलाई आदेश–निर्देश गर्छौँ, सबै विषय पार्टीबाटै नियन्त्रित हुन्छ भन्ने छैन ।”
यद्यपि प्रवक्ता श्रेष्ठले वर्गीय संगठनका सबै मागबारे पार्टीले हस्तक्षेप गर्नुपर्ने भन्ने नरहेको बताएका छन । उनको यो भनाइबाट पनि आइजीपी खनाललाई हटाउन नेकपा भित्रै छलफल सुरु भएको संकेत गरेको छ ।
‘बुटको ठेक्का नपाएपछि आईजिपीको राजीनामा माग’
प्रहरी प्रधान कार्यालय उच्च स्रोतले भने आईजीपी सर्वेन्द्र खनाललाई बर्खास्त गर्नुपर्ने मागसहितको ज्ञापनपत्र प्रतिशोध साँध्नमात्रै केन्द्रित भएको टिप्पणी गरेको छ ।
उच्च स्रोतले भन्यो–“बुट खरिदका लागि सत्तारुढ दल निकटकै केही ठेकेदारलाई जिम्मा दिन सांसद लामासहितका केही नेताले दबाब दिएका थिए, तर प्रक्रिया नपुगेकालाई ठेक्कापट्टा दिन नसकिने स्पष्ट पारेपछि अहिले त्यसको प्रतिशोध राजीनामा माग्नेसम्म भएको हो ।”
त्यसबाहेक काठमाडौं उपत्यकामा हुने गरेका शृंखलाबद्ध अपराधका घटनामा संलग्न सत्यमान लामालाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेपछि उनलाई छुटाउन सांसद नवीना लामा प्रहरी परिसर काठमाण्डौ पुगेकी थिइन ।
परिसरका तत्कालीन प्रमुख एसएसपी विश्वराज पोखरेलले सत्यमानलाई जिल्ला प्रशासन कार्यालयमा पठाएपछि काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी केदारप्रसाद शर्माले सांसद लामाकै जिल्लामा लगेर सत्यमानलाई छाडिदिएका थिए ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट छुटेपछि सत्यमानलाई महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी धीरजप्रताप सिंहले अवैध डलर कारोबार आरोपमा पक्राउ गरेका थिए ।
सत्यमान पक्राउ परेपछि नवीनाले आइजिपी खनाललाई फोन गरेर छोडिदिन आग्रह गरेकी थिइन । तर महाशाखाले नै सत्यमानलाई जिल्ला अदालतबाट अनुसन्धानका लागि समय लिएपछि उनी आइजिपी खनालसँग रिसाएकी थिइन ।
अखिल अध्यक्ष लामाले विगतदेखि नै सत्यमानको संंरक्षण गर्दै आएकी छन भने अहिले अर्का विद्यार्थी नेता तामाङसमेत त्यसमा सहभागी भएका छन । यही बिषयको प्रतिशोध लिन पनि नविना लामाको समुहले आइजिपीलाइ हटाउन पार्टीमा व्यापक लविङ सुरु गरेको बताईएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्