सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

जन्मियो नेकपाको नयाँ गुट, नेपाल र श्रेष्ठको नेतृत्व

तत्कालिन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपामा प्रस्ट देखिने गरी नयाँ गुटको जन्म भएको छ । नयाँ गुटको नेतृत्व वरिष्ठ नेता माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले गरेका छन् ।

तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकतापछि नेकपाले चयन गरेको प्रदेश पदाधिकारी विधि, प्रक्रिया र पद्धतिप्रति नेपाल र श्रेष्ठले चर्को आलोचना गर्दै आएका थिए ।

उनीहरूले सोमबारको सचिवालय बैठकमा सचिवालयको अघिल्लो निर्णय सदर गर्न गरिएको निर्णयमा ‘नोट अफ डिसेन्ट’ लेखेर पार्टीभित्र नयाँ गुटको जन्म दिएका हुन् ।

बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले कमजोरी सच्याउने प्रतिबद्धता व्यक्त गरेपछि पार्टीमा बल्झेको विवाद साम्य भएको जस्तो देखिए पनि नेपाल र श्रेष्ठले असहमति जनाएका छन् ।

एक महिनाअघि असोज ५ मा बसेको सचिवालय बैठकले सातवटै प्रदेशका इन्चार्ज, सह–इन्चार्ज, अध्यक्ष र सचिव चयन गरेको थियो । वरिष्ठ नेता नेपाल र नेता श्रेष्ठ विदेशमा भएका बेला गरिएको निर्णय विधि, प्रक्रिया र पद्धतिविपरीत भएको भनाइ दुवै नेताको रहेको छ ।

सोमबारको बैठकले सो निर्णय नउल्ट्याए पनि सो विषयमा पार्टीको स्थायी कमिटी बैठकमा छलफल गर्ने ऐजेन्डा बन्ने भएको छ । पुरानै निर्णय कार्यान्वयन गर्ने सहमतिसँगै नेपाल र श्रेष्ठले लिखित रूपमा असहमति जनाएपछि स्थायी कमिटी बैठकमा त्यसबारे छलफल हुने भएको छ ।

नेकपाको स्थायी कमिटी बैठक कार्तिक १२ र १३ मा बस्ने तय भएको छ । नेताद्वय नेपाल र श्रेष्ठले पार्टी एकतासम्बन्धी सबै निर्णय सर्वसम्मत गर्ने भनिए पनि सो नियम अध्यक्षद्वय ओली र दाहालले नै उल्लंघन गरेको दाबी गर्दै पार्टी विधि, प्रक्रिया र पद्धति सम्मत रूपमा चल्नुपर्ने माग गरेका छन् ।

पार्टीको अन्तरिम विधानको धारा ३८ (ग) उल्लंघन गर्दै नेतृत्व अघि बढेपछि आलोचना सुरु भएको हो । नेकपाका एक नेताका अनुसार नेताद्वय नेपाल र श्रेष्ठले ‘नोट अफ डिसेन्ट’ लेखे पनि त्यसलाई सार्वजनिक नगर्ने सहमति बैठकमा भएको थियो । नेताका बीचमा सहमति भए पनि प्रदेश पदाधिकारी चयनका विषयमा स्थायी कमिटी बैठकमा छलफल हुनेछ ।

पार्टीको तल्लो कमिटी, जनवर्गीय संगठनको एकता कार्यविधि, प्रक्रिया र मापदण्डअनुसार गर्ने अध्यक्षद्वय ओली र दाहालले बताएका छन् । एकताको बाँकी काम सहमतिकै आधारमा टुंगो लगाउने बताएपछि स्थायी कमिटीको बैठकमा ठोस प्रस्ताव प्रस्तुत गर्ने सहमति भएको छ ।

प्रदेश र जिल्ला एकीकरण सम्बन्धी थप मापदण्ड टुंग्याएर स्थायी समिति बैठकबाट निर्णय गर्ने, नेताहरूलाई दोहोरो कार्यकारी भूमिका हुनेगरी कार्यविभाजन नगर्ने सहमति विपरीत सचिवालयले निर्णय गरेको, आफूहरू विदेश भ्रमणमा जानुअघि अध्यक्ष ओलीसँग सल्लाह गरेर एकतासम्बन्धी बाँकी निर्णय गर्ने सहमति भएपछि पार्टीमा असन्तुष्टि बढेको हो ।

नेताद्वय नेपाल र श्रेष्ठले अध्यक्षद्वयको पार्टी सञ्चालनका साथै सरकारको कार्यशैलीप्रति पनि प्रश्न उठाएका छन् । यी सबै विषयका बारेमा छलफल हुनुपर्ने माग गर्दै नेपाल र श्रेष्ठ स्थायी कमिटी बैठकमा दरो रूपमा कुरा उठाउने तयारीमा जुटेको एक नेताले बताएका छन् ।

नेपाल र श्रेष्ठले विधि, प्रक्रिया र पद्धतिको कुरा उठाए पनि ओली र दाहाल बचाउमा उत्रेका छन् । गल्ती नदोहो¥याउनेगरी सहमति एवं पार्टीको निर्णयबाटै अघि बढ्ने भन्दै उनीहरूले विवादलाई थामथुम पार्न खोजेका छन् । विवाद मिल्दै जान्छ या झन बल्झिन्छ त्यो भने स्थायी कमिटिको निर्णयपछी थाहा हुनेछ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्