सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

रातको बेला स्कुल बस दुर्घटना, १० को मृत्यु, २६ घाईते

डडेल्धुराबाट डोटी जाँदै गरेको एउटा स्कुल बस दुर्घटना हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ । मृतकको संख्या अँझै बढ्न सक्ने उद्धारमा खटिएको प्रहरीले जनाएको छ ।

से १ च २९३ नम्बरको सो स्कुल बस बिहीबार साँझ डडेल्धुरा र डोटी जिल्लाको सीमानामा पर्ने रडुवा नदीमा दुर्घटना भएको हो । केआईसिंह राजमार्ग अन्तर्गत डडेल्धुराको अमरगढी नगरपालिका–११ मा पर्ने रडुवा खोलामा स्कुल बस दुर्घटना भएको हो ।

स्कुल बस भए पनि सर्वसाधारण यात्रु सवार रहेको प्रहरीले बताएको छ । अमरगढीमा लाग्ने उग्रतारा मेला भरेर फर्कने क्रममा बस दुर्घटना भएको प्रहरीको भनाइ छ ।

दुर्घटनामा हालसम्म जानकारीमा आएअनुसार २६ जना घाईते भएको बताईएको छ । घाईतेमध्ये ६ जनाको अवस्था गम्भिर रहेको छ । घाइतेलाई उपचारका लागि उपक्षेत्रीय अस्पताल पठाइएको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिएका छन् ।

राति भएकाले केही घाइतेको उद्धारमा कठिनाइ भएको प्रहरीको भनाइ छ । बस सडकबाट पाँच सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएको छ ।

घाइतेलाई उपचारका लागि आसपासका अस्पतालमा पुर्याइएको छ । घटनाको विस्तृत विवरण भने आउन बाँकी छ । दुर्घटनामा अरु पनि हताहत भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्