तपस्वी मुकुण्डोधारी बमजनको आश्रममा प्रहरीको छापा
तपस्वीका रुपमा चर्चामा आएका रामबहादुर बमजनको सिन्धुपाल्चोकस्थित एउटा आश्रममा प्रहरीको टोलीले छापा मारेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी), जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय नवलपुरको संयुक्त टोलीले बमजनको आश्रममा शुक्रबार बिहानदेखि खोजतलास थालेको हो ।
बमजनका चेलाहरु बस्दै आएको जिल्लाको इन्द्रावती गाउँपालिका–६ बाँडेगाउँस्थित टोड्के जंगलमा रहेको बमजनको आश्रममा फरेन्सिक विज्ञसहितको प्रहरीको टोलीले छापा मारेर खोजतलास थालेको हो । बमजनका एकजना अनुयायीको हत्यापछि गाडिएको स्थानको खोजीमा प्रहरी अहिले जुटेको छ ।
बमजनको आश्रममा केन्द्रीय अनुसन्धान ब्यूरोको विज्ञ टोली, जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख एसपी मुकुन्द मरासिनी र इलाका प्रहरी कार्यालय नवलपुरका इन्सपेक्टरसहितको टोलीले खोजतलास गरिरहेको हो ।
जिल्ला अदालत सिन्धुपाल्चोकबाट आश्रममा खानतलासी गर्न बिहीबार अनुमति मिलेपछि प्रहरीको टोली शुक्रबार बिहान त्यहाँ पुगेको हो । बमजनको आश्रममा आनीसहितका केही अनुयायीको हत्या र बेपत्ता बनाइएको उजुरी परेपछि प्रहरीले अनुसन्धान अघि बढाएको हो ।
यो प्रकरणको अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालयले दुईवटा जिल्ला प्रहरी र केन्द्रीय अनुसन्धान ब्यूरोलाई परिचालन गरेको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले यो प्रकरणको अनुसन्धानका लागि सिआइबीका निर्देशक डिआइजी निरजबहादुर शाही, सिन्धुपाल्चोक प्रहरी प्रमुख एसपी मुकुन्द मरासिनी र उजुरी परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी बुद्धि गुरुङलाई खटाएका छन् ।
![](https://everestwall.com/wp-content/uploads/2018/12/ram-bahdur-bomjan-1024x603.jpg)
रामबहादुर बमजनका अनुयायीमध्ये एक नुवाकोटका सञ्चलाल वाइबा बाँडेगाउँकै आश्रमबाट बेपत्ता भएको उजुरी परेपछि प्रहरीले अनुसन्धान अघि बढाएको हो । रामबहादुर २०७१ असोज पहिलो सातादेखि ६ महिनासम्म यही आश्रम बसेका थिए । उनको यहीँ आश्रममा हत्या गरी गाडिएको अनुमानका आधारमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बमजनका अर्का अनुयायी सुरेश आले पनि यही आश्रमबाट हराएका थिए । त्यसैगरी आनीद्वय डोल्मो र चुन्मा पनि बाँडेगाउँकै आश्रमबाट बेपत्ता भएको उजुरीका आधारमा प्रहरीले खोजी थालेको हो ।
बमजनले आफ्ना अनुयायीहरुलाई यातना दिन लगाउँदा ज्यान गएको बताइएको छ । प्रहरीले यातनाका क्रममा ज्यान गुमाएका सञ्चलाललाई गाडिएको स्थान पत्ता लगाएर शव उत्खननका लागि फरेन्सिक विज्ञ पनि लिएर गएको हो ।
सबैभन्दा पहिले बाराको रतनपुरी जंगलमा तपस्यामा बसेका भनिएका बमजन सुरुबाटै विवादमा परेका थिए । उनीमाथि पुरुष अनुयायीलाई यातना र महिला अनुयायीलाई यौन हिंसा गरेको र ज्यानसम्म लिएको अभियोगसहितका उजुरी प्रहरीमा दर्ता भएका छन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्