वाइडबडी प्रकरणमा रौँ–चिरा केलाइन्छः प्रधानमन्त्री
वाइडबडी विमान खरिद अनियमितता प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओली गहिराइसम्म पुगेर छानबिन गर्ने निष्कर्षमा पुगेका छन् । बहालवाला पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसमेत मुछिएको प्रकरणमा सरकारले जरैदेखि छानबिन गर्ने निष्कर्षमा प्रधानमन्त्री पुगेका हुन् ।
प्रधानमन्त्रीलाई उद्धृत गर्दै एकजना सल्लाहकारले भनेका छन्–‘मन्त्रिपरिषद्का सदस्यलाई कारबाहीका लागि सिफारिस गरेपछि प्रधानमन्त्रीज्यूले चासो नलिने त प्रश्नै रहेन । त्यसैले सरकारले अब वाइडबडी प्रकरणको रौँ–चिरा केलाएर छानबिन गर्छ । कहाँबाट सुरु भयो जिन (वंशानुगत) पत्ता लगाएर सम्पूर्ण कुरा बाहिर आउने गरी छानबिन हुन्छ ।’
ति सल्लाहकारले अगाडी भनेका छन्–‘लहरो तान्दा पहरो गर्जिए गर्जियोस्, त्यसरी छानबिन गरेर जो–जो दोषी ठहरिन्छन्, उनीहरूलाई कडा कारबाही गर्ने पक्षमा उहाँ हुनुहुन्छ ।’
प्रधानमन्त्री ओलीले वाइडबडी अनियमितता प्रकरणमा केन्द्रित रहेर आज संघीय संसद्को बैठकलाई सम्बोधन गर्ने तयारी गरेका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकारले भनेका छन्–‘बिहीबार प्रधानमन्त्रीज्यूले यस विषयमा सरकारको धारणा राख्नुहुन्छ । सम्पूर्ण रूपमा छानबिन गरेर दोषीमाथि कारबाही होस् भन्ने पक्षमा सरकार छ ।’
![](https://everestwall.com/wp-content/uploads/2018/11/kp-oli-baluwatar-1024x681.jpg)
बुधबार सरकारीनिवास बालुवाटारमै बसेर प्रधानमन्त्रीले सम्बोधनको गृहकार्य गर्नुका साथै सुझाबसमेत संकलन गरेका छन् । वाइडबडी अनियमितता प्रकरणमा अहिलेसम्म उठेका सबै प्रश्नको जवाफ दिने प्रधानमन्त्रीको तयारी छ ।
उता पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले भ्रष्टाचार बिरुद्ध पार्टीले कडा कदम चाल्ने प्रतिक्रिया दिएका छन् । उनले भनेका छन्–‘पार्टीले लेखा समितिअन्तर्गतको उपसमितिका तर्फबाट प्रतिवेदन आइसकेपछि कुनै औपचारिक छलफल गरिसकेको छैन । अब लेखा समितिले बैठक बसेर कुनै निर्देशन पनि दिन्छ होला । के निर्णय गर्छ, त्यो पनि हेर्न बाँकी नै छ ।’
प्रवक्ता श्रेष्ठले अगाडी भनेका छन्–‘तैपनि पार्टीको तर्फबाट भन्न सकिने कुरा के हो भने संसद् वा कहीँकतैबाट भ्रष्टाचार पुष्टि हुन्छ भने पार्टी र सरकारले गम्भीरतापूर्वक लिनेछ । भ्रष्टाचारविरुद्ध जे कदम चाल्नुपर्ने हो, त्यो चाल्नेछ ।’
फेसबुकबाट कमेन्ट गर्नुहोस्