सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

जातिय बिभेदको बियोगान्त प्रेमकथा: १२ पक्राउ

ठकुरी प्रेमिका भगाउन गएका दलित युवा नवराज बिकसहित उनका साथीहरुलाई लखेटी लखेटी हत्या गरेको घटनामा संलग्न रहेको आशंकामा रुकुम पश्चिमको चौरजाहारी नगरपालिका वडा नं. ८ का वडाध्यक्ष डम्मरबहादुर मल्लसहित १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रुकुमका जिल्ला प्रहरी प्रमुख ठगबहादुर केसीले वडाअध्यक्ष मल्ल, केटी, केटीका बुवा बीरबहादुर, आमा प्रकाशी मल्ल, डिल्ली मल्ल, सन्तोष मल्ल, तुलबहादुर मल्ल, मानबहादुर मल्ल, रमेश मल्ल लगायत १२ जनालाई अनुसन्धानको लागि सोमवार बेलुका नियन्त्रणमा लिएको बताएका हुन ।

उनले घटनामा संलग्न भनिएका सोती गाउँका अरु मानिसहरुको समेत खोजी भइरहेको जानकारी दिएका छन् । पीडित पक्षले वडाध्यक्ष मल्ल, उनका बाबु बीर बहादुरसहितका मानिसहरुले लखेटी लखेटी आफ्ना सन्तान हत्या गरेको जनाएका छन् । तर पीडितको पक्षबाट सोमबारसम्म कसैका विरुद्ध किटानी जाहेरी भने परेको छैन । पीडित परिवारले जाजरकोट लगिएका शवको पोष्टमार्टम गर्न पनि दिएका छैनन् ।

३ युवाको शव भेटियो, तीनजना अझै बेपत्ता
सोमबार बेलुका जाजरकोटको भेरी नगरपालिकाका गणेश बुढा मगरको शव फेला परेको छ । यसअघि केटी लिन भनी १८ जना युवाहरका साथ रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नं. ८ पुगेका नवराज विकको शनिबार राति र टीकाराम सुनारको शव आइतबार विहान सानी भेरी नदी किनारमा फेला परेको थियो ।

तीनैजनाको शव भेरी नदी किनारको धल्ला भन्ने स्थानमा भेटिएको रुकुम पश्चिमका प्रहरी प्रमुख ठगबहादुर केसीले जानकारी दिएका छन् । अझै पनि ज्यान जोगाउन भेरी नदीमा हाम फालेकामध्ये जाजरकोटको भेरी नगरपालिका–११ का लोकेन्द्र सुनार, गोविन्द शाही र सन्दीप विक बेपत्ता रहेका छन् । उनीहरुको खाजी कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Chaurjahari Rukum

जिल्ला प्रहरी कार्यालयले रुकुम पश्चिमले प्रहरी निरीक्षक कविराज रोकायाको नेतृत्वमा घटना अनुसन्धान गर्न समिति निर्माण गरेको छ । घटनामा परेर भेरी नगरपालिकाका सुदीप खड्का, मदन शाही, सरोज भडेल, आशिष विक लगायत जाजरकोटका १२ जना घाइते भएका छन् । डिएसपी केसीले सोमवार उपचार पछि सबै डिस्चार्ज भइसकेको जानकारी दिएका छन् ।

जाजरकोटको भेरी नगरपालिका–४, रानागाउँका २१ वर्षीय नवराज विक शनिवार आफ्ना थप १८ जना साथीहरु सहित पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८, सोतीकी १७ वर्षीया मल्ल थरकी एक युवतीलाई भगाउन भनि केटीको गाउँ सोती पुगेका थिए ।

त्यही क्रममा सोती गाउँका स्थानीयले उनीहरुलाई लखेट्दै कुटपिटमा उत्रिएपछि उनीहरु ज्यान जोगाउन भाग्दै सानी भेरी नदीमा हाम फालेका थिए । त्यसरी हाम फालेकामध्ये तीन जना मृत फेला परेका छन् भने थप तीन जना अझैं बेपत्ता छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्