सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

हिउँले सेताम्मे हुने पहाड फुस्रा र काला पत्थर मात्रै

पहिले हिउँले सेत्तै हुने गाउँमाथिको हिमाल नांगो भएको छ । हिउँले सेताम्मे हुने मानेडाँडा अनि पानीपाखा फुङ्ग उडे जस्ता देखिन्छन् । हेर्दै बैराग लाग्ने । यस्तो भएको झन्डै ८ वर्षजति भयो स्थानीय मोहनबहादुर कार्की भन्छन्, ‘हिउँ परिहाल्यो भने पातलो पर्छ, एकैछिनमा बिलाएर गइहाल्छ ।

रामेछापको चुचुरे शिवालयबाट देखिने हिमशृंखला कालै देखिन्छन् । हिउँ परेका बेला बालीनाली राम्रो हुन्थ्यो । माटोमा चिस्यान भए जमिन पनि उब्जाउ हुन्छ । यो वर्ष यतिबेलासम्म पानी परेको छैन । पानी र हिउँ नपर्दा माटो चिसो हुन पाएन । बाली सप्रेको छैन ।

हिउँ पर्दा केही दिन जाडो हुन्थ्यो । अहिले सबै दिन जाडो छ । पानी परेको भए चर्को घाम लाग्थ्यो । पानी नै पर्न सकेन स्थानीय डुक्पा शेर्पा भन्छन्, ‘मौसम चिसो छ, जमिन धूले । मौसम परिवर्तनको असर यही होला ।’

गुम्देल, वाम्ती, चुचुरे, प्रीति, कुभुकास्थली, रस्नालु, ठोसेलगायत उच्च क्षेत्रमा यो वर्ष हिमपात भएको छैन । गहुँ वा आलु जस्ता बालीलाई पानी चाहिने बेला जमिन सुक्खा भएकाले किसान खिन्न छन् । डुक्पा शेर्पाले भने–‘हरेक दिन बढ्दै गएको चिसो सकिन पनि पानी पर्नैपर्ने थियो तर परेन ।’

रामेछापको गोकुलगंगा १ चुचुरेबाट देखिने महालंगुर हिम शृंखलाका हिमाली टाकुराहरू । ७/८ वर्षयता हिउँ पर्न छाडेकाले हिमाली चुचुराहरू कालो पहाडमा रूपान्तरण भएका छन् । तस्किर : टीकाप्रसाद/कान्तिपुर

हिमालमा हिउँ नहुँदा खोलानालामा पानीको स्रोत घटिरहेको छ । खिम्ती अहिले नै तर्न सक्ने भइसक्यो । त्यसभन्दा तलका खोला र खोल्सीमा मूलको पानी न्यून छ । ‘यस्तो भइरह्यो भने उच्च पहाडी क्षेत्रमा पानीकै संकट देखापर्न सक्छ,’ स्थानीय निमा शेर्पाले भने, ‘मौसममा यस प्रकारको परिवर्तनले हिमाली जनजीवन प्रभावित भइरहेको छ ।’

चुचुरे मात्र हैन, गुम्देलमा पनि हिउँ झरेको छैन । ‘हिउँ पर्ने बेला यही हो,’ स्थानीय वाङ्छु शेर्पा भन्छन्, ‘तर परेन । गुम्देलमा ८ वर्षअघिसम्म बाक्लै हिउँ झर्ने गरेको थियो । ५/६ फिटै बाक्लो हिउँ झर्ने गथ्र्यो ।’ पहिले चिप्लिँदै खेल्ने गरेको सम्झेरै चित्त बुझाएको उनको भनाइ छ । ‘हिउँमा खेल्ने कुरा अब सम्झना मात्र भयो,’ उनले भने ।

हिउँको साइनो बालीनाली, जमिन र रमाइलोसँग मात्र होइन, सौन्दर्यमा पनि उत्तिकै थियो । ‘हिउँले ढाकेका डाँडाकाँडा सेताम्मे हुँदा रमाइलै अर्कै हुन्थ्यो,’ गुम्देलका काजीछिरी शेर्पाले भने, ‘अहिले जति माथि उक्ल्यो उत्ति फुस्रा र काला पत्थरबाहेक केही देखिँदैन ।’

लामजुरा, जटापोखरी, टारे, पिके, सेर्दिङ, चेर्दुङजस्ता डाँडा पनि सुकेर खङ्ग्रङ्ग छन् । काला डाँडा देखिन्छन्, तिनै डाँडामा हिउँ झर्दा रमाइलो नै बेग्लै हुन्थ्यो,’ शेर्पाले भने, ‘अब ती दिन आउने हुन्, होइनन् ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्