सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

बैंकक जान हिँडेका मुख्यमन्त्री एकाएक अमेरिकामा

घाँटीको गद्र्धनमा समस्या आएको भन्दै उपचार गर्न थाइल्यान्ड जान्छु भनेर हिँडेका प्रदेश १ का मुख्यमन्त्री शेरधन राई सुटुक्क अमेरिका पुगेपछी अहिले यो खबरले नेपाली मिडियामा खुबै चर्चा पाएको छ । नियम विपरित मुख्यमन्त्री जस्तो व्यक्ति सुटुक्क अमेरिका पुग्नु र सो बिषयमा समाचार लेखेकै कारण पत्रकार कुट्नुले उनको चौतर्फी आलोचना भएको छ ।

प्रदेश छाडी देशभित्रै पनि हिँडडुल गर्न संघीय सरकारको अनुमति लिनुपर्ने नियम छ । कात्तिक १६ गते बैंकक प्रस्थान गरेका राईले अमेरिका जान संघीय मन्त्रिपरिषद्सँग अनुमति लिएका छैनन् । उनको भ्रमणबारे ‘जानकारी नभएको’ परराष्ट्र मन्त्रालयले जनाएको छ ।

‘निजी खर्चमा उपचार गर्न थाइल्यान्ड जान लागेको पत्रपत्रिकामा पढेको थिएँ,’ परराष्ट्रका एक अधिकारीले भने, ‘उपचारै गर्नका लागि त परराष्ट्रलाई सोधिरहन पर्दैन ।’

परराष्ट्रले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको भ्रमणको प्रोटोकल सिधै हेर्दै आएको छ । देश संघीय संरचनामा गएपछि प्रदेशका मुख्यमन्त्रीहरूको भ्रमण के गर्ने भन्ने व्यवस्था नबनिसकेकाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सिफारिसमा परराष्ट्रले आवश्यक प्रबन्ध गर्दै आएको छ ।

थाइल्याण्ड जान्छु भनि हिँडेका मुख्यमन्त्री राई अमेरिका भ्रमणमा गएको लगायतका बिषयमा समाचार प्रकासन गरेपछी उनका सहयोगिले समाचारको विषयलाइ लिएर न्युयोर्कमा पत्रकार समेत कुटेका छन् । उपचारका लागि भन्दै थाइल्याण्डको बैकक हिँडेका मुख्यमन्त्री एकाएक अमेरिका पुगेका हुन् ।

हाल न्युयोर्कमा रहेर पत्रकारिता गर्दै आएका लोकमणी राइले फेसबुक स्टाटस लेख्दै समाचार लेखेकै विषयलाइ लिएर आफु मुख्यमन्त्रीको सहयोगिको साथिद्वारा कुटिएको दावी गरेका छन् । प्रधानमन्त्रीलाई कालो झण्डा देखाउने संस्था र अगुवाहरुले नै मुख्यमन्त्रीलाई स्वागत गरेको समाचार लेखेपछी पत्रकार कुटिएका थिए ।

राइले स्टाटसमा लेखेका छन्–‘नेपालको प्रदेश १ का मुख्यमन्त्री शेरधन राइको समाचार लेखेको विषयलाइ लिएर उनका निकटतम सहयोगि पारूहाङ राइको सोल्टी उमेस राइले अमेरिकामा मार्ने उद्देश्यले एक घण्टा अघि हमला गर्याे । कुन अस्पताल ल्यायो थाहा छैन । अपराधीलाइ कानुनको दायरामा ल्याउन सहयोगको अपिल गर्दछु ।’

नेपालमा रहँदा कान्तिपुर दैनीकमा कार्यरत लोकमणी राइ अहिले अमेरिकाबाट सन्चालनमा आएको बीआरटी नेपाल डट कममा सम्पादक छन् । अचानक अमेरिका गएका मुख्यमन्त्री शेरधन राइलाइ नेपाल आदीवासी जनजाती महासंघ अमेरिका र प्रवासी मन्चले न्युयोर्कमा स्वागत गरेका थिए ।

सोही विषयलाइ लिएर राइले ‘पिएमलाई कालो झण्डा सिएमलाई सम्मान’ शिर्षकमा समाचार लेखेका थिए । ‘ज्याक्सन हाइटको माहौल र न्यू योर्कको तापक्रम चरित्रका हिसावले उस्तैउस्तै लाग्छन् । तात्ने, सेलाउने । र, त्यसको टुंगो नहुने । यसपटक भने फिप्ना र मञ्चको गठबन्धनले मानिस आश्चर्यमा समेत परेका छन् । किनभने यो गठबन्धनले केही सैद्धान्तिक तथा नैतिक प्रश्न समेत खडा गरेको छ ।

अलिकति विगत कोट्याउँ । गत सेप्टेम्वर अन्तिम साता नेपालका प्रधानमन्त्री केपी ओली अमेरिका आएका थिए, संयुक्त राष्ट्रसंघको ७३ औँ महासभा सम्बोधन गर्न आएका । उनले महासभामा शान्तिपूर्ण रुपान्तरण भएको, नेपालको संविधान प्रजातान्त्रिक भएको र त्यसले सबैको भावना समेटेको दाबी गरिरहँदा बाहिर उनलाई विभिन्न संघसंस्थाले विरोध स्वरुप धर्ना दिइरहेका थिए ।

त्यसरि विरोध गर्ने मुख्य संस्था फिप्ना थियो जसको मुख्य माग पहिचानमा आधारित ११ प्रदेश, विभेद हटाउन संविधान संशोधन र २६ थारु बन्दीको रिहाइ थियो । अमेरिका बस्ने थुप्रै देशका नागरिकले महासभा सम्बोधन गर्न आएका आफ्नो देशको राष्ट्र/सरकार प्रमुखलाई झाँकीसहित स्वागत गरिरहेका थिए ।

नेपालका प्रधानमन्त्री ओली भने विरोधका सामना गरिरहेका थिए । त्यतिबेला सरकार प्रमुखका रुपमा प्रधानमन्त्री ओलीको मनोदशा कस्तो बनेको थियो होला ? त्यो घटनाको डेढ महिना नपुग्दै फिप्नाले उनी संलग्न दल नेकपाबाटै प्रदेश १ को मुख्यमन्त्री बनेका राईलाई सम्मान गर्दैछ ।’

त्यसै अधि मन्त्रीपरिषदको स्वीकृति विना अमेरिका भ्रमणमा आएको भन्दै अर्काे समाचार लेखेका थिए । राइले बीआरटी नेपालमा लेखेका थिए–‘निमित्त वाणिज्य दूत भट्टराईले प्रदेश एकका मुख्यमन्त्री राईलाई स्वागत गरेको बताए । ‘मुख्य मन्त्रीज्यू आउने भन्ने जानकारी पाएपछि स्वागत गर्न गएँ,’ उनले भने ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार मुख्यमन्त्री राई उपचारका लागि थाइल्याण्डको बैंकक पुग्ने निर्णय मात्र भएको छ । ‘निजी भ्रमण भए पनि मुख्यमन्त्री जस्तो मान्छे क्याबिनेटको निर्णय बिना अन्य देश जान मिल्दैन,’ परराष्ट्रका ती अधिकारीले भने, ‘यसरी बिना निर्णय अर्को देश भ्रमण गर्नु कूटनीतिक आचारसंहिता विपरीत छ ।’

टेलिफोन सम्पर्कमा आएका राइले बिहिवार राती तिहारको देउसी भैलो कार्यक्रमको समाचार संकलन गर्न गएको बेला उमेस राइले आफुमाथि हातपात गरेको बताएका थिए ।

टेलिफोनमा उनले भनेका छन्–‘नेपाल किरात राइ एसोसिएशन अमेरिकाले देउसी भैलो कार्यक्रम राखेको थियो त्यसैको समाचार संकलनका लागि गएको थिएँ, हल बाहिर निश्किएको बेलामा खोटाङ लिकुवा स्थायी घर भएका उमेसले जे पायो त्यही समाचार लेख्ने भन्दै मुक्का हाने, त्यस पछि मैले पुलिस बोलाएँ ।’

न्युयोर्कमा रहेका विभिन्न व्यक्तिहरूले अहिले आफुलाइ पुलिस केस फिर्ता लिन दवाव दिएको पनि राइले बताएका छन् । ‘म भर्खर अस्पतालबाट घर तिर जाँदै छु, तर केही अगुवाले अस्पतालमा नै आएर केस फिर्ता लिन दवाव दिएका छन् । अलि तनावमा छु ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्