बिष्णु माझि प्रहरी चौकीमा, १४ बर्षमा बाबुसँग भेट
आइतबार करिब ११ बजे जिल्ला प्रहरी कार्यालय अगाडि बा२ज २०९२ नम्बरको सेतो रङको ट्याक्सी रोकियो । ट्याक्सीबाट पहिले एक पुरुष निस्किए । उनलाई पछ्याउँदै गाढा रातो रङ्गको लामो लुङ्गीमाथि कालो रंगको ओभर कोट लगाएकी, पुरै टाउको छोप्ने गरी कालो पछ्यौरा बेरेको, कालै माक्स लगाएकी एक महिला निस्किइन् ।
दुवै जना प्रहरी प्रमुखको कार्यकक्ष खोज्दै कार्यालयभित्र पसे । ती महिला अहिलेकी चर्चित लोक तथा दोहोरी गायिका विष्णु माझी थिइन् भने उनीभन्दा अघिअघि हिँड्ने उनकै श्रीमान् सुन्दरमणि अधिकारी ।
मुलधारका मिडियामा माझी गुमनाम रहेको समाचार प्रकाशित भएपछि प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाको निर्देशनपछि एसपी राजकुमार लम्सालको सक्रियतामा माझी दम्पती जिल्ला प्रहरी कार्याल स्याङ्जा पुगेका हुन् ।
विष्णु र सुन्दरमणि आएसँगै विष्णुकी बहिनी जीवन, दाजु बाबुराम, बाबु ताराबहादुर र आमा धर्मकुमारी पनि सँगै आइन् । एसपी लम्सालले सुन्दरमणिको फोन नम्बर खोजेर सम्पर्क गरेपछि उनीहरू प्रहरी कार्यालय आएका थिए ।
एसपी लम्सालले भने–‘सुन्दरमणिलाई बिहीबार फोन गरेको थिएँ । विष्णुजी आउनुहुन्छ कि तपाईँले ल्याउनुहुन्छ ? यदि तपाईँले नल्याए हामीले ल्याउनु पर्ने हुन्छ भनेको थिएँ । सुन्दरमणिले शुक्रबार र शनिबार व्यस्त भएकाले आइतबार आउने वचन दिएका थिए, आए ।’
मुलधारको पत्रिका कान्तिपुर र अनलाईनखबरले विष्णु गुमनाम रहेको र बाबुसँग पनि ११ वर्षदेखि भेट नभएको उल्लेख गर्दै समाचार प्रकासित गरेका थिए । कतिपय सञ्चारमाध्यमले गायिका माझिलाई सुन्दरमणिले बन्धक बनाएको आशङ्कासमेत गरेका थिए ।
![](https://everestwall.com/wp-content/uploads/2019/01/bishnu-majhi-at-syangja-dpo-1024x699.jpg)
विष्णु, सुन्दरमणि र विष्णुको परिवारसँग प्रजिअ निरौला, एसपी लम्साल, प्रमुख प्रशासकीय अधिकृत यादवराज शर्मा र राष्ट्रिय अनुसन्धान प्रमुख रोशन केसीसहितले छलफल गरेका थिए । सुन्दरमणिसँगै बसेकी विष्णुले छलफलमा थोरै मात्र बोलेको र प्रश्नहरूको उत्तर सुन्दरमणिले नै दिने गरेको बताइएको छ ।
त्यहाँ आउनुअघि नै मिडियासँग कुरा नगर्ने बताएकाले मिडियालाई भने छलफलमा सहभागी गराइएको थिएन । छलफलका क्रममा सुन्दरमणिले आफ्नो छुट्टै एउटा लक्ष्य भएकाले सार्वजनिक नभएको बताएका थिए ।
एसपी लम्सालले भने–‘विष्णुजी त्यति खुल्नु भएन । गाउँले भाषामा नै केही थोरै जवाफ मात्र दिनुभयो । सुन्दरमणिले भने अन्तरजातीय विवाहमा छुटाउन खोजेकाले गुमनाम जस्तै हुनुपरेको बताउनुभयो ।’
विदेश यात्रामा किन नगएको भन्ने प्रश्नमा सुन्दरमणिले विष्णुलाई मात्र विदेश यात्राको अफर आउने र आफूलाई पनि लैजाऊ भन्दा नलग्ने भएकाले नगएको बताएका थिए ।
![](https://everestwall.com/wp-content/uploads/2019/01/bishnu-sundarmani-at-syangja.jpg)
सुन्दरमणिको भनाइ उद्धृत गर्दै एसपी लम्सालले भने–‘कतिपयले त विष्णुलाई मात्र अमेरिका लैजान्छु भने, मैले विष्णुसँग म पनि जान खोजेँ । लैजाने भए दुवै जनालाई लैजाऊ भने तर, मलाई कसैले लैजान खोजेनन् । उनी सामान्य लेखपढ गरेकी केटी हुन् । बोल्न जान्दिनन् । लेख्न, पढ्न पनि जान्दिनन् । बाहिर फेस गर्न नसक्ने भएकाले म सँगै जान खोजेको थिएँ । र, एक्लै पठाइनँ ।’
विष्णुले भने आफूले धेरै पढेलेखेको नहुनाले बाहिरी क्षेत्रमा केही पनि नजान्ने भन्दै सुन्दरमणिको सहारा लिनुपरेको बताएकी थिइन् । विष्णु र सुन्दरमणि दुवैले मिडियालाई जवाफ दिन आवश्यक नभएको भनेका थिए ।
एसपी लम्सालले विष्णुलाई आफूले निकै दुब्ली देखेको बताएका छन् । लम्सालले भनेका छन्–‘तपाईं यति हिट हुनुहुन्छ । पैसा कमाइरहनुभएको छ । शरीरचाहिँ किन सुकेको त ? भनेर पनि मैले सोधेँ । उहाँले अझै दुब्लाउन मन लागेको जवाफ दिनुभयो ।’
छलफलका क्रममा बाबुआमा भने त्यत्ति बोलेनन् । दाइ बाबुरामले बहिनी विष्णुसँग बेलाबेलामा सम्पर्क हुने बताए भने बहिनी जीवन काठमाडौंमा सँगै बस्दै आएको सुन्दरमणिले बताएका थिए ।
विष्णुले छलफलका बेला पनि मुखबाट माक्स नहटाइपछि एसपी लम्सालले माक्स र पछ्यौरा हटाउन लगाएका थिए । अनुहारमा कुनै चोट, खत नभएको पनि एसपी लम्सालले बताएका छन् ।
राष्ट्रिय कलाकार देशका गहना भएकाले यत्रतत्र माग हुँदा गुमनाम हुनुको कारणबारे प्रहरीले प्रश्न गरेको थियो । सुन्दरमणिले ‘आफ्नो इच्छा’ हो भन्दै चर्को स्वरमा जवाफ दिए । छलफलमा गरिएका प्रत्येक प्रश्नको जवाफ सुन्दरमणिले नै दिन्थे ।
एसपी लम्सालले छलफलमा गरिएका प्रश्नमा आउने जवाफ र उनीहरू आउँदा जाँदाको अवस्था हेर्दा विष्णु माझी स्वतन्त्र छन् भनेर भन्न नसकिने बताएका थिए । विष्णु र सुन्दरमणिले पत्रकारसँग बोल्न मानेनन् । कसैले केही सोध्ने वा फोटो खिच्न खोजे सुन्दरमणि अघिअघि र विष्णु पछिपछि दौडिन्थे ।
सुन्दरमणिसँग बिहेपछि गुमनाम जस्तै रहेकी विष्णुको ११ वर्षपछि बाबुसँग भेट भएको छ । बाबु ५८ वर्षीय ताराबहादुरले छोरी विष्णुसँग भेट नभएको ११ वर्ष भएको कान्तिपुर पत्रिकासँगको कुराकानीमा बताएका थिए । ताराबहादुरले सानै उमेरमा छोरी काठमाडौँ गएपछि घर नआउने र आफू पनि काठमाडौँ जान नसक्ने हुँदा भेट नभएको बताएका थिए ।
आइतबार ताराबहादुरको छोरी भेट्ने सपना पनि पूरा भएको छ । प्रहरीले विष्णुको खोजी गरेर सम्पर्कमा आएपछि माइती पक्षलाई पनि बोलाएको हो । प्रहरीको बिचमा छोरी भेटेका ताराबहादुर भने केही बोल्न सकेनन् । छुट्टै कुरा गर्न पनि पाएनन् । विष्णु सुन्दरमणिसँग आउने र जाने गरिन् । आमा धर्मकुमारीले भने काठमाडौँ नै गएर छोरी भेट्ने गरेको बताएकी थिइन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्