कान्छिले जब दिल्लीमा भारुसँग बैँस साट्न थालीन
बालकै देखिन्छिन उनी । शरीरले किशोरावस्थाको आकार समेत लिइसकेको छैन । गहुँगोरो वर्ण, होचो कद र पातलो शरीर १ गामबेसी गर्दाको पहिरन ! फुंग उडेको मुहार ! बैंसालु उमेरमा आउनुपर्ने चमक छैन ।
माइती इन्डियाकी इन्चार्ज इन्दिरा पाण्डे र नेपाली जनसम्पर्क समिति, भारतका अध्यक्ष बालकृष्ण पाण्डेको पहलमा कान्छी (नाम परिवर्तन) भारतको नयाँ दिल्लीस्थित जिबीरोडबाट हवाई मार्ग भएर नेपाल फर्काइँदै थिइन ।
असोज ६ गते दिउँसो नेपाल एयरलाइन्सबाट त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा उत्रँदा उनका वृद्धावस्थाका बाबु पनि सँगै थिए । बाबुछोरीका मनभित्रका असन्तुष्टि मुहारमा झल्कन्थ्यो । उतै बसेर अँझ पैसा कमाउने महत्वाकांक्षाले नछाडेकाले भनिन, ‘फर्काएर के भो म फेरि गइहाल्छु’ शरीर नेपालमा पुगिसक्दा कान्छीको मन दिल्लीमै थियो ।
मुख दिल्लीतर्फ मोड्न नछाड्दा माइती इन्डिया र प्रहरीले कान्छीलाई अब नेपाल नछाड्न कडा निर्देशन दिनुपरेको थियो । घरपरिवारकै सहयोगमा कान्छी दिल्ली पुगेकी थिइन । बाबुले समेत रोकेका रहेनछन कान्छीलाई । उल्टै सहयोगी भूमिका खेलेका रहेछन ।
कहिले विद्यालय नटेकेकी उनले अक्षर चिन्ने र लेख्न जान्ने कुरै भएन । तर, नुवाकोटको दुर्गम गाउँबाट दिल्लीको जिबीरोडस्थित गल्लीको कोठीसम्म पुगेको घटना उतिकै रोचक छ । भूकम्पबाट नुवाकोटस्थित कान्छीको घरसमेत भत्कियो । तीन दिनसम्म भत्किएको घरभित्र पुरिएकी उनकी आमाको जिउँदै उद्धार भयो ।
काठमाडौंमा उपचारका लागि ल्याउँदा कान्छी साथमा आइन । उपचारका क्रममा पैसाको कमी हुँदै गयो । होटलमा भाँडा माझ्ने काम गर्न थालिन उनले । मासिक तीन हजार कमाइ हुन्थ्यो । दुई महिनामात्र भएको थियो उनले काम गरेको । कान्छीलाई एकजना महिलाले लोभ्याइन ।
ती महिलाले भारतमा काम गर्दा निकै पैसा कमाइने सुनाइन । गरिबीले थिचिएकी कान्छी लोभिइन । परिवारका सदस्यको सहयोगमा २०७२ सालको दसैं अगावै उनी सीमा काटिन । चिनेजानेका चारजना दिदीहरू उनको साथमा थिए । उनीहरूकै साथमा रक्सौलबाट रेल चढेर दिल्लीस्थित जिबी रोड पुर्याइयो कान्छीलाई ।
यौनकर्मी बन्दा उनी किशोरावस्था पनि टेकेकी थिइनन । कलिलै उमेरमा उनले जिबी रोडको गल्लीभित्रको कोठीमा शरीरसँग भारु साट्न थालिन । कलिली भएकीले दिल्लीको यौनबजारमा उनको माग बढ्यो । विपन्न परिवारकी कान्छीका लागि त्यहाँको कमाइ ठूलै थियो ।
फर्कंदा उनले कानमा लगाएका सुनका मुन्द्रीले पनि कमाइ झल्कन्थ्यो । लस्करे सुन कानभर लगाएकी कान्छीले कमाइबाट निकै सुन खरिद गरेको सुनाइन । केही सुन उद्धारका क्रममा प्रहरीले लुकाएको दाबी गरिन ।
उनी दिल्लीको कोठीमा मात्र सीमित भइनन । मुम्बई र पुनासम्मको यौनबजारमा लगिन्थिन कान्छी । जिबी रोडमा प्रतिदिन दुईदेखि पाँच हजार भारुसम्मको कमाइ हुने उनले सुनाइन । दिल्लीबाहिर जाँदा त्यो भन्दा बढी कमाइ हुन्थ्यो ।
कान्छीका आफन्त पनि दिल्लीको यौन बजारमा सक्रिय छन । तीन वर्षसम्म प्रहरी र महिला उद्धारकर्ता पुग्दा उनीहरूकै कारण कान्छी लुकाइएकी थिइन । उनले भनिन, ‘प्रहरी आउँदा हामीलाई लुकाइन्थ्यो ।’
आफूजस्तै साना उमेरका युवती करकापमा राखिएको सुनाउँदै तिनको उद्धार गर्न चुनौती भएको बताउँछिन् कान्छी। उनी भन्छिन, ‘मनखुसी गएका हामीलाई फर्काउनुभन्दा करकापमा राखिएकालाई फर्काउनुहोस न !’ दिल्लीको अदालतले फर्काउन आदेश दिएपछि मात्र कान्छीको नेपाल फिर्ती सहज भएको हो ।
नत्र उनलाई कोठीमै फर्काउन यौनबजारका युवती तस्करीमा संलग्न संगठित समूह सक्रिय थिए । जुन असफल भयो । अदालती प्रक्रियामा सो समूहले गरेको खर्च खेर गयो । कान्छीलाई घर फर्काइयो ।
कान्छीको दिल्लीको यौन बजारमा भएको कमाइ घरमा आइरह्यो । तीन वर्षसम्म कमाएको र जोगाएको पैसाले उनले सुन खरिद गर्नुका साथै घरखर्च समेत पठाइरहिन । बेलाबेलामा बाबु आफैं पुगेर पैसा लिइआउँथे । कान्छीको कमाइले बाबुआमाको खर्च टरेको थियो ।
सुनको अन्डा पार्ने कुखुरी सोचेका थिए बाबुआमाले । त्यसैले, कान्छी फर्काइँदा बाबुमा खुसीभन्दा दुःखको संकेत मुहारमा पढ्न सकिन्थ्यो । पैसासँग चेलीको शरीर साट्ने पितासँग घर लागिन कान्छी । प्रहरीसामु भनिन, ‘बाले कोठीमा पुर्याएका होइनन, आफैं गएकी !’
तस्करको सञ्जाल पनि देखाइनन उनले । अब फेरि यौन बजारमा नपुग्ने ओठे जवाफ दिएर नुवाकोटस्थित गाउँ फर्केकी छिन कान्छी । तर उनले उद्धारकर्ताकै सामुन्ने फेरि फर्किहाल्छु भनेकी छिन । मानव तस्करको शैली र कलिला युवती आकर्षित गर्ने रणनीति बदलिइसकेको छ । कान्छी एउटी पात्र हुन । कान्छीहरू यौनबजारतर्फ आकर्षित भइरहेका छन ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्