सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

नक्कली आमा बन्ने स्मिथको सपना तुहियो

अर्काको सन्तानलाई आफूले जन्माएको कागजपत्र बनाएर बेलायत लैजाने बेलायती महिलाको प्रयास असफल भएको छ । पर्यटक प्रवेशाज्ञा (भिसा) मा साउन ११ गते नेपाल आएकी बेलायती महिला डोना स्मिथ (राहदानी नं ५६०७९३४०२) ले अर्काकी छोरीलाई आफूले जन्माएको जिकिर गर्दै बेलायत लैजान लागेकी थिइन् ।

ललितपुरको महालक्ष्मी नगरपालिकाले पनि ती शिशु स्मिथले नै जन्माएको जन्मदर्ता गरिदिएको थियो । प्रमाणपत्रमा शिशुको जन्म साउन १२ गते भएको लेखिएको छ । जन्मदर्ता प्रमाणपत्रमा ती शिशुको नाम ‘आन्ना बेला लक्ष्मी श्रेष्ठ स्मिथ’ छ ।

अध्यागमन विभागको अनुसन्धानपछि गैरकानुनी ढंगले शिशुलाई बेलायत लैजाने स्मिथले गरेको प्रयास विफल भएको हो । नेपालस्थित बेलायती दूतावासले स्मिथकै छोरी भन्दै ती शिशुको राहदानी (नम्बर ७९२१५९३१४) बनाइदिएको छ । दूतावासले हचुवाका भरमा नेपाली शिशुको राहदानी बनाइदिएपछि उसको भूमिकासमेत शंकास्पद देखिएको अधिकारीहरूले बताएका छन् ।

आवश्यक कागजपत्रै नभई दूतावासले राहदानी बनाइदिएको पाइएको छ । दूतावासले साउन २७ गतेसम्म ती शिशुलाई बेलायत भित्र्याइसक्नुपर्ने ‘इमरजेन्सी’ राहदानी बनाइदिएको थियो । अनुसन्धान सुरु भइसकेकाले स्मिथले उनलाई तोकिएको मितिमा बेलायत लैजान सकिनन् ।

त्यसपछि पुनः बेलायती दूतावासले ती शिशुको अर्को राहदानी बनाइदियो । स्रोतका अनुसार दुवै राहदानीमा ती शिशुको नाम भिन्न छ । ती शिशु कसको हो भन्ने खुलेको छैन । स्मिथले ती शिशुलाई आफंैले जन्म दिएको जिकिर गर्दै आएकी थिइन् । उनले हठ नछाडेपछि अध्यागमन विभागले उनको स्वास्थ्य परीक्षण गर्ने निर्णय र्गयो ।

Mom and Baby

विभागका महानिर्देशक ईश्वरराज पौडेलले ती शिशुलाई स्मिथले जन्माएको कुनै आधार नभेटिएको बताएका छन् । पौडेलले भने–‘हामीले स्मिथको स्वास्थ्य परीक्षण र्गयौं । मेडिकल रिपोर्टले नै स्मिथको दाबी गलत साबित गरिदियो ।’

विभागले उनलाई परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालमा स्वास्थ्य उपचारका लागि पठाएको थियो । सुरुमा आफ्नो स्वास्थ्य परीक्षण गर्न उनले इन्कार गर्दै आएकी थिइन् । अनुसन्धानका क्रममा सहयोग नगरे अप्ठ्यारो पर्न सक्ने विभागको चेतावनीपछि स्मिथ स्वास्थ्य परीक्षण गर्न राजी भएकी थिइन् ।

स्वास्थ्य परीक्षणका क्रममा स्मिथ ती शिशुको आमा नभएको पुष्टि भएको थियो । त्यसपछि गैरकानुनी ढंगले ती शिशुलाई बेलायत लैजान खाजेको भन्दै अध्यागमन विभागले स्मिथलाई पक्राउ गरेको थियो । बेलायती दूतावासले स्मिथमाथि अनुसन्धान गरेको थाहा पाएपछि उनलाई सहयोग गरिदिन भन्दै विभागमा पत्र पठाएको थियो ।

अनुसन्धानका क्रममा स्मिथको गम्भीर त्रुटि भेटेपछि उनलाई पक्राउ गरी विभागले थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाएको छ । प्रहरीले स्मिथविरुद्ध काठमाडौं जिल्ला अदालतमा मानव बेचबि*खन तथा ओसा*रपसार अभियोगमा मुद्दा दर्ता गरेको छ ।

‘स्मिथलाई हामीले प्रहरीको जिम्मा लगाएको छौं,’ महानिर्देशक पौडेलले भने । प्रहरीसँगको प्रारम्भिक अनुसन्धानका क्रममा स्मिथले ती शिशु आफ्नी छोरी नभएको स्विकारेको स्रोतले बतायो । यद्यपि स्मिथमाथि प्रहरी अनुसन्धान जारी छ ।

स्मिथले महालक्ष्मी नगरपालिकाका रामप्रसाद श्रेष्ठको घरमा ती शिशु जन्माएको भनेकी छिन् । स्मिथले सोही दिन ग्वार्कोस्थित बी एन्ड बी अस्पतालमा गएर शिशुसहितको स्वास्थ्य परीक्षण गराएकी थिइन् ।

नगरपालिकाले दिएको जन्म दर्तामा उनै रामप्रसाद श्रेष्ठ ती शिशुको बाबु भएको उल्लेख छ । तर स्मिथ र श्रेष्ठ साँच्चिकै पतिपत्नी हुन् भन्नेमा शंका छ । स्मिथ असार १६ गते पहिलोपटक नेपाल आएकी थिइन् । एक साता नेपाल बसेर फर्किएकी उनी पुनः साउन ११ गते आएकी थिइन् ।

ललितपुरको महालक्ष्मी नगरपालिका–६ ले ती शिशुको जन्मदर्ता गरिदिएको छ । जन्मदर्ता प्रमाणपत्रमा आमाको नाम स्मिथ छ । वडाध्यक्ष वासुदेव महर्जनले आफूले नदिने भन्दाभन्दै आफू नभएका बेला सचिवले जन्मदर्ता प्रमाणपत्र दिएको बताएका छन् ।

वडा सचिव हितलाल श्रेष्ठले आफूले जन्मदर्ताको प्रमाणपत्र दिनुअघि नै स्मिथले शिशुको राहदानी देखाएपछि सोही आधारमा जन्मदर्ता गरिदिएको बताएका छन् । तर स्मिथ र रामप्रसाद श्रेष्ठको विवाह दर्ता छैन । राहदानी बनाउन जन्मदर्ता लगायतका आवश्यक कागजपत्र अनिवार्य हुन्छ ।

स्रोतका अनुसार महालक्ष्मी नगरपालिका–६ का वडाध्यक्ष र बेलायती महिला स्मिथका नेपाली सहयोगीको संलग्नतामा गैरकानुनी ढंगबाट ती शिशुको जन्म दर्ता भएको हो । महालक्ष्मी नगरपालिकाले के प्रमाणको आधारमा अर्कैको बच्चालाई बेलायती महिलाले जन्माएको भनेर जन्म दर्ता र्गयो अनुसन्धानको विषय बनेको छ ।

केही महिनाअघि नेपालस्थित दक्षिण कोरियाली दूतावासले पोखराका एक बालकको राहदानी बनाइदिएको थियो । कोरियाली दूतावासले आवश्यक अनुसन्धानबिनै ती बालकको राहदानी बनाइदिएको थियो । अध्यागमन विभागले ती बालकलाई दक्षिण कोरिया लैजान रोकेको थियो ।

अवैध ढंगले शिशु ओसा*रपसार गर्ने गिरोहले नेपालस्थित विभिन्न दूतावासलाई विवादमा ल्याउन थालेका छन् । पछिल्लोपटक स्मिथले बेलायती दूतावासलाई विवादमा तानेकी छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्