बुधबार मात्रै कोरोना संक्रमितको संख्या ११४ पुग्यो
बुधबार एकै दिन ११४ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, धरान, विराटनगर, पोखरा, हेटौंडा, र दाङमा गरिएको परीक्षणमा एकै दिन यति धेरै संख्यामा संक्रमित भेटिएका हुन् ।
योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुने कुल संख्या ८८६ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बुधबार धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ११ जनामा पोजेटिभ देखिएको छ । पोजेटिभ देखिएकाहरु सबै सप्तरीका हुन् ।
यसैगरी कोसी अस्पतालमा गरिएको परीक्षणमा झापाका १७ जनामा कोरोना पोजेटिभ देखिएको छ । हेटौडामा भएको परीक्षणमा रौतहटका ७ सहित ८ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
पोखरामा भएको परीक्षणमा बागलुङका ४ जनामा पोजेटिभ देखिएको छ । दाङमा भएको परीक्षणमा रुकुम पूर्वका ३, दाङका १५ गरी १८ जनामो पोजेटिभ देखिएको छ ।
भेरी अस्पतालमा भएको परीक्षणमा १६ जना पोजेटिभ देखिएको प्रवक्ता डा. देवकोटाले बताए । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ३८ जनाको पोजेटिभ रिपोर्ट आएको छ ।
संक्रमण देखिएकामध्ये पुरुष ७ सय ९६ र महिला ९० रहेका छन् । नयाँ संक्रमितहरुको क्वारेन्टाइनमा उपचार सुरु गरिएको उनले बताएका छन् । संक्रमितमध्ये हालसम्म १८३ जना निको भएर घर फर्किसकेका छन् भने ४ जनाको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार मंगलबारसम्म नेपालमा आरडीटी विधिबाट १ लाख २ सय ८७ नमुना परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म ५८ हजार २ सय ७७ परीक्षणहरु गरिएका छन् । बुधबारको अपडेटमा क्वारेन्टाइनमा ७० हजार ३ सय ५ जना रहेका छन् । हालसम्म आइसोलेसनमा देशभरी ६९९ जना रहेका छन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्