सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

वाइडबडी भ्रष्टाचारमा मन्त्री अधिकारीको स्पष्टोक्ती

वाइडबडी विमान खरिद प्रकरणमा मुछिएका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले पत्रकार सम्मेलन गर्दै वाइडबडी खरिद प्रक्रिया कानून सम्मत नै रहेको स्पष्टिकरण दिएका छन् ।

मन्त्री अधिकारीले वाइडबडी खरिद वापत अन्तिम किस्ता पठाएर आफुले निगमलाई ठूलो रकमको क्षति हुनबाट रोकेको दाबी समेत गरेका छन् । पत्रकारहरुलाई जवाफ दिँदै उनले जहाजको अन्तिम किस्ता रकम नपठाएको भए नेपाल वायुसेवा निगम टाट पल्टने अवस्थामा रहेको बताएका छन् ।

२०७३ पुस १ गते आरएसपी कानून विपरित भन्दै परेको उजुरीको फैसला अनुसार आफू गलत नरहेको मन्त्री अधिकारीको भनाइ छ । २०७४ मंसिर २७ गतेको सर्वोच्च अदालतको फैसला अनुसार नै जहाजको अन्तिम किस्ता रकम पठाएको मन्त्री अधिकारीले दावी गरेका हुन् ।

महालेखा परीक्षकको कार्यालयले विमान खरिदमा प्रश्न उठाइसकेपछि अन्तिम किस्ता भुक्तानी दिएको, संसदमा झुट बोलेको भन्दै उपसमितिले मन्त्री अधिकारीलाई पनि कारबाही गर्न सिफारिस गरेको थियो ।

संसदलाई ढाँटेको प्रसंगमा भने मन्त्री अधिकारीले स्वीकार गरेका छन् । आफूले संसदमा बोल्दा आफ्नो कार्यकालमा कुनै पनि रकम नगएको बोलेको भन्दै उनले भने, ‘२/३ दिनपछि पेमेन्ट कसरी जान्छ भनेर हेर्दा पो पहिले नै सेड्युल बनेको रहेछ । त्यसअनुसार अन्तिम किस्ता मेरो कार्यकालमा पनि गएको रहेछ ।’

आफ्नो कार्यकालमा भएको कामको जिम्मेवारी लिने भन्दै उनले भने, भाग्ने कुरै आउँदैन ।’ मन्त्री अधिकारीले नेपाल वायुसेवा निगमलाई डुबाउने खेल भइरहेको पनि दाबी गरे । ‘विमान आएपछि अरुको ब्यापार घटेको छ, हाम्रो बढेको छ’ उनले भने, ‘हामी अलि महत्वकांक्षी भएर अगाडि बढेनौं भने नियम धरासायी हुन्छ ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्