जापानी विदेशमन्त्रीसँग कामदार लैजानेबारे छलफल
जापानी विदेशमन्त्री तारो कोनो आज बुधबार दिउँसो काठमाडौं आउँदै छन् । भारतीय प्रधानन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री सुष्मा स्वराजसँग इन्डो प्यासिफिक क्षेत्रबारे छलफल गरेर उनी बुधबार अपराह्न काठमाडौं ओर्लिन लागेका हुन् ।
मन्त्री कोनो भारतमा मंगलबारदेखी सुरु भएको राइसेना डायलगमा सहभागिता जनाएर नेपाल आउन लागेका हुन् । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जापानको औपचारिक भ्रमण गरेको डेढ महिनापछि उनी नेपाल आउन लागेका हुन् ।
![](https://everestwall.com/wp-content/uploads/2019/01/taro-kono-japanese-foreigner-minister-1024x668.jpg)
विदेशमन्त्री कोनोको भ्रमणका क्रममा जापानमा नेपाली कामदार लैजाने प्रकृया र अन्य द्विपक्षीय विषयमा छलफल हुने बताईएको छ । परराष्ट्र मन्त्रीस्तरीय भेटवार्ताका क्रममा नेपाली कामदार, द्विपक्षीय हवाई सेवा, कृषिको आधुनिकीकरण, ऊर्जा, पूर्वाधार विकासजस्ता विषयमा सम्झौता हुँदै छ ।
गत असार ४ मा नेपाल–जापानबीच सिधा हवाई सम्झौता भए पनि त्यसलाई यही भ्रमणमार्फत कूटनीतिक तवरमा औपचारिकता दिने तयारी गरिएको छ । पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपालले भनेका छन्–‘हवाई सम्झौतालाई उच्चस्तरीय भ्रमणको मौका पारेर औपचारिकता दिने तयारी गरिएको छ, सम्झौता केही महिना अघि नै भइसकेको हो ।’
परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र उनका जापानी समकक्षी कोनोबीच बुधवार अपरान्ह्र हुने भेटवार्ता पश्चात द्विपक्षीय परामर्शसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर हुँदै छ । नेपालमा जापानी लगानी बढाउने र सो मुलुकको सहयोगमा हुने पूर्वाधार विकासबारेमा समेत द्विपक्षीय सम्झौता हुने परराष्ट्र मन्त्रालयका एक अधिकारीले बताएका छन् ।
उनको यो भ्रमणलाई प्रधानमन्त्री केपी ओलीको जापान भ्रमण र जापानी समकक्षी सिन्जो आवेको नेपाल भ्रमणको तयारीका रूपमा पनि हेरिएको छ ।
इन्डो प्यासिफिक क्षेत्रको सुरक्षाबारे समेत भएको छलफलाई अँझ उचाइ दिन भारत र जापानका रक्षामन्त्रीबीच छिट्टै वार्ता गर्ने सहमति भएको जापानी तथा भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
इन्डो प्यासिफिक क्षेत्रको विकासबारे अमेरिकाको साझेदारका रूपमा भारत, जापान र अस्ट्रेलिया छन् । परराष्ट्रमन्त्री ज्ञवालीको अमेरिका र जापान भ्रमणको समयमा समेत यसमा छलफल भएको बताइएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्