सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

सरकारले दिने सस्तो ऋण कहाँबाट कसरी लिने ?

मिहिनेत गर्ने बानी र सिप हुँदाहुँदै पनि पैसाका कारण तपाईंको व्यवसाय गर्ने इच्छा रोकिएको छ? यदि त्यस्तो हो भने तपाईंले सहुलियत व्याजदरमा ऋण पाउनुहुन्छ ।

यस्तो ऋणमा सरकारले नै ५ प्रतिशत व्याज तिरिदिने व्यवस्था छ। त्यसकारण तपाईंलाई यो ऋणको व्याजदर न्यूनतम ३.३३ देखि ९ प्रतिशतसम्म पर्छ ।

यो व्याजदर कति तिर्ने भन्ने कुरा ऋण लिइने बैंकको आधार व्याजदरले तय गर्छ । आधार व्याजदरमा २ जोडेर आउने योगफलमा सरकारले ५ तिरिदिएपछि बाँकी रकम ऋणीले तिर्ने हो ।

राष्ट्रिय वाणिज्य बैंकको आधार व्याजदर अहिले ६.३३ प्रतिशत छ । यो सबभन्दा कम दर हो । यसमा २ प्रतिशत जोडेर सरकारले तिरिदिने ५ प्रतिशतको दर घटाउँदा ऋणीलाई ३.३३ प्रतिशत पर्न आउँछ ।

यदि आधार व्याजदर १२ प्रतिशत भएका बैंकबाट लिने हो भने २ जोडेर सरकारले तिरिदिने ५ घटाउँदा ९ प्रतिशत व्याज पर्न आउँछ । राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सहुलियत पूर्ण ऋणलाई सही रुपमा परिचालन गर्न सक्ने हो भने जीवनस्तर नै कायापलट हुने बताउँछन् ।

बेरोजगार भई समय बर्वादी गर्नुको साटो स्वदेशमा नै व्यवसाय गर्नेगरी योजना बनाई अन्य प्रक्रिया पुर्याएमा सहजै ऋण दिइने श्रेष्ठले बताए ।

कसले के व्यवसाय गर्न पाउँछन् यस्तो ऋण?
विभिन्न उद्यम गर्न यस्तो ऋण पाइन्छ । सरकारले यस्तो ऋणलाई ७ किसिमले वर्गीकरण गरेको छ । ऋणको अधिकतम सीमा ३ लाखदेखि ५ करोडसम्मको छ । कृषि कामलाई अघि बढाउन जो कोहीले ‘व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा’ लिन पाउँछन् ।

परियोजनाको आकारअनुसार अधिकतम सीमा ५ करोडसम्म छ । अन्नबाली, फलफूल, तरकारी, पशुपन्छी पालनका लागि यस्तो ऋण पाइन्छ । सिँचाई तथा सिँचाई उपकरण किन्न, कृषि औजार वा संयन्त्र विकास, वन तथा चरन विकासका लागि ऋण रकम खर्चिन सकिन्छ ।

शिक्षित भइकन पनि बेरोजगार भएका अर्थात कम्तीमा स्नातक तह उतीर्ण गरेका युवाले ‘युवा स्वरोजगार कर्जा’ पाउँछन् । यसको अधिकतम सीमा ७ लाख रुपैयाँ छ ।

यस्तो ऋणबाट युवाहरुले कम्प्युटर हार्डवेयर, सफ्टवेयरसम्बन्धी व्यवसाय गर्न सक्छन् । मोबाइल तथा अन्य इलेक्ट्रोनिक्स सामानको व्यवसाय गर्न सक्छन् । साइबर, खाजा पसल, होटल तथा अन्य व्यवसाय संचालन गर्न सक्नेछन् ।

वैदेशिक रोजगारीबाट फर्केका युवाले १० लाखसम्मको ऋण पाउँछन् । तर विदेशमा कम्तीमा ६ महिना काम गरेको प्रमाण खुल्ने कागजात हुनुपर्छ । यो ऋणलाई वैदेशिक रोजगारीबाट फर्केका युवा परियोजना कर्जा भनेर व्याख्या गरिएको छ । उनीहरुले कृषि, व्यवसायिक तथा सेवामूलक जुनसुकै काम गर्न सक्नेछन् ।

त्यस्तै महिलाहरुका लागि ‘महिला उद्यमशीलता कर्जा’ छ । १५ लाख रुपैयाँसम्म लिन पाइने यस्तो कर्जाबाट महिलाले सिलाइ–बुनाई, चिया तथा चमेना गृह, ब्युटीपार्लर, होटल, कृषि काम लगायत आफूले गर्न चाहेको जुनसुकै व्यवसायका लागि ऋण पाउने छन् ।

त्यस्तै दलित समुदाय व्यवसायिक कर्जाअन्तर्गत १० लाख रुपैयाँसम्म ऋण पाइन्छ । परम्परागत बाजा बनाउन, सुन, चाँदी, फलाम लगायत भाँडाकुँडा उद्योग तथा व्यवसायमा यो ऋण परिचालन गर्न सकिन्छ । जुत्ता, चप्पल तथा कपडा उद्योग लगायत व्यवसाय गर्नका लागि यस्तो ऋण पाइन्छ ।

उच्च तथा प्राविधिक व्यवसायिक शिक्षा लिन ५ लाखसम्मको कर्जा सहुलियत व्याजमा पाइन्छ । स्वास्थ्य, चिकित्सा तथा फार्मेसी सम्वन्धी अध्ययन, कृषि तथा पशु विज्ञानसँग सम्वन्धित अध्ययन गर्न यस्तो ऋण पाइन्छ । सिभिल, इलेक्ट्रिोनिक्स, जियोमेट्रिक, कम्प्युटर सम्वन्धि अध्ययनमा पनि यो ऋण परिचालन गर्न सकिन्छ । यस्तो ऋण सम्बद्ध संस्थाले नै दिइने हो ।

सहुलियतपुर्ण कर्जाका लागी धितो के राख्ने ?
यो ऋण लिन कुनै थप सम्पत्ति धितो राख्नु पर्दैन । अर्थात जुन आयोजना हो, त्यो आयोजना धितो रहन्छ । यदी बाख्रापालन गर्दै हुनुहुन्छ भने ऋणबाट तपाईंले किनेको बाख्रा, अन्य मेसिन सबै स्वतः धितो हुन्छ । ऋण परिचालन गरी किनिएका अन्य सामानहरु समेत धितो हुनेछ । तर ऋण एकैपटक नभई किस्ताबन्दीमा पाइन्छ ।

परियोजनाको बिमा अनिवार्य गरिएको छ । बीमा गराउँदा व्यवसायीले २५ प्रतिशत मात्रै प्रिमियम तिरे हुन्छ । बँकी ७५ प्रतिशत प्रिमियम राष्ट्र बैंकको अनुदान शोधभर्ना खाताबाट बीमा समितिमार्फत सम्वद्ध बीमा कम्पनीलाई हुनेछ ।

कसरी कहाँबाट लिने सहुलियतको ऋण ?
तपाईंलाई पायक पर्ने जुनसुकै वाणिज्य बैंकहरुको शाखाबाट यो ऋण पाइन्छ । सकेसम्म आधार व्याज कम भएको बैंक छान्नु उपयुक्त हुन्छ । बैंकको शाखामा गई कर्जा मागको निवेदन दिनुपर्छ । एउटा बैंक खाता खोल्नुपर्छ, बैंकले दिएअनुरुपको ढाँचामा परियोजनाको प्रस्ताव पेश गर्नुपर्नेछ ।

फर्म दर्ताको प्रमाणपत्र, आन्तरिक राजश्व कार्यालयमा दर्ता भएको प्यान प्रमाणपत्रको प्रतिलिपी, ऋणी र परिवारको नागरिकता प्रमाणपत्रको प्रतिलिपी लगायत आवश्यक कागजात बुझाउनुपर्छ ।

प्रक्रिया पुरा भइसकेपछि निश्चित रकमबाट काम थाल्दै जान सकिन्छ । एकै पटक सम्पूर्ण ऋण नपाइने भएकाले परियोजनाको ढाँचाअनुरुप खर्च हुँदै गएपछि थप रकम पाइँदै गर्छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्