सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

नेपालमा कोरोना संक्रमितको संख्या ७८३ पुग्यो

सप्तरीमा मंगलबार थप ११ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । योसँगै सप्तरीमा संक्रमित हुनेको संख्या १५ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवका अनुसार पछिल्लो पटक सप्तरीको बोदेबरसाइन नगरपालिकाका ८ जना, बलान बिहुल गाउँपालिकाका २ जना र सुरुङ्गा नगरपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यसअघि मंगलबार नै ९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिएका थिए । मंगलबार संक्रमण पुष्टि हुनेहरुमा कपिलवस्तुका २६, रौतहटका २२ जना, सुर्खेतका १२, बाँकेका ८, सिराहाका ५, बाराका ३, महोत्तरी, जुम्ला, गुल्मी, अर्घाखाँची र स्याङ्जाका २–२ र धनुषा, रुपन्देही, कैलाली र अछामका एक–एक जना छन् ।

योसँगै मुलुकका ४६ जिल्लामा संक्रमण देखिएको छ । नेपालमा माघ १० गते कोरोना भाइरसको पहिलो संक्रमण पुष्टि भएपछि मंगलबार एकैदिन धेरै जनामा संक्रमण देखिएको हो । मंगलबार मात्रै १०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि वैशाख ३० गते ८३ जनामा कोरोना संक्रमण देखिएको थियो ।

योसंगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ७८३ पुगेको छ । हालसम्म संक्रमण पुष्टि भएकाहरुमध्ये १५५ जना निको भएका छन् भने बाँके, सिन्धुपाल्चोक, गुल्मी र बाराका एक–एक गरी ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्