बैतडीमा थुनुवामै कोरोना, प्रहरी कार्यालय सिल
बैतडीमा कर्तव्य ज्यानको मुद्दामा पक्राउ परेका थुनुवामा कोरोना संक्रमण देखिएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीमा रहेका थुनुवामा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको डिएसपी दिल्ली नारायण पाण्डेले जानकारी दिएका छन् ।
‘कर्तव्य ज्यानको मुद्दामा पक्राउ गरेका थियौं,’ उनले भने, ‘आज भर्खरै रिपोर्ट पोजिटिभ आएको छ ।’ उनमा कोरोना संक्रमण देखिएपछि जिल्ला प्रहरी कार्यालय समेत सिल गरिएको छ ।
ती व्यक्तिलाई वैशाख १५ गते पक्राउ गरिएको थियो । संक्रमित चैत ६ गते भारतबाट नेपाल आएका थिए । ‘अब हामीले कन्ट्याक्ट ट्रेसिङको काम थालिसकेका छौं, ‘उनले भने, ‘धेरै जोखिम भएका र कम भएका छुट्टाएर परीक्षण थाल्छौं ।’ उनका अनुसार उनको सम्पर्कमा आएका आइसोलेसनमा राखिनेछ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्