टिपरले ब्याक गरेर मार्यो मोटरसाईकल चालकलाई
सूर्यविनायक नगरपालिका–२ बालकोटमा गए राती करिब ९ बजे एक टिपरले मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालकको मृत्यु भएको छ । ना४ ख ८१८२ नम्बरको टिपरले बा९९प ८२८२ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटर साइकलमा सवार २४ वर्षीय मनोज मगरको घट्नास्थलमै मृत्यु भएको महानगरीय प्रहरी बृत्त थिमिको संचारशाखाले जानकारी दिएको छ ।
तीब्र गतिमा आएको टिपरले बालकोट हुँदै घर जाँदै गरेका महोत्तरी स्थायी घरभई हाल ललितपुरको चाँगाथली विष्णुटोल बस्दै आएका मगर सवार मोटरसाईकललाई बालकोटको मेरिगोल्ड ईङ्गलिस स्कुल अगाडि ठक्कर दिएको प्रतक्ष्यदर्शी राजाराम खत्रीले जानकारी दिएका छन् ।
प्रत्यक्षदर्शी राजारामले भने–“टिपर हुइँकिँदै आयो, बालकोटतर्फ जाँदै गरेको मोटरसाइकलाई ठक्कर दियो, मोटरसाइकल लडेको देखेर हामीले ए ए भन्दाभन्दै टिपरले ब्याक गरेर फेरि किच्यो ।”
प्रहरीले टिपर र टिपर चालकलाई भगाएको प्रतक्ष्यदर्शीले आरोप लगाएका छन् । प्रहरीले टिपर चालकलाई पक्राउ गरेपछि भगाएको स्थानीयको भनाइ छ । स्थानीयले टिपर तोडफोड गर्न लागेपछि प्रहरीले लाठीचार्ज गर्दा बालकोट केहीबेर तनावग्रस्त बनेको स्थानीय अमर श्रेष्ठले बताएका छन् ।
घटनाका कारण कौशलटार हुँदै बालकोट, सिरुटार, बिरुवा, ललितपुरको चाँगाथली, टीकाथली, लुभु, लामाटार जानेहरु बाटोमै अलपत्र बनेका थिए भने बसमा आएका यात्रु रातको समयमा अलपत्र परेका थिए ।
महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले भने ठक्कर दिने टिपरलाई नियन्त्रणमा लिएको र चालक तथा टिपर मालिकबारे जानकारी नआएको बताएका छन् । टिपर चालक फरार रहेकाले खोजी कार्य भइरहेको उनले जानकारी दिएका छन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्