सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

बाली खाएर सताउने बाँदरलाई पर्वतमा झ्यालखाना

जब बाँदर पल्कन्छ, बालीनाली सखापै पार्छ । पर्वतको महाशिलामा बाँदरले आतंक मच्चाएपछि गाउँसभाले नियन्त्रण गर्न संकल्प प्रस्ताव नै पारित गर्यो । ३० लाख रुपैयाँ वार्षिक बजेट विनियोजन गर्यो । र, साउन यता दुई सय तीन बाँदर नियन्त्रण गरिसक्यो ।

सबै वडामा बाँदरले खेती नाश गरेपछि नियन्त्रण गर्न जनप्रतिनिधिले सुरुमा हस्ताक्षर संकलन गरे । त्यसपछि गाउँसभामा संकल्प प्रस्ताव लगे । त्यो सर्वसम्मत पारित भयो । गाउँपालिका अध्यक्ष राजु पौडेलले भने–‘अनि हामीले तत्कालै भारतबाट बाँदरविद् बोलाएर नियन्त्रण थाल्यौं ।’

अध्यक्ष पौडेलका अनुसार बाँदरले बालीनाली सखाप पारेको गुनासो गाउँलेबाटै आएपछि महाशिलाले यस्तो योजना बनाएको हो । गाउँपालिकाका प्रवक्ता जीवनविक्रम उच्चैले भने–‘दोस्रो गाउँसभाबाट बजेट छुट्ट्यायौं । ६ वटै वडामा बाँदर नियन्त्रण अभियान चलाइरहेका छौं ।’

दोस्रो गाउँसभाले बाँदर नियन्त्रणको संकल्प प्रस्तावसहित ३० लाख रुपैयाँ छुट्याएको थियो । गाउँसभाले भारतीय नागरिक, स्थानीय र प्रहरी गरी बाँदर समात्न २० जना परिचालन गरेको छ । समातिएका बाँदरलाई पाखापानीमा सुरक्षित खोर बनाएर जेलमा जस्तै गरी थुनेर राखिएको छ ।

तिनलाई बर्दिया राष्ट्रिय निकुञ्जमा लैजाने गाउँपालिका र निकुञ्जबीच कुराकानी भएको उच्चैले बताएका छन् । उनले भने–‘प्रदेश सरकार, वन विभाग, मन्त्रालय लगायत दर्जनभन्दा बढी निकायको सहमति आवश्यक पर्ने भएकाले पठाउन सकिएको छैन ।’

बाँदर समातिएपछि बालीनाली जोगिए पनि यिनीहरूलाई दैनिक पालनपोषण गर्न, दानापानी खुवाउन र औषधोपचार गर्न समस्या परेको प्रवक्ता उच्चैले सुनाए । पक्रिएका बाँदरलाई खुवाउन दैनिक दानापानी स्थानीयले फलफूल, मकै, धान, तरकारी र आलु सहयोग गर्दै आएका छन् ।

अध्यक्ष पौडेलले भने–‘समातिएका बाँदरलाई खुवाउन दैनिक ५० किलोग्राम भन्दा बढी खाद्यान्न आवश्यक पर्छ ।’ बाँदर नियन्त्रणमा लिन दैनिकजसो कर्मचारी परिचालित हुने गरेका छन् । उनीहरूले आधुनिक प्रविधिको पासो प्रयोग गरी बाँदर नियन्त्रणमा लिँदै आएका छन् ।

गाउँपालिकाका ६ वटै वडामा गरी हजारभन्दा बढी संख्यामा बाँदर रहेको अनुमान छ । भोक्सिङ, लुङ्खु, बालाकोट, पाखापानी र होश्राङ्दीमा बाँदरले मकै, कोदो, गहुँ, धान, फलफूल र तरकारी बाली सखाप पार्ने गरेको महाशिला–५ की स्थानीय सरस्वती अधिकारीले बताइन् ।

महाशिलाको साढे ४९ वर्ग किमि क्षेत्रफलमध्ये करिब २५ वर्ग किमि खेतीयोग्य जमिन छ । बाँदर आतंककै कारण केही वर्षयता कतिपय किसानले बाली लगाउन समेत छाडेका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्