डिआईजी शुशिल भण्डारीको मृत्यु शंकाको घेरामा
मण्डनदेउपुर नगरपालिका–६, भांगेटारमा भएको सवारी दुर्घटनामा नेपाल प्रहरीका बहालवाला नायब महानिरीक्षक (डीआईजी) सुशीलकुमार भण्डारीको मृत्युपछि नयाँ विषयको रहस्योद्घाटन भयो, उनको ‘अवैध लगानी’ ।
एक महिनाको बिदा स्वीकृत गराएर विदेश जाने तयारीमा रहेका उनी अघिल्लो दिन आफ्ना ‘व्यावसायिक साझेदार’ सँग नयाँ व्यवसायमा लगानी गर्न काभ्रेको मण्डनदेउपुर पुगेका थिए । तर त्यहीं उनको जीवनकै अन्त्य भयो ।
काभ्रे प्रहरीलाई सुइँको समेत नदिई पुगेका उनी दुर्घटनामा पर्दासमेत प्रहरीलाई ‘डीआईजी’ हुन् भन्ने जानकारी भएन । डीआईजी भण्डारीसहित ३ जनाको ज्यान जाने गरी भएको दुर्घटना ‘शंकास्पद’ भएको भन्दै प्रहरीले अनुसन्धान थालेको छ ।
कात्तिक १० गते मण्डनदेउपुर–६ मा भएको दुर्घटना उनीसहित पत्रकार जीवन पराजुली र नेपाल ट्रेड युनियन कांग्रेसका प्रदेश ३ का अध्यक्ष विनोद कार्कीको मृत्यु भएको थियो ।
‘शंकास्पद लागेर थप अनुसन्धान थालेका छौं,’ काभ्रे प्रहरी प्रमुख एसपी रविराज खड्काले भने, ‘दुर्घटना वा योजनाबद्ध हो भन्ने अनुसन्धानपछि पत्ता लाग्ला ।’ काभ्रे प्रहरीले डीएसपी दीपक गिरीको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको उनले बताएका छन् ।
आइतबार प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत, एसपी खड्का, पत्रकार महासंघ लगायत सरोकारवालाको टोली ‘अवलोकन’ का लागि घटनास्थल पुगेको थियो ।
घटनास्थलमा हाइटेन्सन लाइन छुने अवस्था नरहेको, सहज हुँदा पनि लिक छोडेर ‘लापरबाहीपूर्ण’ तरिकाले गाडी चलाएको टोलीले पाएको थियो । ६ जना चढेको निजी गाडी व्यवसायी प्रदीप बोगटीले चलाएका थिए । घाइतेमध्ये २ जना डिस्चार्ज भइसकेका छन् ।
आफ्नै आग्रहमा धुलिखेल अस्पतालबाट डिस्चार्ज भएका बोगटी प्रहरीको सुरक्षामा ललितपुरस्थित बीएन्डबी अस्पतालमा उपचार गराइरहेका छन् । काभ्रेका विभिन्न क्रसर उद्योगमा उनको लगानी पाइएको छ । स्रोतका अनुसार डीआईजी भण्डारीले आफन्तका नाममा बेथानचोक गाउँपालिकामा रहेको चलाल गणेश रोडाढुंगा उद्योगमा अप्रत्यक्ष लगानी गरेका थिए ।
मंगलटारका जनक लामा, नलिन्चोकका रवीन्द्र केसी, काठमाडौंका मनोज सिग्देल, स्थानीय नजर कार्की, किरण कार्की, राजाराम कार्की, काठमाडौंका तुलसी पोखरेल, बले, काले दाइ भनिने व्यक्ति र काठमाडौंका ध्रुव केसीसहित १० जना साझेदार छन् ।
‘हिसाबकिताब गर्न उनी आफैं आउँथे, तर वैधानिक रूपमा देखिएका थिएनन्’ उनी निकट व्यक्तिले भने–‘दिदी वा आफन्तको नाममा सेयर छ ।’ उक्त उद्योग त्यस क्षेत्रकै ठूलो खानी तथा क्रसर मध्येको एक हो ।
उद्योगबाट एक साझेदारले मासिक ८ देखि १० लाखसम्म नाफा गर्थे । खानी र क्रसर दुवै रहेको उद्योगको अध्यक्ष मनोज सिग्देल छन् । सबै साझेदार प्रत्येक शनिबार उद्योगमा आउँथे । स्थानीयका अनुसार डीआईजी भण्डारी आफ्नै गाडी लिएर पनि आउने गरेका थिए ।
दुर्घटनामा घाइते भएका व्यवसायी बोगटी पनि डीआईजी भण्डारीका व्यवसायी साझेदार हुन् । पनौती–१२ मा रहेको दीपलक्ष्मी एग्रिगेट एन्ड माइनिङ प्रालिका साझेदार बोगटी, युद्ध लामा र भण्डारी हुन् । पूर्वएसएसपी सञ्जय सिंह बस्नेतलाई हटाएर भण्डारी साझेदारका रूपमा भित्रिएका थिए ।
भण्डारीकै लगानीमा बेथानचोक गाउँपालिकास्थित चलाल गणेश स्थानमै खानी उत्खननको अनुमतिका लागि कम्पनी खुलेको छ । डीआईजी भण्डारीका अलावा विनोद थापा, सहदेव थापा साझेदार छन् । उत्खननको मात्रै अनुमति भए पनि दैनिक सय टिपर ढुंगा निकाल्ने गरिएको छ ।
व्यवसाय विस्तारकै लागि डीआईजी भण्डारी, व्यवसायी बोगटी, सशस्त्र प्रहरीका पूर्वडीएसपी विनोद गौतम, स्थानीय धनराज पुरी लगायतको टोली मण्डनदेउपुर पुगेका थिए । मण्डनदेउपुर–६ मा पुरीको २७ रोपनी जग्गामा बालुवा खानी सञ्चालन गर्ने उनीहरूको तयारी थियो ।
पलाञ्चोक स्टोन प्रालि नामक कम्पनी खडा भइसके पनि दर्ता भइसकेको छैन । साढे ३ करोडमा स्थापना हुने उद्योगका लागि डीआईजी भण्डारीले २ करोड, पूर्वडीएसपी गौतमले १ करोड र बाँकी ५० लाख बोगटी लगायतले जुटाउने सहमति बनेको थियो ।
सोही जग्गा हेरेर फर्कने क्रममा बोगटीले चलाएको उनको बा३च २८७ नम्बरको निजी जिप दुर्घटना हुँदा भण्डारी, पराजुली र कार्कीको ज्यान गएको हो । डीआईजी भण्डारी र भक्तपुर कटुन्जेका प्रकाशराज देवकोटाको नाममा धुलिखेल नगरपालिकास्थित कुतालमा रहेको ३७ रोपनी जग्गा बनेपास्थित इजी बचत तथा ऋण सहकारी संस्थामा धितो राखेर १६ लाख ऋण निकालेका थिए ।
यसअघि सिभिल बैंकमार्फत सोही जग्गा धितो राखेर ८० लाख ऋण निकालेर समयमै तिरेका उनीहरूले थप पैसा आवश्यक भएपछि उक्त सहकारीमार्फत लिएका थिए । करिब ११ लाख तिर्न बाँकी रहेको स्रोतले बताएको छ ।
सानो हिसाब भएकाले तत्काल चुक्ता गर्ने प्रतिबद्धता जनाएका भण्डारीको दुर्घटनामा मृत्यु हुन पुग्यो । त्यस क्षेत्रमा बालुवा खानी सञ्चालन गर्दै आएका एक व्यक्तिले दिवंगत भण्डारीले डेढ दर्जन टिपर सञ्चालन गरेको बताए । स्थानीय र प्रहरीले अवरोध गर्दा उनी आफैंले फोन गरी दबाब दिने गरेका थिए ।
खानी तथा क्रसरमा अन्य प्रहरी अधिकृतको पनि लगानी
काभ्रेमा खटिएका अन्य प्रहरी अधिकृतको पनि खानी तथा क्रसरमा लगानी भेटिएको छ । काभ्रे ट्राफिक प्रहरी प्रमुख रहेर काम गरेका तत्कालीन इन्स्पेक्टर सुकदेव खनाल (हाल डीएसपी)ले पनि श्रीमतीका नाममा क्रसर उद्योगमा लगानी गरेको भेटिएको हो ।
श्रीमती उषा पोखरेलको नाममा उनले एसएस रोडाढुंगा उद्योगमा लगानी गरेका छन् । श्याम सुन्दर श्रेष्ठ, सौगात बस्नेत, राजु केसी, भगवान बस्नेत लगायत उनका व्यापारिक साझेदार हुन् । डीएपी खनालले आफ्नो र श्रीमतीको नभई ‘आफन्त’ को लगानी भएको स्विकारेका छन् ।
जिल्लामा रहेका क्रसर गैरकानुनी रूपमा सञ्चालन भइरहेका छन । बीपी र अरनिको राजमार्ग हुँदै दैनिक टिपर सञ्चालन गर्नुपर्ने भएकाले व्यवसायीले प्रहरीसँग साँठगाँठ गर्दै आएका छन् । प्रहरी प्रशासनबाट जोगिन क्रसर व्यवसायीले जिल्लाका प्रहरी अधिकृतलाई नै साझेदार बनाउने गरेका हुन् ।
‘घूस दिनु पनि नपर्ने, दु;ख पनि नपाइने,’ एक क्रसर सञ्चालकले भने, ‘सेयर दियो, टन्टै साफ ।’ उनीहरूले काभ्रे बस्दा भएको अवैध आम्दानी काभ्रेमा नै लगानी गरेका छन् । काभ्रे आउने अधिकांश प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, स्थानीय विकास अधिकारी र कार्यलय प्रमुखले ‘हावापानी’ राम्रो भन्दै जग्गा जोड्ने गरेका छन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्