पब्जी खेल नेपालमा प्रतिबन्ध, अभिभावक खुशी
अन्तत; नेपाल दूरसंचार प्राधिकरणले पब्जी खेलमाथि प्रतिबन्ध लागाउने निर्णय गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को आग्रहमा प्राधिकरणले पब्जीमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।
इन्टरनेटको माध्यमबाट खेलिने पब्जीमाथि प्रतिबन्ध लगाउन इन्टरनेट सेवा प्रदायक कम्पनीलाई निर्देशन दिएको नेपाल दूरसंचार प्रधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले बताएका छन् ।
![](https://everestwall.com/wp-content/uploads/2019/01/pubg-1024x657.jpg)
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले पब्जी खेलका कारण आत्महत्यासम्मको घटना हुन थालेपछि प्रतिबन्ध लगाउन निर्देशन दिएको बताएका छन् ।
पब्जी इन्टरनेटमा खेलिने भिडियो खेल हो । यो अनलाइन खेलको उत्पादन दक्षिण कोरियाली भिडियो गेम कम्पनी ब्लूहोल मातहतको पब्जी कर्पोरेसनले गरेको हो । पब्जी आज बालबालिका तथा किशोरहरूका लागि लत बनेको छ ।
‘प्लेयर अननोन ब्याटलग्राउन्ड’ अर्थात् छोटकरीमा पब्जी भनिने यो खेल अहिले संसारमा धेरै खेलिने अनलाइन खेलमध्ये एक ‘भर्चुअल’ हो । यसको क्रेज अहिले नेपालमा मात्र होइन, संसारभरि छ ।
रिलिज भएको एक वर्षमै पब्जी एकदमै लोकप्रिय भयो । अहिले यो करोडौं मोबाइल प्रयोगकर्ताको प्रिय खेल बनिसकेको छ । यसको पहिलो संस्करण विन्डोजमा प्रकाशित भएको थियो ।
विन्डोजमा सफल हुन नसकेको गेम जब मोबाइल भर्सन त्यसमा पनि एन्ड्रोइड र आईओएस दुवै भर्सनमा सार्वजनिक भयो, त्योसँगै यसले सफलता चुम्यो । यो गेममा ‘ब्याटलग्राउन्ड’ अर्थात् रणभूमिमा सबैलाई परास्त पार्दै अन्तिमसम्म टिक्ने प्रतियोगी विजेता हुन्छ ।
‘काउन्टर स्ट्राइक’ र ‘ओभरवाच’ जस्ता गेमलाई पछि पार्दै पब्जी अहिले सबैभन्दा धेरै राजस्व संकलन गर्ने गेम बनेको छ । तर, इन्टरनेटसँग जोडिएर अनलाइन खेलिने यो खेलले खेल्नेहरूको मस्तिष्कमा नकारात्मक प्रभाव परिरहेको अध्ययनले देखाएको छ । समूहमा खेलिने यो खेलको लतका कारण धेरैलाई मानसिक समस्या देखिन थालेको विश्व स्वास्थ्य संगठनले समेत जनाएको छ ।
पब्जीको लतमा परेकाहरूले आफ्नो दैनिकी बिर्सिन थालेका छन् । खाना खान बिर्सिने, स्कुलमा दिएको गृहकार्य बिर्सिएर एकोहोरो त्यही गेम खेलेर समय बिताउने गरेका छन् ।
त्यथ्यांकअनुसार यसको लत लागेको मान्छेले थोरैमा पनि पाँच घण्टा यसमा बिताउने गरेको पाइएको छ । यो गेम ब्याटल अर्थात् रणभूमि र त्यसमा हुने लडाइँसँग सम्बन्धित भएकाले पनि यसको नकारात्मक असर खेल्नेलाई परिरहेको जनाइएको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार जो बालबालिका मारकाटसँग सम्बन्धित खेल खेल्छन्, उनीहरूको विचार, सोचाइ र इमोसन पनि आक्रामक हुने गरेको छ । साथै अरूलाई सहयोग गर्ने भावनामा पनि कमी आउने उल्लेख छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्