सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

सुन्दरमणी र ‘विष्णु माझी’का जुम्ल्याहा छोरा

‘विष्णु माझी’ नेपाली लोकदोहोरी क्षेत्रकी एउटा नक्षत्र हुन भन्दा फरक नपर्ला । लोकदोहोरी क्षेत्रमा उनको श्वर सम्भवत; निर्बिकल्प छ । तर स्वरमा उनको जति जादु छ, त्यति उनको जिवनको वास्तविकता रहश्यमयी छ । उनको यो भुमिगत जिवन स्वेच्छिक हो या बाध्यात्मक यो पनि रहश्यमै छ ।

लोकगायिका विष्णु माझीको बारेमा चौतर्फी चासो र खोजी हुन थालेपछी लामो समययदेखि अघोषित ‘भूमिगत’ जीवन बिताइरहेकी लोकगायिका विष्णु माझीको विषयमा स्याङ्जा प्रशासनले चासो दिएको छ ।

मिडियामा उनको भुमिगत जिवनबारे समाचार आएपछि आफूहरुले उनको स्थिति पत्ता लगाउने प्रयास गरिरहेको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले बताएका छन ।

उनले भनेका छन्–‘मैले अनलाइनखबरमा आएको समाचार हेरेँ, उनलाई श्रीमानले बन्धक बनाएको भनेर पहिलेदेखि नै हल्ला चल्ने गरेका थिए, तर मूलधारको मिडियामा आएपछि हामीले यसलाई चासो दिएका हौं ।’

आफू कार्यरत जिल्लाकी नागरिक भएको नाताले विष्णुको स्थिति पत्ता लगाउनु आफ्नो दायित्व भएको प्रजिअ निरौलाले बताएका छन् । प्रशासनले उनीहरुको निजी जिन्दगीमा दख्खल दिन खोजेको नभई अहिलेको जमानामा यसरी लुकेर काम गर्नुपर्ने अवस्था किन आयो ? के कारणले उनी सार्वजनिक हुन नसकेकी हुन भन्ने विषय पत्ता लगाउन मात्रै खोजेको प्रमुख जिल्ला अधिकारी निरौलाको भनाई छ ।

प्रजिअ निरौलाले विष्णुका माइती र घर पक्षसँग बुझ्ने काम भइरहेको बताएका छन् । विष्णु काठमाडौंमा कहाँ बस्छिन् भन्ने अहिलेसम्म पत्ता लाग्न नसकेको निरौलाको भनाइ छ । स्याङ्जा प्रहरीले पनि विष्णुबारे अनुसन्धान थालेको बुझिएको छ ।

विष्णुको समाचार प्रकाशित भएपछि उनका श्रीमान सुन्दरमणिको पोखरास्थित गाउँका एक छिमेकीले विष्णु र सुन्दरमणिका जुम्ल्याहा छोरा भएको जानकारी दिएका छन् । ‘उहाँहरु हरेक वर्ष दशैं मान्न गाउँ आउनुहुन्छ,’ उनले भने, ‘छोराहरुसहित दुबैजना हाँसीखुशी नै देखिनुहुन्छ ।’

०७२ सालमा भूकम्प आएको ताका विष्णुले जुम्ल्याहा सन्तान जन्माएकी थिइन् । सुत्केरी भएपछि विष्णु र उनका श्रीमान एक महिना गाउँमै बसेका थिए । सुन्दरमणिका छिमेकीले गाउँ र छरछिमेकमा सुन्दरमणिको राम्रै छवि भएको बताएका छन् ।

ति छिमेकीले भनेका छन्–‘बाहिर उहाँको बारेमा चलेका हल्लाहरु हामीलाई पनि थाहा छ । तर, हामीले जहाँसम्म चिनेका छौं, उहाँ असल व्यक्ति हुनुहुन्छ । गाउँवासीहरुसँग उहाँको राम्रो सम्वन्ध छ ।’ गाउँमा आउँदा सुन्दरमणि छोराहरु लिएर छरछिमेकमा निस्किने भए पनि विष्णु भने घरबाट खासै ननिस्किने उनी बताउँछन् ।

छिमेकीले अगाडी भनेका छन्–‘खोइ के कारणले हो, विष्णुजी गाउँमा आउँदा पनि घरबाहिर खासै निस्किनु हुन्न । उहाँकै स्वभाव हो कि अरु केही वाध्यता भन्ने चाहिँ रहस्यकै विषय छ ।’ उनले सञ्चारमाध्यममा प्रश्न उठिसकेपछि विष्णु र सुन्दरमणिले जवाफ दिनुपर्ने बताए । अन्यथा सुन्दरमणिप्रति शंका झन् प्रबल बन्ने उनको भनाइ छ ।

अन्तरजातीय बिहे भए पनि सुन्दरमणिको परिवारमा त्यसले कुनै समस्या ननिम्त्याएको छिमेकीले बताएका छन् । सुन्दरमणिको परिवार जातपातको विषयमा रुढिवादी नभएको समेत उनको भनाइ छ ।

उनले भने–‘उहाँहरुले पोखरा लेकसाइडको एक मन्दिरमा सानो जमघटमा बिहे गर्नुभयो । तर, गाउँमा भने सुन्दरमणिको परिवारले बकाइदा खसी काटेर भोज खुवाएका थिए । बिहेपछि पनि सुन्दरमणिको परिवारले विष्णुलाई अवहेलना गरेको कुनै संकेत पाएका छैनौं ।’

कास्कीको साविक लेखनाथ नगरपालिकास्थित गाउँमा पुख्र्यौली घर छ । बाबुको मृत्यु भएपछि गाउँमा रहेको काठको घरमा अहिले सुन्दरमणिकी आमा मात्रै बस्छिन् । सुन्दरमणिका दुई जुम्ल्याहा भाइमध्ये एक भाई वैदेशिक रोजगारीमा छन् ।

पारम्परिक रुपमा खेतिकिसानी गर्ने उनीहरु मध्यमवर्गका परिवार हुन् । यद्यपि, संगीतमा लागेर सुन्दरमणि र विष्णुले राम्रै आर्जन गरेको अनुमान गरिएको छ । विष्णुलाई व्यवसायिक गायनमा सुन्दरमणिले नै ल्याएका हुन् ।

विष्णुसँग भेट भएपछि सुन्दरमणिलाई निकै फलीफाप भएको छिमेकी बताउँछन् । त्यसअघिसम्म उनको करिअरले गति लिन सकेको थिएन । संगीतमा लाग्दा उनले आफ्नो पुख्र्यौली खेतसमेत बेच्नुपरेको थियो ।

विष्णु स्टुडियोमा गीत रेकर्ड गराउने बाहेक अन्य सांगीतिक गतिविधिमा देखिन्नन् । स्टुडियोमा गाउन जाँदा सुन्दरमणिले नै लैजान्छन् र लिएर पनि आउँछन् । घरबाट बाहिर निस्किँदा विष्णु पछ्यौराले मुख छोपेर हिँड्ने गर्छिन् । साथै स्टुडियोमा गीत गाउँदा पनि झ्यालका पर्दा लगाउँछिन् ।

करिब १३ वर्षदेखि संगीतमा सक्रिय विष्णु अहिलेसम्म सार्वजनिक कार्यक्रम र मिडियामा देखिएकी छैनन् । उनको वर्षौंदेखि एउटा मात्रै फोटो चल्तीमा छ । विष्णुले मोबाइलसमेत नबोक्ने उनलाई चिन्नेहरु बताउँछन् । काठमाडौंमा उनीहरु कहाँ बस्छन् भन्ने पत्ता लाग्न सकेको छैन ।

यद्यपि, उनीहरु सोह्रखुट्टेतिर बढि देखिने गर्छन् । सुन्दरमणिको गीत रेकर्डिङ स्टुडियो सपना म्युजिक इन्डष्ट्रिज भने अनामनगरमा रहेको छ । विष्णु लोक दोहारी गायनमा अहिलेकी नम्बर एक गायिका मानिन्छिन् । उनको पछिल्लो गीत ‘सालको पात टपरी हुने ए बरै‘’ अहिले अत्यधिक चर्चामा छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्