सुर्खेतबाट हराएका ३ किशोरी कसरी पुगे बुटवल ?
गत मंगलबारदेखि स्कुलबाटै हराएका सुर्खेतका तीन बालिका बुटवलमा भेटिएका छन् । प्रहरीको तीव्र खोजीका कारण उनीहरु आइतबार बुटवल बसपार्कमा भेटिएका हुन् । पुस १० गते स्कुलको हाफटाइममा निस्किएका किशोरी घर फर्केका थिएनन् ।
परिवारले खोजीका लागि प्रहरीसँग निवेदन दिएपछि सुर्खेत, नेपालगन्ज र बुटवलका प्रहरी खोजी कार्य तीव्र पारिएको इलाका प्रहरी कार्यालय छिन्छुका प्रहरी निरीक्षक निरज चौलागाईले जानकारी दिए । उनका अनुसार इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले तीनैजनालाई आइतबार बिहान बुटवल बसपार्कमा भेटाएको जानकारी दिएका छन् ।
प्रहरीका अनुसार एकजना अपरिचित व्यक्तिको साथमा बालिका फेला परेका हुन् । बुटवलले सुर्खेतमा बालिका र साथमा रहेका व्यक्तिलाई पठाउने तयारी गरिरहेको छ । बालिकाका साथमा रहेका व्यक्ति को हुन् भन्ने बारेमा अनुसन्धानपछि मात्रै थाहा हुने चौलागाइले बताए ।
सिम्ता गाउँपालिकाको वडा नम्बर ५ आलीमा पर्ने श्री नेपाल राष्ट्रिय माध्यामिक विद्यालयमा पर्दै गरेका खानिखोलाका १४ वर्षीया बालिका निशा सिंह ठकुरी, सोही ठाउँ बस्ने एकै घरका दुई दिदी बहिनी १५ वर्षीया यमुना खत्री र १२ वर्षीया रिचिमा खत्री सँगै बेपत्ता भएका थिए ।
यमुना र निशा कक्षा ९ का छात्रा हुन् भने, रिचिमा कक्षा ७ की छात्रा हुन् । हराएकै दिन सल्ली बजारबाट मिलन विक नामका सवारी चालकले सल्लीबजारबाट आफ्नो गाडीमा छिन्चुमा रहेको आफ्नो घरमा लगेका थिए ।
प्रहरी र परिवारले गाडी चालक मिलनलाई सोधपुछ गर्दा उनले आफूले निशुल्क घरसम्म ल्याएको र रातपरेपछि आफ्नै घरमा खाना खुवाएर बास दिएको बताएका थिए । उनीहरुले बुटवल फुपुको घरमा जाने भनेपछि बुधबार बिहानै छिन्चुबाट नेपालगन्जका लागि १९०४ नम्बरको बसमा मिलनले तीनैजना बालिकालाई चढाइ दिएका थिए ।
छिन्चुको प्रहरी टोलीले कोहलपुर मै पुगेर सोधपुछ गर्दा स्थानीयले बुटवलको गाडीमा चढेको भन्ने जानकारी दिएपछि बुटवल प्रहरीलाई खबर गरिएको थियो । फुपुको घर जाने भनेका बालिका फुपुको घर भने गएका थिएनन् । उनीहरुलाई कसले र्पुयायो भन्ने कुरा अनुन्धानपछि मात्रै थाहा हुने निरीक्षक चौलागाईले जानकारी दिए ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्