सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

सेना, प्रहरी र न्यायपालिका कब्जा गर्दैछन्ः देउवा

कांग्रेस सभापति शेरबहादुर देउवाले कम्युनिस्ट सरकारबाट सेना, प्रहरी र न्यायपालिका कब्जा हुन सक्ने आशंका व्यक्त गरेका छन् । उनले सुरक्षा र न्याय क्षेत्र कब्जाबाट जोगाउन लोकतन्त्रवादी शक्ति सचेत हुनुपर्ने बताएका छन् ।

डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) को २९ औं स्थापना दिवसमा बुधबार काठमाडौंमा उनले लोकतन्त्रवादीलाई सचेत गराएका हुन् । देउवाले भने–‘सरकारले प्रहरी, सेना र जुडिसियरी कब्जा गरेर अघि जान सक्ने अवस्था छ । लोकतन्त्र जोगाउन सम्पूर्ण नेपाली एक भएर लड्नुपर्ने हुनसक्छ ।’

देउवाले अगाडी भने–‘बोली र बुलेटले लड्नुपर्ने अवस्था आउन सक्छ ।’ उनले सरकारबाट न्यायपालिकामा ठूलो हस्तक्षेप भएको दाबी पनि गरे । उनले भने–‘स्वतन्त्र न्यायपालिका खत्तम पारेर कमिटेड बनाउने र कब्जा गर्ने नियत छ ।’

राणा, पञ्चायत र राजाविरुद्ध लडेको कांग्रेसले लोकतन्त्र बचाउन कम्युनिस्ट सरकारविरुद्ध पनि लड्ने दिन आउनसक्ने चेतावनी पनि उनले दिएका छन् । देउवाले लोकतन्त्र र विधिको शासन रक्षाका लागि बारको आगामी नेतृत्वमा योग्य र सक्षम व्यक्तिको निर्विवाद चयन गर्न पनि सुझाए ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्